Kathmandu Press

मन्त्रिपरिषदलाई चाँडो पूर्णता दिने निर्णय, शीर्ष नेतालाई जिम्मेवारी

काठमाडौं, असोज १० : सत्तारूढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीचकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ।आज (आइतबार) बिहान बसेको बैठकले सरकारलाई चाँडो पूर्णता दिने...
मन्त्रिपरिषदलाई चाँडो पूर्णता दिने निर्णय, शीर्ष नेतालाई जिम्मेवारी
फाइल तस्बिर

काठमाडौं, असोज १० : सत्तारूढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीचकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ।

आज (आइतबार) बिहान बसेको बैठकले सरकारलाई चाँडो पूर्णता दिने निर्णय गरेको छ। त्यसका लागि शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको बताइएको छ।

सरकार सञ्चालनमा देखा परेका समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको बैठकमा सहभागी एक नेताले बताए। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, संसद र सरकार सञ्चालनबारे नेताहरूबीच छलफल भएको बताइन् ।  

आज बसेको गठबन्धनको बैठकमा परिणाम आउनेगरी समाधान खोज्न शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको उनले जानकारी दिइन्।

बैठकमा सहभागी अर्का एक नेताका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्नेहरूको नाम दिन ताकेता गरेका छन्। सरकार विस्तारमा ढिलाइ भएको उल्लेख गर्दै उनले मन्त्री बन्नेहरूको नाम तत्काल दिन माग गरेका हुन्।

बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने विषयमा पनि चर्चा भएको जनाइएकाे छ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, नेता महेन्द्रराय यादवलगायत नेता सहभागी थिए।


 

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्