Kathmandu Press

महिला स्वास्थ्यमा पुरुष कति संवेदनशील ?

‘श्रीमान चाहिँको भनाइ छ कि श्रीमती श्रीमतीजस्ती नभएर दिदीबहिनीले जस्तो व्यवहार देखाउँछे,’ उपमेयर दनुवार भन्छिन्, ‘श्रीमतीको भनाइ छ– ‘महिनावारी र सुस्केरी हुँदा समेत यौन सम्पर्क राखेका कारण पाठेघर समस्या भई फाल्नुपरेको छ ।’
महिला स्वास्थ्यमा पुरुष कति संवेदनशील ?
Hardik ivfHardik ivf

काठमाडाैं, असाेज १० : गत शनिबार म काभ्रे पाँचखाल नगरपालिकाको कार्यालय पुगेकी थिएँ । काठमाडौंप्रेसको नियमित शृंखला ‘महिला जनप्रतिनिधि’का लागि उपमेयर लक्ष्मी दनुवारले समय दिएकी थिइन् । योसँगै नगरपालिकाले गत वर्ष के गर्‍यो ? अर्थात्, बजेट कस्ता प्राथमिकताका कार्यक्रममा खर्च ग¥यो भनी तथ्यांक संकलन गर्नु थियो । यसबारे पनि उपमेयर दनुवारसँग सल्लाह गर्नु थियो । कार्यालयमा हुने साप्ताहिक मिटिङमा स्थानीय सरकारका गतिविधिमा मिडिया केन्द्रित हुनुपर्छ भन्नेबारे निकै गहन छलफल भएको थियो।  

कुरा हुँदै जाँदा उपमेयर दनुवारले एउटा अनौठो लाग्ने घटना सुनाइन् । अघिल्लो दिन (शुक्रबार) काभ्रे पाँचखाल नगरपालिका–४ का एक दम्पती घरझगडा लिएर नगरपालिकाको न्यायिक समितिमा आएका थिए । ४६ वर्षीय श्रीमान्ले ४७ वर्षीया श्रीमतीलाई दिनहुँ कुटपिट गर्दा रहेछन्, यौन सम्बन्धको विषयलाई लिएर । उपमेयर दनुवारका अनुसार, श्रीमतीले यौन आवश्यकता पूरा नगरिदिएको श्रीमान् चाहिँको आरोप छ । श्रीमतीले भने आफू श्रीमानका साथमा २४सै घण्टा रहेको बताएकी छन् ।

‘श्रीमान चाहिँको भनाइ छ कि श्रीमती श्रीमतीजस्ती नभएर दिदीबहिनीले जस्तो व्यवहार देखाउँछे,’ उपमेयर दनुवार भन्छिन्, ‘श्रीमतीको भनाइ छ– ‘महिनावारी र सुस्केरी हुँदा समेत यौन सम्पर्क राखेका कारण पाठेघर समस्या भई फाल्नुपरेको छ ।’ 

न्यायिक समितिमा चार वर्षको अवधिमा यस्तो घटना पहिलोपल्ट आएको उपमेयर दनुवारले बताइन् । 

यो एउटा प्रतिनिधि घटना हो । यस घटनाका पात्र आफ्नो घर झगडालाई मिडियामा ल्याउन चाहन्नन् । यो दम्पतीका जेठा छोरा २६ वर्षका भइसके । यस दम्पतीबीच अन्य समस्या खासै छैन, सबै राम्रै छ । तर, झगडाको कारणमा छ– यौन आवश्यकता र महिला स्वास्थ्य । 

महिला स्वास्थ्यका बारेमा गाउँसमाजमा धेरैलाई स्पष्ट ज्ञान छैन । महिनावारीका बेला महिलाले अनेक शारीरिकदेखि मानसिक समस्या व्यहोर्नुपर्छ । महिला स्वास्थ्यबारे महिला–पुरुष दुवैलाई चेतना नहुँदा र अझ पुरुष पार्टनर संवेदनशील नहुँदा महिलाले धेरै समस्या भोग्नुपरेका घटना समाजमा देख्न सुन्न पाइन्छ ।    

स्त्रीरोग विषेशज्ञ डा. गीता गुरुङका अनुसार, महिनावारी हुँदा यौनसम्पर्क राखेमा महिलाको पाठेघरमा समस्या हुनसक्छ । डा. गुरुङ भन्छिन्, ‘महिनावारीको समस्यासँग पाठेघर जोडिएको हुन्छ ।’

उनका अनुसार, महिनावारीका बेला सामान्यतः ८० एमएलसम्म रगत बग्छ भनिन्छ तर व्यक्ति अनुसार रगत बग्ने प्रक्रिया वा मात्रा फरक हुन्छ । महिनावारी हुँदा दैनिक चारपटकभन्दा बढी प्याड फेर्नुपर्छ, अथवा राति उठेर प्याड फेर्नुपरेको छ भने धेरै रगत गएको अवस्था मानिन्छ ।  महिनावारी गडबडी हुनु, रगतको ढिक्का जानुले पाठेघरमा समस्या भएको संकेत गर्छ । 

महिनावारीका बेला यौनसम्पर्क 

महिनावारी महिलाको जीवनमा हुने प्राकृतिक नियम अर्थात् ‘नर्मल साइकल’ (सामान्य चक्र) हो । तर, महिनावारी भएका बेला महिलाको शारीरिक अवस्था कमजोर हुने हुँदा शारीरिक सम्पर्क नगर्दा उचित हुने स्त्रीरोग विशेषज्ञ डा. प्रकृति सिटौला बताउँछिन् । ‘महिनावारीको बेला पाठेघरको मुख खुल्ला हुन्छ, यदि यो समयमा यौनसम्पर्क राख्दा पुरुषबाट संक्रमण सर्ने सम्भावना उच्च हुन्छ,’ डा. सिटौला भन्छिन्, ‘संक्रमणको जोखिम हुँदा यौनसम्पर्क नराख्दा राम्रो हुन्छ ।’ 

कतिपयमा यो भ्रम रहेको पाइन्छ कि महिनावारीका बेला यौनसम्पर्क राख्दा गर्भ बस्दैन । सामान्यतः महिनावारी अवधिको मध्यतिर महिलामा ‘ओभुलेसन’ हुने अनुमान गरिन्छ । त्यस्तै, पुरुष शुक्रकीट पनि स्त्री योनिभित्र पाँच–सात दिनसम्म जीवित रहने मानिन्छ । यही आधारमा कतिपयले बीचको १०–१२ दिन समय छलेर यौनसम्पर्क राख्ने गर्छन् । तर, यसमा यकिन हुन नसकिने स्त्रीरोग विशेषज्ञ बताउँछन् । ‘महिनावारी नियमित अर्थात् ३०–३० दिन जस्तोमा हुने महिलामा महिनावारीको ९ देखि १९ दिनभित्र सम्पर्क गरेमा बच्चा बस्ने अधिक सम्भावना हुन्छ । यसरी दिन गन्दा महिनावारी भएको पहिलो दिनलाई एक दिन मान्नुपर्छ,’ डा. सिटौला भन्छिन्, ‘तर, गर्भ बस्दै नबस्ने भन्ने होइन । बच्चाको चाहना छैन भने डाक्टरसँग परामर्श गरेर परिवार नियोजनका साधन अपनाउनुपर्छ ।’

महिनावारी चक्र 

महिनावारीको पनि व्यक्ति अनुसारको चक्र हुन्छ । चिकित्सकका अनुसार, २१ दिनभन्दा छिटो र ३५ दिनभन्दा ढिलो महिनावारी हुनु समस्या हो । स्त्रीरोग विशेषज्ञ डा. प्रकृति सिटौला भन्छिन्, ‘सामान्यतः २१ देखि ३५ दिनमा एकपटक महिनावारी भई दुईदेखि सात दिनसम्म रगत बग्नुलाई सामान्य मानिन्छ ।’

महिनावारी सुरु भएदेखि २१ वर्षको उमेरसम्म महिनावारी अनियमित हुनुलाई सामान्य मानिने डा. सिटौलाको भनाइ छ । तर २१ वर्षको उमेर नाघेपछि महिनावारी अनियमित भइराखे उपचार गराउनुपर्छ ।

सामान्यतः ११–१३ वर्षको उमेरमा महिनावारी सुरु हुन्छ । तर, १६ वर्षसम्म पनि महिनावारी सुरु भएको छैन भने स्वास्थ्यमा समस्या हुन सक्छ । ‘१४ वर्षको उमेरसम्म महिनावारी सुरु भएको छैन । र, किशोरावस्थाका अन्य लक्षण अर्थात् छाती बढ्ने, काखी र योनिवरपर रौं आएको छैन भने यसलाई सामान्य मान्न सकिँदैन,’ उनले भनिन्, ‘किशोरीको लक्षण देखिएका छन् तर महिनावारी नभएको खण्डमा पनि परीक्षण गराउनु आवश्यक हुन्छ ।’

ढाड र पेट दुख्नु

महिनावारीमा अनियमितता हुँदा बच्चा बस्न नसक्ने समस्या देखापर्न सक्छ । आजीवन ढाड–पेट दुखिरहने पनि हुन सक्छ । 

महिनावारी हुँदा धेरैजसो महिलाको ढाड र पेट दुख्ने गर्छ । धेरै दुख्नु भन्नाले दैनिक क्रियाकलापमै असर पर्ने गरी दुख्नु भनेर बझ्नुपर्छ । डा. सिटौला भन्छिन्, ‘दैनिक क्रियाकलापमा असर पुग्ने गरी दुख्नुमा एन्डोमेट्रियोसिसको समस्या हुन सक्छ । त्यस्तै, महिनावारी हुनुभन्दा अगाडि र भइसकेपछि ढाड र तल्लो पेट बेस्सरी दुख्नुलाई ट्रिपल डिसमेनोरिया भनिन्छ ।’

उनका अनुसार, महिनावारी भएको समयमा शारीरिक सम्पर्क गर्दा पनि दुखाइको समस्या बढ्न सक्छ । यस्तो समस्या भएमा महिलामा बाँझोपनको समस्या हुन सक्छ । यस्ता समस्या देखिए स्वास्थ्य परीक्षण गराउनुपर्छ । 

त्यस्तै, महिनावारी अनियमित हुँदा अनुहार डन्डिफोर धेरै आउने र शरीरमा धेरै रौँ पलाउने समस्या हुन्छ । 

पाठेघरको मुखमा मासु पलाएका कारण पनि महिनावारीमा अनियमित हुने गर्छ । ‘महिनावारी अनियमित हुनुको अर्को कारण हो, पाठेघर सुन्निनु,’ डा. सिटौला भन्छिन्, ‘हर्माेनको गडबडी, डिम्बासयको रोग र डिपो अर्थात् तीनमहिने सुई कपर–टी प्रयोग गर्दा पनि महिनावारीको नियमिततामा समस्या आउँछ ।

सुस्केरी भएपछि बच्चाले आमाको दूध खाँदासम्म महिनावारी नहुनु जटिल समस्या मानिँदैन । महिनावारी नभए पनि यौनसम्पर्क राखेमा बच्चा बस्न सक्ने डा. सिटौला बताउँछिन् । 

घरेलु उपाय 

महिनावारी भएको समयमा धेरै पेट दुख्दा घरेलु उपाय अपनाउन सकिन्छ । दैनिक खाने भन्दा चिया कफी थोरै खानु पनि दुखाइ कम गराउने एक उपाय हो । ‘सामान्य औषधिजस्तै सिटामोल अथवा मेफेनामिक एसिड ट्याबलेट दिनको तीन पटकसम्म खान सकिन्छ,’ उनले थपिन्, ‘हल्का व्यायाम गर्नुका साथै मनतातो पानीले नुहाउन सकिन्छ । तातोपानीले सेक्ने, गुलियो कम खाने गर्दा तल्लो पेट दुख्ने समस्या कम हुन सक्छ ।’ 
 

प्रकाशित मिति: १०:४७ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्