Kathmandu Press

आजाद ! कमला भासिन  

पितृसत्ता भनेको के हो भनेर प्रश्न गर्न सिकाउने ‘खराब’ महिला हुन्, कमला भासिन।  उनले छोरीले पढ्न जरुरी छ भन्ने आफ्ना पुुस्तकमा प्रष्ट उल्लेख गरेकी छन्। उनको प्रसिद्ध भनाइ छ– ‘क्युुँ की मैं बेटी हुँ, मुुझे पढ्ना हे।’
आजाद ! कमला भासिन  

मेरी बच्ची मागे ! आजादी,
नारीका नारा ! आजादी,
मजदुरका नारा ! आजादी,
जनताका नारा ! आजादी,
आदिवासीका नारा ! आजादी,
जंगो से लेंगे ! आजादी,
दंगो से लेंगे ! आजादी,
हिंसा से लेंगे ! आजादी,
अपमान से लेंगे ! आजादी,
हम लेके रहेंगे ! आजादी,
फ्रम पेट्रिआर्की ! आजादी,
फ्रम अल हाइरार्की ! आजादी,
फ्रम एन्डलेस भ्वाइलेन्स् ! आजादी,
फ्रम हेल्पलेस साइलेन्स् ! आजादी,
फर वाकिङ फ्रिली ! आजादी,
फर टकिङ फ्रिली ! आजादी,
फर डान्सिङ म्याड्ली ! आजादी,
फर सिंगिङ् लाउड्ली ! आजादी,
फर सेल्फ एक्सप्रेसन् ! आजादी,
फर सेलिब्रेसन ! आजादी,
फर सेड लाउड्ली ! आजादी,
आजादी ! आजादी ! आजादी !

दक्षिण एसियाका युवतीहरूमाझ यसरी नै ‘आजादी’को सपना देखाउन सिकाउँथिन् कमला भसिनले। आजादीको परिभाषा दिएर आजाद भएर बाँच्न सिकाउँथिन् उनी। दक्षिण एसियाका युवतीलाई उनी असल नबन्न सिकाउँथिन्। असल नबन्नु र खराब हुुनुुमा गौरव गर्न सिकाउँथिइन्। त्यसैले कमला भसिन दक्षिण एसियाका महिलाकी प्रेरणा हुन्।

हजारौँ वर्षदेखि महिलालाई जबर्जस्ती महिलाको मानकका रूपमा सुन्दर, सुशील, सहनशील, कोमल, असल, चरित्रवान् बन्न बाध्य बनाएको पितृसत्ताको विभेदकारी सामाजिक मूल्य मान्यताविरुद्ध बोल्न सिकाउँथिन् कमला। हो, उनी छोरीहरूलाई विद्रोही हुन सिकाउँथिन्। कमला भासिन स्टेजमा जब उत्रिन्थिन्, सारा महिलामा ऊर्जा भर्थिन्। उनलाई देखर उनीसँगै स्वरमा स्वर मिलाउँथे महिलाहरू।

कमला भासिन पुस्तक, लेख र अन्तर्वार्तालाई माध्यम बनाउँदै आफ्ना भनाइमार्फत सधैँ महिलालाई प्रेरित गरिरहन्थिन्। पितृसत्तासँग लड्न र डट्न सिकाउँथिन्। उनका कैयौँ कविता छन्, जसले पितृसत्ताविरुद्ध विद्रोह गर्न ऊर्जा भर्छन्। विद्रोही आँखा खोल्न सिकाइन् उनले, बोल्न सिकाइन्।

चुप बस्नुु हुँदैन, बोल्नुपर्छ भनी सप्तरंगी छोरीहरूलाई सिकाएकी कमला भासिन आज आफैँ चुपचाप नबोली बस्ने भइन्। उनका बारेमा लेख्दै गर्दा उनी भौतिक संसारमा नरहेको कुरा अपत्यारिलो लाग्छ। नेपाल आएका बेला उनलाई भेट्न पुगिन्थ्यो, उनका कुराहरू सुनिन्थ्यो। तर, अब ती भेटघाट हुनेछैनन्।

पंक्तिकारले गत वर्ष कमला भासिनसँग ह्वाट्सएपमा कुुरा गर्न खोजेको थियो। कोरोना भाइरसले विश्व नै थुुनिएका बेला हामीले जुममार्फत भर्चुुअल अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेका थियौँ। बन्दाबन्दीको समयमा घरेलुु हिंसा बढेको समाचार पढ्दा, लेख्दा कमला भासिनसँग कार्यक्रम गर्ने सोच आयो। नेपालमा आउँदा भेट हुने उनले कार्यक्रमका लागि ‘नाईं भनिनन् बरु धन्यवादसहित स्याबासी दिइन्। कार्यक्रमका लागि समय पाउनु निकै सुखद् थियो।

‘कोरोना भाइरसले सारा संसारलाई तहसनहस पारेको छ भने एकैछिन ध्यान दिएर सोच्नूूस् त, सदियौंदेखि समाजमा जरा गाडेको ‘पितृसत्ता भाइरस’ले समाजलाई कतिसम्म क्षतविक्षत पारिरहेको होला?’ १४ वैशाख ०७७ मा दलित युवा जागरण मञ्चद्वारा काठमाडौंबाट सञ्चालित भर्चुअल कार्यक्रममा ‘दक्षिण एसियामा नारीवाद : चिन्तनदेखि चरित्रसम्म’ विषयमा चर्चित नारीवादी अभियन्ता कमला भासिनले व्यक्ति गरेको वाक्य हो यो।

पितृसत्तात्मक चेत परिवर्तन हुुन जरुरी

कमला भासिन हरेक छोरीका लागि ऊर्जा हुन्, उनले महिलाको सोच र व्यवहारमा परिवर्तन गर्नुभन्दा पनि पुरुष स्वतः परिवर्तन हुने समय आएको भन्ने गर्थिन्। महिलालाई हिंसा गर्ने, नियन्त्रणमा राख्न खोज्ने, महिलालाई दायरामा राख्ने, अपमान, हत्या, हिंसा, बलात्कार गर्ने पुरुष नै भएकाले अब पुरुषले नारीवादी तरिकाले सोच्नुपर्ने बताएकी थिइन्।

पितृसत्ताले महिलालाई मात्र नभई पुरुषलाई समेत जकड्याएर बन्धनमा राखेको उनको बुुझाइ थियो। पुुरुषलाई नारीवादी हुुनुमा ऊ स्वयंलाई फाइदा हुने तर भ्रमको शिकार बनेका पुुरुष नारीवादी नबन्दा स्वयं दुःखी छन् भन्थिन् उनी। पितृसत्ताले महिलालाई कोमल हुनु अनिवार्य गरेजसरी नै पुरुषलाई कठोर बन्न सिकाएको उनको भनाइ हुन्थ्यो।

महिलाले खुलेर हाँस्न नहुने नियम भएजसरी नै पुुरुषले खुलेर रुनुु हुँदैन, खुलेर आफ्ना भावना अभिव्यक्त गर्न हुँदैन, यदि त्यसो गरे मर्द रहँदैनन् भन्ने हाउगुजी पितृसत्ताले स्थापित गरिदिएको उनले बताउने गर्थिन्। र त, पुरुष आफ्ना भावना कुण्ठित पारेर बस्न बाध्य छ, आँशुु लुकाउन बाध्य छ भन्थिन्। यदि झुक्किएर आँशु झार्‍यो भने ऊ ‘मर्द’ रहँदैन, मर्दको दर्जाबाट खसालिन्छ थिलोथिलो हुुनेगरी। मर्द हुुनुु भनेको कमजोर नहुुनुु तर कठोर हुुनुु हो भन्ने सिकाइमा परिवर्तन हुुनुपर्ने तर्क हो यो। पितृसत्ताले पुरुषलाई अमानवीय बन्न सिकाइरहेको उनको भनाइ हो।

उनका हरेक भनाइ र शब्दमा नारीवाद झल्किन्थ्यो, नारीवादको गलत प्रचार गरी पितृसत्तालाई यथावत राख्न खोजेको राजनीति बुझ्न उनी सुुझाउँथिन्। नारीवादको लडाइँ लडिरहँदा नारीवादबारे भ्रम हटाउन अझै संघर्षरत रहेको उनले बताएकी थिइन्। वर्षौँदेखि नारीवादी आन्दोलनलाई मख्ख पार्न भ्रमको खेती गरिएको र त्यसको शिकार पुरुषहरू भएको उनको तर्क हुन्थ्यो।

नारीवादी आन्दोलन पुरुषको अस्तित्व सखाप पार्न थालिएको, विशुुद्ध पुरुषविरोधी अभियान हो भन्ने भ्रमबाट आज पनि पुरुषहरू त्रसित रहेको उनले बताएकी थिइन्। नारीवादी महिलालाई हेरिने नजर र नारीवादका कुरा गर्ने महिलालाई लिएर गरिने टीका टिप्पणीले नारीवादीप्रतिको चेत देखाएको उनी उल्लेख गर्थिन्। नारीवादी अभियानका लागि असत्य तर्क गर्ने र पितृसत्ता टिकाउने रणनीति बुुझ्न जरुरी रहेको उनको तर्क हुन्थ्यो।

नारीवाद पुरुषको नभएर पितृसत्ताको विरोधी

नारीवादको मुल ध्येय भनेको नारीको विचार र नारीकै आँखाबाट जीवनपद्धति नियाल्नु हो। मानव उत्पत्तिदेखि आजको दिनसम्म आउँदा पुुरुषको विचारमा चलेको मानव प्रणाली, पुरुषद्वारा परिभाषित गरिएको नियम, कानून, महिलाको ‘चरित्र बनाउन’ तयार पारिएको संस्कार, नीति र सामाजिक संरचना अब नारीले पनि सँगसँगै नियाल्ने हुनुुपर्छ भन्ने उनको बुुझाइ थियो।

कमला भासिनले भनेकी थिइन्, ‘जबसम्म संसारमा नारीवादी आन्दोलन चलिरहन्छ, यसको मतलव अझैसम्म महिला र पुरुषबीच असमानता कायमै छ भनी बुुझ्न आवश्यक छ।’ नारीवादले पितृसत्ता मात्र नभएर जातिवाद, नश्लवाद तथा यौनिक र अल्पसंख्यकमाथि हुने भेदभावको विरोध गर्ने उनको विचार हुन्थ्यो। समाजमा जबसम्म विभेद रहिरहन्छ, नारीवादको आन्दोलन चलिरहने, चल्नुुपर्ने उनको भनाइ हुन्थ्यो।

सम्झनामा कमला

२४ अप्रिल १९४६ मा हालको पाकिस्तानको पञ्जाबमा पर्ने शाहिदानवाली, मन्डी बहाउद्दिनमा उनको जन्म भएको थियो। ७५ वर्षको उमेरमा भारत दिल्लीमा शनिबार बिहान उनको निधन भएको छ।

उनका पुस्तक र हाते पुस्तिकाहरू ३० वटाभन्दा बढी भाषामा अनुवाद भएका छन्। दक्षिण एसियामा खासगरी पितृसत्ता भनेको के हो भनेर प्रश्न गर्न सिकाउने उनी ‘खराब’ महिला हुन्। उनले छोरीले पढ्न जरुरी छ भन्ने कुरा आफ्ना पुुस्तकहरूमा प्रष्टसँग उल्लेख गरेकी छन्। उनको प्रसिद्ध भनाइ छ– ‘क्युुँ की मैं बेटी हुँ, मुुझे पढ्ना हे।’

दक्षिण एसियाका सबैजसो महिला अधिकारकर्मी र अभियन्ताहरूले उनको निधनमा गहिरो शोक प्रकट गरेका छन्। नेपाली अधिकारकर्मी र अभियन्तासँग पनि उनको निकटस्थ सम्बन्ध थियो। उनको अकल्पनीय देहावसानप्रति नेपालका महिला अधिकारकर्मीहरूले शोक प्रकट गरेका छन्।

पत्रकार तथा महिला अधिकारकर्मी बबिता बस्नेतले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘विश्वास गर्न धेरै गाह्रो भएको छ कि तपाईं अब हामी माझ हुनुहुन्न। हामी तपाईंलाई सधैँ सम्झिनेछौँ। समानता आन्दोलनकी सशक्त नेतृ कमला भासिनको अकस्मात निधनको खबरले मर्माहत बनायो। हजुरको आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली!’

यस्तै, महिला अधिकारकर्मी बन्दना राणाले लेखेकी छन्, ‘हाम्रो धेरै प्रिय कमला भासिनले हामीलाई छोडेर जानुभएको कुरा थाहा पाउँदा धेरै धेरै दुःखी बनाएको छ। उहाँ सधैँ एक जीवन्त र प्रतिष्ठित नेताको रूपमा हाम्रो मुटुमा रहिरहनुहुुनेछ। त्यो धागो जसले हामीलाई परिवर्तनको हाम्रो यात्रामा एक साथ बाँध्नेछ र लैंगिक समानतायुक्त संसार स्थापित हुनेछ। उहाँको स्वर्गमा बास होस्, मेरो कामना।’

प्रकाशित मिति: १९:४६ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्