Kathmandu Press

साढे ५५ हजार महिला उद्यमीले लिए करिब ५१ अर्ब कर्जा

सविता पराजुलीेले चार–पाँचपटक मेगा बैंक धाउँदा पनि कर्जा पाउन सकिनन् । उनी भन्छिन्, ‘बैंकले मागे अनुसार कागजपत्र बनाएर दिएँ, तर कहिले के कागज पुगेन, कहिले आम्दानीको स्रोत स्पष्ट भएन भने । दिक्क भएर पहल गर्नै छाडेँ ।’
साढे ५५ हजार महिला उद्यमीले लिए करिब ५१ अर्ब कर्जा

काठमाडौं, भदौ २८ : भक्तपुर नयाँथिमीकी २९ वर्षीया रीता रिजालले चार–पाँच महिनाअगाडि ६ प्रतिशत ब्याज अनुदानमा ‘महिला उद्यमशील कर्जा’ लिएकी छन् । उनले प्रभु बैंकबाट १० लाख रुपैयाँ कर्जा लिएर टायलमा प्रयोग हुने सामग्रीको पसल (जिएच इन्डस्ट्रिज) सञ्चालन गरेकी छन् ।

‘स्पष्ट परियोजना बनाएकाले बैंकमा कुनै झन्झट व्यहोर्नुपरेन,’ उनी भन्छिन्, ‘मासिक लगभग १९ हजार रुपैयाँ किस्ता तिर्नुपर्छ ।’ पाँच वर्षमा सबै ऋण तिरिसक्नुपर्ने गरी किस्ता तिरिरहेको उनको भनाइ छ । 

नुवाकोट बेलकोटगढी नगरपालिकाकी ४३ वर्षीया सविता पराजुलीले भने चार–पाँचपटक मेगा बैंक धाउँदा पनि ‘महिला उद्यमशील कर्जा’ पाउन सकिनन् । काठमाडौं सामाखुसीमा बस्दै आएकी सविताले जग्गा भाडामा लिएर कुखुरापालन गर्ने योजना बनाएकी छन् । ‘बैंकले मागे अनुसार कागजपत्र बनाएर दिएँ, तर कहिले के कागज पुगेन, कहिले आम्दानीको स्रोत स्पष्ट भएन भने,’ उनी भन्छिन्, ‘दिक्क भएर पहलै गर्न छाडेँ ।’ 

बैंकबाट ऋण नपाएपछि उनले अहिले महिला समूहबाट केही रकम निकालेर तरकारी तथा फलफूल पसल सञ्चालन गरेकी छन् । ‘आफूले गर्न लागेको व्यवसायबारे सबै कागजपत्र बनाउँदा पनि किन पत्याएनन् थाहा भएन,’ उनले भनिन् ।

साढे ५५ हजारले लिए कर्जा

सरकारले सहुलियतपूर्ण कर्जाका लागि अनुदानसम्बन्धी एकीकृत कार्यविधि– २०७५ ल्याएको छ, त्यसमा सात प्रकारका कर्जा दिने उल्लेख छ । ‘महिला उद्यमशील कर्जा’ महिला उद्यमीले १५ लाख रुपैयाँसम्म कर्जा पाउँछन । यस कर्जा अन्तर्गत देशभरिका ५५ हजार पाँच सय ५१ महिलाले ५० अर्ब ९८ करोड ४४ लाख रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ । 

सहुलियत कर्जाअन्तर्गत ५ प्रतिशत ब्याज अनुदान भए पनि महिला उद्यमीका लागि ६ प्रतिशत ब्याज अनुदान दिइएको राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेल बताउँछन् । ‘तर, सहरी क्षेत्रका महिलालाई यस कर्जाबारे थाहा भए पनि ग्रामीण क्षेत्रका महिला सहभागी हुन सकेका छैनन्,’ उनले भने । 

उसो त राजधानीमा बस्ने सविता पराजुलीे जस्ताले यो कर्जा पाउन सकेका छैनन् । सुदूर गाउँका निम्न वर्गीय महिलासम्म यो कर्जा कहिले पुग्ला ? 

महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष रीता सिंह सरकारले महिला उद्यमीका लागि दिने कर्जा लगायत सेवा–सुविधाबारे सचेत गराउँदै आएका बताउँछिन् । व्यावसायिक रूपमा कसरी अगाडि बढ्ने, व्यवसाय कसरी गर्ने, व्यापार कसरी बढाउने भन्ने विषयमा महिलालाई तालिम दिइने उनको भनाइ छ । साथै सिजन अनुसारको बीउ निःशुल्क वितरण पनि गरिन्छ । ‘महिलालाई व्यापार गर्न सहज होस् भनी वर्षमा एकपटक व्यापार मेला समेत राखिन्छ,’ उनी भन्छिन्, ‘सहरी क्षेत्रभन्दा ग्रामीण महिलालाई विशेष प्राथमिकता राखेर यस्ता कार्यक्रम गरिएका छन् । महिला सशक्तीकरणका लागि महिला उद्यमीको संगठनलाई विस्तार गर्दै आएका छौं ।’ 

उनका अनुसार, काठमाडौं (केन्द्र)मा एक सय ७७ भन्दा बढी र उपत्यकाबाहेक ५७ जिल्लाका तीन हजारभन्दा बढी महिला उद्यमी महासंघमा आबद्ध छन् । ‘ग्रामीण क्षेत्रमा दर्ता नगरी व्यवसाय सञ्चालन गरिरहेकालाई दर्तामा ल्याउन पहल गरिएको छ,’ उनले भनिन्, ‘ग्रामीण क्षेत्रमा व्यवसाय गर्ने महिलालाई दुई महिनाअगाडि चार सय जनालाई तालिम दियौं ।’ 

कसले पाउँछ यस्तो कर्जा ? 

१) १८ वर्ष उमेर पूरा भएका महिलाले यस्तो कर्जा पाउँछन् । समूह भए फरक परिवारका कम्तीमा पाँचजना १८ वर्ष उमेर पूरा भएका महिला हुनुपर्ने प्रावधान छ ।

२) कर्जा लिँदा उद्यम सञ्चालन तथा कर्जा उपयोगसम्बन्धी संक्षिप्त प्रस्ताव तथा समूहको हकमा सामूहिक जमानीसम्बन्धी कागजात चाहिन्छ ।

३) प्यान नम्बर पनि लिएको हुनुपर्छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको व्यक्तिले यस्तो कर्जा लिन पाउँदैनन् । 

कागजात 

१) स्पष्ट रूपमा भरेको आवेदन फारम । 

२) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । 

३) प्रचलित कानुन बमोजिम दर्ता भएको व्यवसाय तथा स्थायी लेखा नं (प्यान) प्रमाणपत्रको प्रतिलिपि । 

४) कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्वघोषणा । 

५) सामूहिक जमानीको हकमा सामूहिक जमानीसम्बन्धी कागजात । 

६) उद्यम सञ्चालन तथा कर्जा उपयोगसम्बन्धी संक्षिप्त प्रस्ताव । 

कर्जा भुक्तानी 

सामान्यतः यस्तो ऋण बढीमा पाँच वर्षमा तिर्नुपर्ने हुन्छ, तर व्यवसायको प्रकृति अनुसार सम्बन्धित बैक तथा वित्तीय संस्थाले पनि ऋण चुक्ता गर्नुपर्ने अवधि तोक्न सक्नेछन् ।

किस्ता भुक्तानी अवधि कर्जाको प्रकार, रकम, उद्देश्य र जोखिमको स्तर लगायत आधारमा निर्धारण गरिन्छ ।

ब्याजदर

नेपाल सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्ने व्यवस्था छ । कर्जाको ब्याजबाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क पनि बैंकले लिन पाउँदैनन् । 

निवेदन स्वीकृत 

बैंक तथा वित्तीय संस्थाले निवेदन प्राप्त गरेको २१ दिनभित्र ऋण स्वीकृत हुने वा नहुने निर्णय गर्नुपर्छ । ऋण दिन नसकिने भएमा स्पष्ट कारणसहित निवेदकलाई जानकारी दिनुपर्छ।

कुन कुन व्यवसाय तथा उद्यम गर्न पाइन्छ ?

‘महिला उद्यमशील कर्जा’ देहायका व्यवसाय तथा उद्यमका लागि प्रवाह हुनेछ । 

१) कृषि व्यवसाय (उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण) ।

क) खाद्यान्न, नगदेबाली, तरकारी, फलफूल तथा जडीबुटी :

– धान, गहुँ, मकै, कोदो, जौ, केराउ, चना, भटमास आदि ।

– चिया, अलैंची, सूठो, सुपारी, नरिवल, कपास, अल्लो, अम्रिसो, बाबियो, उखु, रबर, अदुवा, बेसार, सूर्यमुखी मरीच जस्ता मसला आदि। – लसुन, प्याज, आलु, काउली, बन्दा, परबल, कुरिलो, भन्टा, चम्सुर, पालुंगो, रायो, ब्रोकाउली, गोलभेंडा, च्याउ, बोडी, सिमी, फर्सी, गाजर, मुला, खुर्सानी, पिँडालु, इसकुस, धनियाँ, तरुल, घिरौंला आदि ।

– आँप, सुन्तला, स्याउ, अनार, दारिम, अम्बा, कागती, निबुवा, भोगटे, ज्यामीर, लप्सी, लिची, कटहर, भुइँकटहर, अंगुर, हलुवाबेद, मेवा, केरा, खुर्पानी, बयर, सतीबयर, अमला, विभिन्न किसिमका फूलखेती  (टिस्यूकल्चर, बीउ तथा बेर्ना उत्पादन समेत) आदि । 

– नेपाल सरकारको सम्बन्धित निकाय वा जडीबूटी उत्पादन वा प्रशोधन कम्पनीले तोकेका सबै किसिमका जडीबूटी उत्पादन (प्रचलित कानूनले बन्देज लगाएका बाहेक) आदि । 

(ख) पशुपन्छीपालन : 

–गाई, गोरु, भैंसी, राँगो, बंगुर, सुँगुर, खरायो, चौँरी, याक, नाक, भेडा, बाख्रा, थुमा, खसी, बाच्छा–बाच्छी, पाडा–पाडी, घोडा, गधा, खच्चर र आर्थिक उपार्जनका लागि पालिने अन्य पशुहरू। 

– कुखुरा, हाँस, परेवा, लौकाट, बट्टांई र आर्थिक उपार्जन गर्नका लागि पालिने अन्य पन्क्षीहरू । 

–व्यावसायिक  रूपले गरिएको मत्स्यपालन, मौरीपालन, रेशम कीरा पालन आदि । 

(ग) सिँचाई तथा सिँचाइ उपकरण : 

– कृषि उत्पादन वृद्धि गर्न सघाउ पु¥याउने गरी कृषकले एक्लै वा सामूहिक रूपमा निर्माण गर्ने कुलो, नहर, नल, हातेनल, क्याप्टिभ, जेनेरेटर, स्प्रिंकलर, पम्पसेट, रोअर पम्प आदि । 

घ) कृषि औजार वा संयन्त्र : 

– थ्रेसर, ग्रिंडर, आधुनिक हलो, कुटो, कोदालो, कोदाली, हँसिया, खुर्पा, खन्ती, टयाक्टर, टे«लर आदि । 

(ङ) वन विकास तथा चरण विकास :

– नर्सरी स्थापना र विकास, निजी, एवं सामुदायिक वृक्षारोपण, वन विकासका लागि प्रयोग हुने मलखाद, कृषि वन प्रणालीको विकास र विस्तार, चरन विकास आदि । 

च) जग्गा विकास र भू–संरक्षण 

 – जमिन सुधार, तार–बार, जाली, पर्खाल आदि । 

(छ) प्रचलित कानुनले बन्देज गरिएका बाहेकका अन्य कृषि उत्पादन तथा कृषिजन्य व्यवसाय । 

२) उद्योग व्यवसाय :

– हाते एवं खुट्टे तान, अर्धस्वचालित तान, वार्पिङ, रंगाई, छपाई, सिलाई, बुनाई, राडी, पाखी, ऊनी गलैंचा, पश्मिना, ऊनी पोसाक, सिकर्मी कार्य, काठबाट कलात्मक वस्तु, निर्माण गर्ने कार्य, बेत, बाँस र निगालोका सामान तयार गर्ने कार्य, प्राकृतिक रेशाबाट विभिन्न वस्तुको निर्माण कार्य, हातेकागज, उत्पादन, सुन चाँदी, तामा, पित्तल, फलाम, जस्ता धातुको कार्य, गहना एवं मूर्ति बनाउने कार्य, मह, चिउरी, अलैंची एवं चिया प्रशोधन कार्य, सेरामिक्स एवं कुमालेको पेसागत कार्य, छालासम्बन्धी पेसागत कार्य र ट्यानिङ छाला, हाड, सिङ तथा ढुंगाबाट तयार हुने वस्तुहरूको उत्पादन, चित्रकला, कागजबाट बनेका सामान, धुप, पुतली, खेलौना र प्रचलित औद्योगिक व्यवसाय एनले परम्परागत घरेलु उद्योग भनी परिभाषा गरेका सम्पूर्ण उद्योग । 

(३) सेवा व्यवसाय : 
 
(क) स्वास्थ्य सम्बन्धी सेवा व्यवसाय :

– स्वास्थ्य परीक्षण प्रयोगशाला प्राकृतिक तथा आयुर्वेद चिकित्सा केन्द्र आदि सञ्चालन, शिशु स्याहार केन्द्र, औषधी पसल । 

(ख)  पशुपक्षीसम्बन्धी चिकित्सा व्यवसाय : 

– पशु चिकित्सासम्बन्धी स्वास्थ्य परीक्षण तथा औषधि पसल, पशु आहारा खरिद–बिक्री आदि 

(ग) कृषि एवं औद्योगिक उत्पादन वृद्धिमा सघाउ पु¥याउने सेवा व्यवसाय : 

– कृषि सामग्री, बेचबिखन, कृषि उपज बेचबिखन, औद्योगिक कच्चा पदार्थको खरिद–बिक्री आदि। 

(घ) सीप एवं स्वरोजगारमूलक  व्यवसायहरू : 

– फोटोकपी, कम्प्युटर सञ्चालन, मर्मतशाला (टेम्पो, बस, मिनीबस, माइक्रोबस, ट्रक, मिनीट्रक, डेलिभरी भ्यान, कार, जिप, रिक्सा, रेडियो, फोटोकपी, कम्प्युटर, टिभी, टेलिफोन, घडी आदि ।) सिलाई, बुनाई, केश शृंगार, सिकर्मी, डकर्मीको सेवा, दैनिक उपभोगका सामान खरिद बिक्री, पुस्तक, स्टेसनरी एवं अन्य शौंक्षिक सामग्रीको खरिद, चिया तथा चमेना पसल, घरजग्गाको नक्सा तयार गर्ने, मूल्यांकन गर्ने, कानुनी सेवा, अनुसन्धान, परामर्श, खानेपानी वितरण र सरसफाइसँग सम्बद्ध व्यवसाय नेपाली तथा राष्ट्रिय भाषामा चलचित्र निर्माण तथा प्रदर्शन, बाल–उद्यान, खेलकुद आदि । 

(ङ) पर्यटन सम्बन्धी व्यवसाय :

–होटल, मोटेल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ ¥याफटिङ आदि । 

च) सञ्चार सम्बन्धी व्यवसाय : 

– टेलिफोन, फ्याक्स, इमेल–इन्टरनेट, भिडियो कन्फरेन्सिङ आदि । 

छ) यातायात सेवा सम्बन्धी व्यवसाय : 

– रिक्सा, ठेलगाडा, एक्का (घोडासहित) आदि । 

ज) प्रचलित औद्योगिक व्यवसाय सम्बन्धी कानुनले तोकेका अन्य सेवामूलक व्यवसाय ।

४) अन्य व्यवसाय : 

–मूल्य अभिवृद्धि हुने व्यवसाय : (जस्तै रेडियो, घडी, टेलिभिजन, कम्प्युटर, आधुनिक बत्ती, टर्च, लाइटर, इम्ब्राइडरी, तयारी पोसाक आदि) । 

– सूचना प्राविधि : कम्प्युटर सफ्टवेयर एवं हार्डवेयरसम्बन्धी व्यवसाय । 

– विविध : खुद्रा पसल, आवास निर्माण, सौर्य बत्ती, धारा बाथरुम तथा शौचालय निर्माण । 

 प्रचलित कानुनले बन्देज लगाए बाहेक अन्य व्यवसाय ।
 

प्रकाशित मिति: १०:२८ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्