Kathmandu Press

मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेशका महिला टोली भिड्दै

काठमाडौं, भदौ २४ : नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्ने भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त खेल आज साँझ ५ बजे...
मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेशका महिला टोली भिड्दै
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २४ : नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्ने भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त खेल आज साँझ ५ बजे हुने तय भएको छ। 

दुवै टोलीले अर्को खेल आगामी आाइतबार खेल्नेछन्। नेपाली महिला फुटबल टोलीले यसअघि कतार, कुवेत र मलेसियासित मैत्रीपूर्ण खेल खेलेको थियो। नेपाली टोलीले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटका तयारीमा रहेका बेला बङ्गलादेशसित मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। एशियन कप छनोटअन्तर्गत नेपाल समूह ‘एफ’ मा छ। उक्त समूहमा हङकङ र फिलिपिन्स रहेका छन्।

नेपालले फिलिपिन्ससित आगामी असोज २ गते तथा हङकङसँग असोज ५ गते खेल्ने तय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। उक्त समूहको शीर्ष टोली अर्को वर्ष भारतमा आयोजना हुने एशियन कप खेल्ने छ। नेपाली टोली मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’बिना मैदानमा उत्रिदैछन्। गत वर्ष महिला राष्ट्रिय लिग खेल्ने क्रममा घुँडामा चोट लागेपछि उनी हाल कतारमा उपचाररत छन्। उनले चोटका कारण बङ्गलादेशसितको दुवै मैत्रीपूर्ण खेल खेल्ने छैनन्।

नेपाली महिला टोलीलाई हाल ग्यारी फिलिप्सले प्रशिक्षण दिँदै आएका छन्। उनले नेपाली टोली एशियन कपमा छनोट हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए। नेपाली टोलीमा युवा खेलाडीको बर्चस्व रहेका कारण बङ्गलादेशसितका खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने उनको भनाइ छ। महिला फुटबलमा नेपाल अहिलेसम्म बङ्गलादेशसँग अपराजित रहेको छ। दुवै टोलीले हालसम्म छ खेल खेलेका छन्।

नेपालले सन् २०१० को जनवरीमा बङ्गलादेशका ढाकामा भएको दक्षिण एशियाली खेलकुदमा बङ्गलादेशलाई १–० गोलले पराजित गरेको थियो। सो खेलमा नेपालको तर्फबाट जमुना गुरुङले गोल गरेकी थिइन्। यस्तै सन् २०१० को डिसेम्बरमा बङ्गलादेशमै भएको अर्को खेलमा महिला साफ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग ३–० गोलअन्तरले विजयी भएको थियो। उक्त खेलमा नेपालका तर्फबाट जमुना गुरुङले दुई, अनु लामाले एक गोल गरेका थिए।

यसैगरी सन् २०१४ को नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा सम्पन्न तेस्रो महिला साफ च्याम्पियनसिपमा नेपालले बङ्गलादेशलाई १–० गोलले हराएको थियो। नेपालका लागि निर्णायक गोल सजना रानाले गरेकी थिइन्। सन् २०१६ फेब्रुअरीमा भारतको सिलोङमा भएको दक्षिण एशियाली खेलकुदमा नेपालले बङ्गलादेशलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । उक्त खेलमा निरु थापा, दीपा अधिकारी र अनु लामाले गोल गरेका थिए।

यस्तै सन् २०१८ नोभेम्बरमा म्यानमामा भएको  भएको एशियाको महिला ओलम्पिक छनोटको समूह ‘सी’ को खेलमा नेपाल र बङ्गलादेशले एक–एक गोलको बराबरी खेलेका थिए। नेपालका लागि निरु थापाले गोल गरेकी थिइन्। यस्तै सन् २०१९ मार्चमा नेपालको विराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा नेपालले बङ्गलादेशलाई ३–० गोलअन्तरले हराएको थियो। उक्त खेलमा सावित्रा भण्डारी र अन्जलीकुमारी योञ्जनले एक–एक गोल गरेका थिए। नेपालका लागि बङ्गलादेशले एउटा आत्मघाती गोल गर्न पुगेको थियो। 
 

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्