Kathmandu Press

हिमाल आरोहणको शरद सिजन : एक सय ६० पर्वतारोहीले लिए अनुमति

हिमाल आरोहणको शरद सिजन सुरु हुन लाग्दा एक सय ६० जनाले पर्वतारोहण अनुमति लिएका छन्।
हिमाल आरोहणको शरद सिजन : एक सय ६० पर्वतारोहीले लिए अनुमति
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २३ : हिमाल आरोहणको शरद सिजन सुरु हुन लाग्दा एक सय ६० जनाले पर्वतारोहण अनुमति लिएका छन् ।

११ साउनदेखि २१ भदौसम्म उक्त संख्याका पर्वतारोहीले नेपाली हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । अनुमति लिएका आरोहीले असोज-कात्तिकमा हिमाल आरोहण गर्छन् ।

सन् २०१९ डिसेम्बर अन्तिम (पुस ०७६) देखि सुरु भएको कोरोना महामारीका कारण हिमाल आरोहण ठप्पजस्तै छ । कोरोना प्रसार रोक्न सरकारले ११ चैत ०७६ मा देशव्यापी लकडाउन घोषणा गरेपछि हिमाल आरोहणमा जाँदै गरेका सबै आरोहीलाई बाटोबाटै फर्काउनुपरेको थियो ।

२०७६ सालको शरद सिजनमा एक सय ४३ वटा समूहका एक हजार ७४ आरोहीले नेपाली हिमाल आरोहण गरेका थिए । ०७७ सालका वसन्त र शरद दुवै सिजनमा हिमाल आरोहण ठप्प रह्यो ।

जाडो समाप्त भएर गर्मी पलाउँदै गरेको वसन्त सिजन हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ । यस्तै, गर्मी घट्दै गएर जाडो पलाउन थाल्ने शरद सिजनलाई पनि पर्वतारोहीले हिमाल आरोहणको उपयुक्त समय मान्छन् ।

यस वर्ष पनि कोभिड–१९ महामारी कायम रहेकाले पर्वतारोहीको संख्या बढ्न नसकेको पर्यटन विभागले जनाएको छ ।

विभागको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यका अनुसार ०७७ सालको शरद सिजनमा नेपाली हिमाल आरोहण ठप्प रह्यो । त्यसअघिको वसन्त सिजनमा न्यून आरोहीले मात्र अनुमति लिएका थिए । उनीहरूलाई सरकारले बीच बाटोबाटै फर्काएको थियो ।

उनका अनुुसार यसपटक अनुमति लिने पर्वतारोहीको संख्या न्यून हो । जाडो सिजन अर्थात् नोभेम्बर र डिसेम्बरमा संख्या केही बढ्ने अपेक्षा रहेको उनले बताइन् । ‘कोरोना संक्रमितको संख्या न्यूून हुुँदै गएमा आरोहण गर्नेको संख्या बढ्ने हो, कोरोना संख्या बढेमा फेरि बन्द हुुनसक्छ,’ उनले काठमाडौं प्रेसलाई भनिन् ।

सन् २०१९ मा एक हजार नौ सय २१  टिमले पर्वतारोहण अनुमति लिएका थिए, जसमा आठ हजार  दुुई सय दुुई आरोही थिए । त्यसवापत भने ५६ करोड ८२ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागको तथ्यांक छ ।

सन् २०२० मा एक सय ५३ वटा टिमका चार सय ४७ जनाले हिमाल आरोहण गरेका थिए । त्यस वर्ष १४ करोड ९७ लाख ९० हजार रुपैयाँ मात्र रोयल्टी प्राप्त भएको थियो ।

यस्तै, सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ जना पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२० मा त्यो संख्या दुुई लाख ३० हजार ८५ थियो । सन् २०२१ को अगस्टसम्म ४०–५० हजार पर्यटक भित्रिएको उनले जानकारी दिइन् । निर्देशिका आचार्यले भनिन्, ‘सन् २०२१ को अन्तिमसम्म एक लाख पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।’

कोभिड महामारीकै बीच बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले गत वैशाखमा सगरमाथा आरोहण गरेको थियो । त्यतिबेला पनि न्यून संख्याका आरोही हिमाल आरोहण गर्न नेपाल आएका थिए ।

सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्सेलगायत हिमाल आरोहणका लागि विदेशी पर्यटक नेपाल आउने गरेका छन् । नेपालमा मात्र आठ हजार मिटरमाथिका १४ वटा हिमाल छन् ।

प्रकाशित मिति: १५:५७ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्