Kathmandu Press

तीज गीतमा मौलिकता जोगाउने गायिकाहरू

तीज गीतका नाममा बढ्दो विकृति हटाउन र वास्तविक गीत र मौलिकता जोगाउनकै लागि केही पुराना गायिकाहरू भने निरन्तर लागिरहेका छन् । उनीहरूले हरेक वर्ष तीजमा मौलिकता झल्किने गीतहरू मात्र बजारमा ल्याउने गरेका छन् ।
तीज गीतमा मौलिकता जोगाउने गायिकाहरू

काठमाडौं, भदौ २३ : हिन्दु नारीहरूको महान पर्व ‘तीज’ भन्नासाथ आफ्नो माइतीघर पुगेर मिठा परिकारका साथ बुवा–आमा, दाजुभाइ र दिदीबहिनीसँगै बसेर नाचगान, रमाइलो गरी मनाउने भन्ने बुझिन्छ । तीजलाई नै लक्षित गरेर सबैजसो गायक–गायिकाले बजारमा गीतहरू ल्याउने परम्परा नै छ । पछिल्लो समयमा तीज गीतमा देखिएका विकृतिले यसको मौलिकता नै जोखिममा पर्ने शंका उत्पन्न हुन थालेको छ । तीज गीतका नाममा बढ्दो विकृति हटाउन र वास्तविक गीत र मौलिकता जोगाउनकै लागि केही पुराना गायिकाहरू भने निरन्तर लागिरहेका छन् । उनीहरूले हरेक वर्ष तीजमा मौलिकता झल्किने गीतहरू मात्र बजारमा ल्याउने गरेका छन् । उनीहरूले मौलिकताको संरक्षण र जर्गेना गरिरहेका छन् ।

तीजमा जति नै नयाँ गीतहरू सार्वजनिक भए तापनि पुराना कलाकारका ती कालजयी गीतहरू अहिले पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन् । मुलतः तीजका कालजयी भाकामा लय मिलाएर प्रस्तुत गर्ने पुराना कलाकार लोकगीत–संगीतबाट विस्थापित भइदिँदा र नयाँ पुस्ताका कलाकारले मौलिकता बिर्सिँदा विकृति बढेको कलाकारहरूको भनाइ छ । तीज गीतमा विकृति बढ्नुको अर्को प्रमुख कारण ‘उटपट्याङ’ खालका सिर्जनालाई दर्शक, स्रोताले रुचाइदिने र सर्जकहरू पनि त्यस्तै सिर्जनामा उत्प्रेरित हुनु पनि हो ।

मुलतः तीज गायिकाको परिचय बनाएका हरिदेवी कोइराला, बीमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, शकुन्तला थापा, शीला आले, विष्णु माझीलगायत गायिकाले अहिले पनि तीज गीतमा मौलिकता पस्किने गरेका छन् । त्यसो त, उनीहरूका वर्षौँ पुराना गीतहरूमा समेत तीजको मौलिकता पाइन्छ ।

लोकगायिका कोइरालाले आफ्ना तीज गीतमा चेली माइती जान नपाउँदाका पीडा, सासु–ससुराले गर्ने अभद्र व्यवहार, राम्रो व्यवहार, दिदी–बहिनीको मित्रता तथा पीडा, श्रीमानको माया र पीडालगायत विषयवस्तुलाई आफ्ना गीतमा पस्किने गर्छिन् । कोइरालाका तीज गीतमध्ये ‘सुन्नुहोला दिदी बहिनी’, ‘लाली जोवन कहिले’, ‘सुनको टीकी लाएर’, ‘पठाएनन् घरकाले फर्के फरक्क्क’, ‘रातो सारी लाएर’, ‘आमा तिम्रो दूधैको भारा’, ‘यो छोरीको जीवन बरिलै’लगायत चर्चित छन् । यी सधैँका तीजमा घन्किने गर्छन् । यीसँगै कोइरालाले पछिल्ला तीजमा बढ्दो विकृतिलाई निरुत्साहित गर्नकै लागि अहिले पनि आफ्ना गीतमा मौलिकता पस्किने गर्छिन् । यस वर्षको तीजलाई लक्षित गरेर बजारमा ल्याएको ‘जरुवाको पानी’ बोलको गीतले पनि पुरानो मौलिक तीजलाई सम्झाउँछ । उनको यो गीतले तीजमा बाबा, आमा, दाजुभाइ र माइती देशको सम्झनाका बारेमा चर्चा गरिएको छ । उनको उक्त गीत घन्किँदा बल्ल गाउँघरमा तीज आएको आभास हुने गर्छ ।

विषयवस्तुमा फरकपन ल्याएर गीत गाए पनि आफ्नो मौलिकता, संस्कृति र भेषभुषालाई कहिल्यै पनि बिर्सन नहुने गायिका कोइराला बताउँछिन् । ‘तीज नेपाली संस्कृतिको धरोहर पनि हो, वर्षभरि आफूले पाएका दुःख र वेदना पो गीतमा पोख्ने हो त, परिवारसँगै बसेर हेर्न र सुन्नै नमिल्ने खालका गीतलाई गीत नै मान्न सकिन्नँ,’ उनी भन्छिन् ।’

यस्तै, कलाकार नारायण रायमाझीले संकलन गरेको बीमाकुमारी दुराको स्वरमा सजिएको ‘भरर रानी चरी’ बोलको गीत अहिले पनि उत्तिकै सान्दर्भिक छ । जब–जब तीज नजिकिँदै जान्छ, दिदीबहिनीबीच दर खाने कार्यक्रममा यो गीत बजेकै हुन्छ । कोइरालाका जस्तै दुराका प्रायः सबै तीज गीतमा मौलिकता पाइन्छ ।

अर्की चर्चित गायिका लक्ष्मी न्यौपानेका गीतहरूमा पनि तीजको मौलिकता झल्केको पाइन्छ । न्यौपानेका ‘तीज आयो राजै’, ‘म त मसक्कै’, ‘जान्न म त नाइँ’लगायत गीत अहिलेसम्म चर्चामा छन् । उनले विगतदेखि नै आफ्ना गीतमा पस्किँदै आएको मौलिकतालाई अहिले पनि उत्तिकै महत्त्व दिएकी छन् । अघिल्लो वर्षको तीजमा ‘मै माग्थेँ बालापन’ बोलको गीत बजारमा ल्याएकी न्यौपानेले यस वर्ष सोही गीतको सिक्वेलको रूपमा  ‘मै माग्थेँ बालापन–२’ बजारमा ल्याइन् । यो गीत पनि तीजको भाका र मौलिक शब्दले सजिएको छ ।

तीजका मर्मस्पशी गीतको संकलन गर्ने अर्की गायिका शर्मिला गुरुङ पनि तीजसँग जोडिएको परिचित नाम हो । उनले विगतमा गाएका ‘तीज दाइबिना’, ‘टाढाका चेली’, ‘हाम फालेर मरुँ कि’ र ‘आज मेरो माइत जाने पालो’लगायत गीत अहिलेसम्म पनि उत्तिकै लोकप्रिय छन् । आफैँ सिर्जनाबाहेक अन्य सर्जकका गीतहरूमा समेत स्वर दिएकी गुरुङको रोजाइमा मौलिकता झल्किने गीतहरू मात्र पर्छन् । यस वर्ष मात्र उनले गाएका ‘संगिनी’, ‘माइतीको घुमाउने घर’ र ‘बासैको चोया’लगायत गीतमा मौलिकता पाइन्छ ।

यसैगरी, गायिका शकुन्तला थापाले पनि आफ्ना गीतमा मौलिकता समेट्ने गर्छिन् । हुन त, उनले विगतमा गाएका केही गीत ठट्यौली प्रकारका पनि छन् । तर, उनका गीतमा सुहाउँदो ठट्यौली पाइन्छ । अहिले बजारमा आएका त्यस्तै प्रकारका अन्य गीतमा अशोभनीय र अपाच्य खालको ठट्यौली र ठट्यौलीका नाममा अराजकता पाइन्छ । अराजकता पनि यहाँसम्म पनि लोक तथा दोहोरी गीत प्रतिष्ठानले नै ‘बहिष्कार’सम्म गर्नुपर्ने ।

प्रवासमा रहेकी गायिका थापाले विगतमा बजारमा ल्याएका ‘हेरम्ला लालुमै’, जाउन है संगिनी’, ‘जँड्याहा पोइ’ र ‘बाबाले सारेको सुन्तलाको बिरुवा’लगायत चर्चामा रहेका मौलिक गीतहरू हुन् । यसका साथै शिव हमालको शब्दमा थापासहित गायिका शर्मिला गुरुङ र शीला आलेलगायतको गीतले पनि वर्तमान परिस्थितिलाई चित्रण गरेको छ ।

पछिल्लो समय बजारमा आएका गीतहरू रत्यौलीजस्ता भएकोले तीजको मौलिकता हराउँदै गएको गायिका थापाको गुनासो छ । ‘तीजमा गाइने गीतको आफ्नै मौलिकता र शब्दहरू हुन्छन्, तर पछिल्लो समय आउने गीतहरू तीजका जस्ता पनि हुँदैनन्, यसका लागि हामी सबै कलाकार सचेत हुनुपर्ने देखिन्छ,’ थापा भन्छिन् ।

गायिका विष्णु माझीका गीतहरूमा पनि मौलिकता पाइन्छ । यस वर्ष मात्र बजारमा आएको र छोटो समयमै चर्चामा रहेको ‘चरी जेलैमा’ बोलको गीतले मौलिकता झल्काएको छ । माझीका यसअघिका धेरै तीज गीतमा त्यस्तै मौलिकता पाइन्छ ।

पछिल्लो समय तीजका गीतबाटै लोकप्रिय हुने र चर्चा कमाउने नाममा विकृति ल्याउनु कदापि राम्रो होइन् । यसो भन्दै गर्दा पछिल्ला तीजमा मौलिकता हरायो, सबै गीत विकृतिउन्मुख भएका भने होइनन् । केही कलाकारका थोरै गीतले मात्र मौलिकता अपनाए पनि बाँकी देखावटी र लोकप्रिय हुने बहानामा विकृति बढेको भने पक्कै पनि हो ।

यसरी तीज गीतमा मौलिकता पस्किने गायिकाहरू र आम दर्शक स्रोताले पनि तीजका गीतमा मौलिकता, भाका र मन छुने शब्दको प्रयोग गरेका सिर्जनालाई प्रोत्साहन गर्ने र सर्जकहरूले पनि त्यसैअनुरूप आफ्ना सिर्जनालाई प्रोत्साहन र भड्किला गीतसंगीतलाई निरुत्साहन गर्ने हो भने पक्कै पनि तीजका गीतको मौलिकता कायमै राख्न सकिएला ।
 

प्रकाशित मिति: १०:३१ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्