Kathmandu Press

कसरी मनाउन थालियो कुशेऔंसी ? 

एउटी देह व्यापारी महिलाको पेटमा गर्भ बस्न गएछ । गर्भ कसको हो भन्ने उनी स्वयंलाई थाहा भएन । उनीबाट दन्तुर नामका छोरा जन्मिए । दन्तुरलाई पछि ब्रह्माले पिता चिनाइदिए । ब्रह्माले चिनाइदिएका पितालाई नै दन्तुरले कुश, तिल, जल राखी पिण्डदान गरे । उक्त दिन भाद्रकृष्ण औंसी थियो
कसरी मनाउन थालियो कुशेऔंसी ? 
Hardik ivfHardik ivf

बाबुको मुख हेर्ने औंसीलाई कुशे औंसी पनि भनिन्छ, किनभने यस दिन (भाद्र कृष्ण औंसी) श्राद्ध गर्न चाहिने पवित्र कुश गुरु पुरोहितहरूद्वारा पवित्र मन्त्रेर भित्र्याउने गरिन्छ । नेवारका साथै अन्य जातिले पनि आफूलाई जन्म दिने बाबुको दीर्घायुको कामना गर्दै उहाँबाट सुखद जीवनको निमित्त शुभ आशिर्वाद थाप्ने चलन छ ।

यसै औंसीलाई गोकर्ण औंसी पनि भनिन्छ । वागमतीको संगम तीर्थ गोकर्ण दोभानमा दिवंगत बाबुका नाममा छोराछोरीले सिदा दान गर्ने तथा श्राद्ध गर्छन् । गोकर्ण दोभानमा यस दिन मेला लाग्ने गर्दछ, जसमा विशेषतः बाबु नभएका मानिस जाने गर्छन् । घरको कुनै सदस्यको मृत्यु भएमा बौद्धमार्गीले मृत्यु हुनेको नाममा हरेक महिना विभिन्न तीर्थस्थल गई श्राद्ध गर्ने चलन छ । औंसीका दिन गोकर्ण तीर्थमा बाबुको अनुहार देखिन्छ भन्ने हिमवत खण्डको एउटा कथामा उल्लेख छ । 

कथा भन्छ– 

कुनै बेला एउटी देह व्यापारी महिलाको पेटमा गर्भ बस्न गएछ । गर्भ कसको हो भन्ने उनी स्वयंलाई थाहा भएन । ती महिलाले ‘दन्तुर’ नामको छोरालाई जन्म दिइन् । ठूलो भएपछि दन्तुरले ‘मेरो बुवा को हो ?’ भनी आमासँग सोधे । आमाले केही जवाफ दिन सकिनन् । पछि दन्तुर बाबुको खोजीमा निस्के । उनको भेट पुलह (पुलस्त्य) ऋषिसँग भयो । ती ऋषिले दन्तुरका पिता पत्ता लगाइदिन ब्रह्मासँग बिन्ती गरे । ब्रह्माले दन्तुरलाई तिम्रा पिता यिनी हुन् भनी चिनाइदिए । ब्रह्माले चिनाइदिएका पितालाई नै दन्तुरले कुश, तिल, जल राखी पिण्डदान गरे । उक्त पिण्डदान गरेको दिन भाद्रकृष्ण औँसी थियो । बाबु नहुनेहरूले त्यसै दिन गोकर्णेश्वर महादेवलाई पुजा गरी आफ्नो बाबुको नामबाट पिण्डदान दिने, श्राद्ध गर्ने, सिदादान गर्ने चलन छ । 

गोकर्णेश्वर महादेवको उत्पत्ति कसरी भयो भन्ने सन्दर्भमा पनि एउटा कथा प्रचलित छ । 

किराँतकालमा मानिसहरूको जीवनचर्या कस्तो छ भनी हेर्न मान्छेको रूप धारण गरी स्वर्गबाट महादेव आएछन् । र, पशुपतिको श्लेषमान्तक वनमा एकजना पुजारीको भेषमा बस्न थालेछन् । अर्जुनले महादेवलाई खोज्दै आउँदा श्लेषमान्तक वनमा पुजारीलाई फेला पारे । तर मनुष्य रूपमा रहेका महादेवले आफू महादेव हुँ भनेनन् । अर्जुनले बेग्लै प्रसंगमा किराँत राजालाई गाली गरे । यो सुनेर पुजारी र अर्जुनबीच झगडा परेछ । झगडा गर्दागर्दै सूर्य अस्ताउने बेला भएकाले अर्जुनले झगडा रोकेर महादेवको पूजा सुुरु गरेछन् । तर त्यस पूजामा महादेवलाई चढाएको फूल जति सबै उनै मनुष्यरूपी पुजारीमा चढ्न पुगेछ । यो देखेर अर्जुनले आफूसँग झगडा गर्ने व्यक्ति नै महादेव रहेछन् भनी थाहा पाए । पछि उनै महादेवलाई किरातेश्वर महादेव भन्न थालियो ।

गोकर्णेश्वर महादेवबारे अर्को कथा पनि छ । 

एक दिन महादेव कसैलाई थाहा नदिई स्वर्गबाट पृथ्वीलोकमा अवतरण भएर गोकर्णको जंगलमा एकसिंगे सुवर्ण मृगको रूप लिई अरु जनावरसँगै विचरण गर्न थाले । स्वर्गमा महादेवलाई नभेटाएपछि कहाँ गएछन् भनी पार्वती पृथ्वीको हिमवत खण्डस्थित वागमती किनारमा आइन् र तपस्या गर्न थालिन् । महादेव र पार्वती दुवै स्वर्गबाट हराएपछि उनीहरूको खोजी गर्न देवताहरूले ब्रह्मा, विष्णु र इन्द्रलाई बिन्ती गरे । त्यसपछि ती तीनजना देवता हिमवत खण्डमा महादेव–पार्वतीको खोजी गर्न निस्के । उनीहरूले गोकर्ण जंगलमा एउटा मात्र सिङ भएको सुनको हरिणलाई देखे । महादेव यिनै हुन् भनी ठम्याएर तीनैजनाले समाउन खोजे । तर उनीहरूको हातमा सिङ मात्र प¥यो, महादेव भने गायब भए । त्यो सिङ पनि तीन टुक्रा भएर तीनै जनाको हातमा एक एक टुक्रा पर्न गयो । त्यसैबेला अन्तध्र्यान भएका हरिणरूपी महादेवले आकाशवाणी गरे– तीन टुक्रा हुन गएको सिङमध्ये एउटा स्वर्गलोकमा, एउटा पृथ्वीमा र एउटा पाताललोकमा स्थापना गर्नू, तीनै लोकको रक्षा हुनेछ । 

त्यसपछि महादेवले तपस्यामा बसेकी पार्वतीलाई दर्शन दिए र दुवैजना स्वर्गतिरै लागे । त्यसरी महादेवबाट आकाशवाणी भएकाले विष्णुले पातालमा, इन्द्रले स्वर्गमा र ब्रह्माले पृथ्वी लोकको चन्द्रभागमा र वागमती नदीको दोभानमा सबैको भलो होस् भनी स्थापना गरिदिए । त्यही ठाउँमा शिवलिङ्गको उत्पत्ति भयो, जसलाई गोकर्णेश्वर महादेव भनी नामाकरण गरियो । 

एकपटक लङ्काबाट रावण गोकर्णमा आए । उनले तिनै लोकमा सबैभन्दा शक्तिशाली हुन पाउँ भनी महादेवको कठिन तपस्या गरे । उनको तपस्याबाट खुसी भई महादेवले रावणलाई सबैभन्दा शक्तिशाली भए भनी वरदान दिए। 

त्यस्तै, गोकर्ण औंसीका बारेमा संस्कृतिविद् पुण्यरत्न बज्राचार्यले आफ्नो पुस्तक ‘हाम्रो चाडपर्व’मा एउटा कथा उल्लेख गरेका छन् । कथा यस्तो छ–

प्राचीनकालमा पाञ्चाल देशमा वृषकर्ण नाम गरेका एक राजा थिए । उनीबाट गोकर्ण नाम गरेका एक छोरा भए । बाबुछोराको सधैं झगडा भइरहन्थ्यो । दुवैले दुवैलाई चाँडै मरोस् भनी सरापी रहन्थे । 

संयोग यस्तो प¥यो कि गोकर्ण बाबु वृषकर्णभन्दा पहिल्यै मरे । छोरा पहिले मरेकाले बाबुको मृत्युमा पिण्डदान दिने कोही भएन । बाबुको सरापले मरेको भएर गोकर्ण यमपुरीमा पुगेछन् । काजकिरिया गर्ने कोही नभएकाले बाबु पनि यमपुरीमै पुगे । एक दिन गोकर्ण यमपुरीमा घुमिरहँदा टाउको माथि चक्र घुमिरहेको एउटा पापीलाई देखेर भागेछन् । पछि गगनगञ्ज बोधिसत्वको आज्ञाले गोकर्णले आफ्नो बाबु वृषकर्णका नाममा पिण्डदान, जलदान गरे । गोकर्णको उक्त कार्यले वृषकर्ण अगतिबाट मुक्त भए । त्यसैले वृषकर्णले छोरालाई आशीर्वाद दिए । बाबुको आशीर्वादले छोरा पनि नर्कबाट मुक्त भए । गोकर्णले जुन ठाउँमा बसी जलदान पिण्डदान गरेका थिए, त्यही ठाउँको नाउँ पछि गोकर्ण रहन गयो । त्यसै बेलादेखि गोकर्ण तीर्थमा बाबुको नाममा जलदान पिण्डदान गरेमा मृतकको उद्धार भई स्वर्गमा बास हुने र सन्तानको पनि भलो हुने विश्वास रहन गयो । यसरी गोकर्णले बाबुलाई उद्धार गरेको दिन भाद्रकृष्ण औंसी थियो । 

(संस्कृतिविद् बज्राचार्यसँगको कुराकानीमा आधारित ।)
 

प्रकाशित मिति: १४:५६ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्