Kathmandu Press

राजस्थानको मरुभूमिमा इन्द्रेणी अर्थात् ‘धनक’

आफू हुर्की, बढेको धरातललाई नाघेर एक बालिका र बालक घरमा बनेको सुक्खा रोटी र दृढ निश्‍चयबाहेक केही साथमा नलिई अगाडि बढेका छन्, आफ्नो गन्तव्यतर्फ। शाहरुख खानलाई भेट्न वा भनौँ जीवनको अँध्यारोबाट उज्यालो ज्योति ‘धनक’ अर्थात् सप्तरंगी इन्द्रेणी हेर्न।
राजस्थानको मरुभूमिमा इन्द्रेणी अर्थात् ‘धनक’

काठमाडौं, भदौ १२ : हरेक दिन शाहरुख खान वा सलमान खानका फिल्महरूका कहानीबाट सुरु हुन्छ, ‘परी’ र ‘छोटु’को दैनिकी। स्कुल पुग्‍न तय गर्नुपर्ने बाटो उनीहरूका ‘फेभरेट हिरो’का फिल्मका कहानीले पूर्ण गराउँछन्। कहानी भन्‍ने आलोपालोको निधो भने ‘कोइन टस’ले गर्छ। ‘कोइन टस’को जिम्मा छोटुको हुन्छ।

फिल्ममा परीको पात्र रहेकी हेतल गडा दिदीको भूमिकामा छिन् भने क्रिस छब्रिया भाइ अर्थात् ‘छोटु’को। पढाइमा तेज, व्यावहारिक अनि भाइप्रति ‘प्रोटेक्टिभ’ छिन् उनी। बालसुलभ मस्तिष्‍कमा पनि भाइप्रतिको माया र दायित्वबोध यतिसम्म छ कि उनी दुई कक्षा जानीजानी फेल भएर भाइसँगै एउटै कक्षामा बस्छिन्।

यता आठ वर्ष पुगेको छोटु आँखा देख्‍न सक्दैन। बाल्यावस्थामा आवश्यक पोषण नपुगेर उसले सानैमा आँखाको ज्योति गुमाएको छ। सँगै उनीहरू अनाथ पनि हुन्। काकाकाकीले उनीहरूलाई पालिरहेका छन्।

फिल्मकी प्रमुख पात्र परी हुन्, जसको एक मात्र सपना छ- उनको भाइको गुमेको ज्योति फर्काउने। त्यसका लागि उनको एक मात्र विकल्पमा छन्, शाहरुख खान। माया गर्ने काका दुंगराम र छुच्ची काकी गोवरीबीचको स्‍नेह र अवहेलनाको अन्तरद्वन्द्वमा यी दिदीभाइको बालापन हुर्किरहेको हुन्छ। छोटुको उपचारका लागि पैसा जम्मा गर्ने तरखरमा रहेका दुंगराजलाई उनकी श्रीमती तथा बाल पात्रकी काकी गोवरीबाट भने उपचारका लागि रोक नै रहन्छ। काका दुंगरामले लुकाइरहेको यस विषयबारे परी जानकार छिन्।

कहानीले गति त्यस समय लिन्छ, जब काका दुंगरामले परी र छोटुलाई फिल्म देखाउन जाने क्रममा उनले शाहरुख खानको तस्बिरसहितको आँखाको उपचारसम्बन्धी पोस्टर फेला पार्छिन्। उनले शाहरुख खानलाई चिठी लेख्छिन्, सोही पोस्टरको आधारमा। र, पुर्‍याउँछिन्  नजिकको हुलाकीलाई। तर, चिठ्ठी कहिल्यै नपुगेको पत्तो उनले तब पाउँछिन्, जब उनले ती सारा चिठ्ठी उनको काकाको सन्दुकमा भेट्टाउँछिन्। परीको आशाको किरण विस्तारै निभ्न थाल्छ।

उनीजस्तै शाहरुख खानका फ्यान हुन्छन्, गाउँका गर्दोपन्‍ना काका। र, उनीमार्फत राजस्थानबाट करिब तीन सय किलोमिटर टाढाको जैसलमेरमा शाहरुख खान सुटिङको लागि आएको जानकारी पाउँछिन्। उनले त्यो कुरा काकालाई बताउँछिन्। तर, यस विषयमा काका पनि सहमत हुन सक्दैनन्। सोही रात उनी आफ्नो छोटुलाई लिएर जैसलमेरका लागि हिँड्छिन्, निस्पट्ट अध्याँरो रातमा।

आफू हुर्की, बढेको धरातललाई नाघेर एक बालिका र बालक घरमा बनेको सुक्खा रोटी र दृढ निश्‍चयबाहेक केही साथमा नलिई अगाडि बढेका छन्, आफ्नो गन्तव्यतर्फ। शाहरुख खानलाई भेट्न वा भनौँ जीवनको अँध्यारोबाट उज्यालो ज्योति ‘धनक’ अर्थात् सप्तरंगी इन्दे्रणी हेर्न।

‘धनक’ के हो वा कस्तो फिल्म हो भन्दा पनि के होइन भन्‍ने प्रश्‍न मनमा उब्जिन्छ। फिल्म यात्रामय छ, सांगीतिक माधुर्यले भरिपूर्ण छ, पात्रको छनोट उत्कृष्‍ट छ र सबैभन्दा महत्त्वपूर्ण विषय फिल्ममा देखिने सपना पूरा गरेरै छाड्ने अठोट छ। सिनेमा हेर्ने क्रममा नेपाली आध्यानकार सुविन भट्टराईको भनाइ याद आउँछ- देखिने सपना नै साकार हुन्छन्, नदेखिएको सपनाको आकार हुँदैन।

‘धनक’ यात्राकेन्द्रित सांगीतिक फिल्म पनि हो। ‘जर्नी मुभी’ अर्थात् यात्राकेन्द्रित फिल्म प्रायः सुन्दर नै हुन्छन्। यसप्रकारका फिल्म एकै परिवेश र वातावरणको स्थिरताको परिधिबाट फुक्का हुन्छन्। साथमा हुन्छ, कर्णप्रिय संगीत। ‘दिल चाहाता हे’, ‘जिन्दगी नामिलेगी दोबारा’ यस्तै यात्राकेन्द्रित फिल्म हुन्, जसमा संगीतले सुनमा सुगन्ध थप्छ। ठूला कलाकारहरूले अभिनय गरेका यी दुई ‘जर्नी मुभी’लाई माथ दिने यात्रा, संगीत र कलाको प्रस्तुति ‘धनक’मा बेजोड पाइन्छ।

फिल्ममा निडर, हक्की, कडा मिजास, रिसालु स्वभावमा उतारिएको छोटु आफ्नी दिदी परीको कुरालाई भने नकार्न सक्दैन। उसका लागि उसकी दिदी नै उसको संसार हुन्। अपांगता भए पनि छोटुको आवाजमा निकै दम हुन्छ, जसका कारण यात्राको समय सुमधुर तथा बाटोमा भेटिने विभिन्‍न पात्रसँग ‘कनेक्ट’ हुन उनीहरूलाई सहज हुन्छ। नचिनेको खैरेसँग चकलेट माग्नु, सहयोगी भाव राख्‍नु उनको बालसुलभतामा झल्किन्छ। जुन विषयमा परी आफ्नो ‘प्रोटेक्टिभ नेचर’का कारण फेल वा भनौँ छोटुभन्दा पछि पर्छिन्।

व्यवहारको बोझ हुँदाहुँदै पनि दिदीभाइमा हुने नोकझोकको कमी फिल्ममा गराइएको छैन। जसले आम दिदीभाइ, दाजुबहिनीमा हुने झगडा, मतभेदलाई सुन्दर रूपमा पस्किएको छ। फिल्मको गाम्भीर्य सजीव पार्न यस्ता विषयमा नजरअन्दाज गरिएको छैन। कतिपय स्थानमा खित्का छाडेर हँसाउने दृश्य र पन्चलाइन पनि छन्।

फिल्म हेरुन्जेल रोनाधोनाभन्दा पनि हार नमान्‍न र आशावादी रहन ऊर्जा दिन्छन्, यी दुई पात्रले।

राजस्थानको एक गाउँले परिवेशबाट सुरु हुने फिल्म ‘धनक’ले भारतीयहरूको फिल्मप्रतिको मोहलाई पनि दर्र्शाएको छ। सलमान खानको ब्रासलेटको नक्कल छोटुले आफ्नो हातमा पनि उतारेको छ। भारतीयमा रहेको सोही फिल्मीपना परी र छोटुमा हुनु स्वाभाविकै मान्‍न सकिन्छ।

अक्सर हिन्दी फिल्म संयोगान्त नै हुने गर्छन्। तथापि, वियोगान्त फिल्मलाई बढी दमदार मान्‍ने दर्शक पनि प्रशस्त छन्। ‘धनक’ले आम बलिउड फिल्मझैँ संयोगान्त कथावस्तुलाई पछ्याएको छ। दिदीभाइको सपना पूरा भएरै छाड्छ। सपना साकार बनाउन जतिसुकै दुःख र भोगाइलाई सामना गर्न डराउन पनि हुँदैन भन्‍ने सन्देश यस फिल्मले दिन्छ। यात्राको क्रममा यी दुई पात्रले कतिपय स्थानमा सहयोगी हातको साथ पाउँछन् त कतिपय स्थानमा बालबालिका तस्करसँग पनि सामना गर्नुपर्छ।

म्याजिकल रियालिजम : लोक तथा परीका कथाको तत्त्व

बालबालिकाको फिल्म भएका कारण बालबालिकाकेन्द्रित फिल्ममा हुनुपर्ने तत्त्वलाई विशेष प्राथमिकता दिइएको छ। बालसुलभ मस्तिष्‍कले कल्पना गर्ने जादु, परी तथा दैवी शक्तिप्रतिको आशक्तिलाई फिल्ममा उतारिएको छ।

ठेट शब्दमा भन्‍नुपर्दा ‘म्याजिकल रियालिजम’को थोरै छनक पाइन्छ। ‘म्याजिकल रियालिजम’ अर्थात् ‘अक्जिमोरिन’, अर्थात् ‘दुई विपरीत शब्द र अवस्थाकोे संयोजन’। उदाहरणका लागि ‘सुन्दर कुरूप’। ‘म्याजिकल रियालिजम’ले यथार्थ घटनापरक जीवनमा थोरै जादु वा दैवी शक्तिको भूमिकालाई स्थान दिएको हुन्छ।

ग्रिम ब्रदर्सको  बालकथा ‘ह्यान्सल एन्ड ग्रेटल’को प्रसंगसँग जोड्न सकिने केही प्रसंग यस फिल्ममा पनि छन्। जहाँ ह्यान्सल र ग्रेटल चकलेटले बनेको क्यान्डीमा लोभिँदा बोक्सीको फन्दामा पर्छन् भने यस फिल्ममा बाल तस्करहरूले दिएका मीठा खानेकुरा खाँदा उनीहरू बेहोस हुन्छन् । र, उनीहरू माथि खतरा मडारिन्छ।

फिल्ममा जब परी र छोटु बालबालिका तस्करको जालमा फसेका हुन्छन्, तब एक हतियारधारी महिलाले उनीहरूलाई बचाउँछिन्। ती महिलाका अनुसार उनको समूहकी गुरुआमा जो भविष्‍य देख्‍न सक्ने हुन्छिन्, उनीबाट ती बच्चाहरूलाई बचाउन निर्देशन भएको हुन्छ।

यसैगरी, फिल्मलाई ‘फेरी टेल्स’ अर्थात् परीलोकका कथासँग पनि जोड्न मिल्छ। परीलोकका कथामा आधारित एल फ्रयान्क बाउमद्वारा लिखित बाल नाटक ‘द वन्डरफुल विजाड अफ अज’को थोरै आभास पाइन्छ। बालबालिकाकेन्द्रित लोक तथा दन्त्य कथाको आधुनिक छनक पनि यसमा पाइन्छ।

‘द वन्डरफुल विजाड अफ अज’ बाल नाटकमा जसरी डोरोथीलाई आफ्नो घर फर्किनका लागि तय गर्नुपर्ने कठिन यात्रामा बाधा-व्यवधान सामना गर्न ‘ब्युटीफुल सोल’हरूको साथ मिल्छ, परी र छोटुको यात्रामा पनि यस्ता विविध पात्र छन्, जसबिना यी दुईको यात्रा सफल हुन सक्दैनथ्यो।

हरेक बालकथा, फिल्म वा नाटकको अन्त्य ‘ब्याक टु होम’, ‘होम स्विट होम’को अवधारणामा आधारित हुन्छ। अझ सरल भाषामा भन्‍नुपर्दा बालबालिका दिनभर जति नै प्यारो साथी वा सुन्दर ठाउँमा मस्ती गरे पनि अन्तिममा उनीहरूका लागि घर नै प्यारो हुन्छ। उनीहरू घरको आवश्यकता महसुस गर्छन्। यो फिल्मको अन्त्यमा पनि घर छोडेर हिँडेका यी बाल पात्र पुनः घरको महत्त्व बुझेर फर्किन्छन्। परी र छोटु पनि अन्ततः आफ्ना काकाकाकीसँगै घर फर्किन छन्।

‘डोर’ र ‘इकबाल’जस्ता सफल फिल्मका निर्देशक नगेश कुकुनरको यस फिल्मले भारतको ६४औँ उत्कृष्‍ट राष्‍ट्रिय बाल चलचिलको पुरस्कार जितेको छ। अन्य फिल्म फेस्टिभलमा पनि यसको वर्चस्व उच्च छ। आईएमडीबी रेटिङमा पनि पूर्णांक १० मा सात दशमलव नौ रेट पाएको छ।

फिल्म ‘धनक’ सन् २०१५ मा रिलिज भएको थियो। राम्रो कथावस्तु हुँदा पनि यस फिल्मले हलमा भने तहल्का मच्चाउन सकेन। यद्यपि, चलचित्र समालोचनबाट भने राम्रो प्रतिक्रिया पाएको थियो।

बुर्जवा समाजको बर्चस्व

‘पाताललोक’ नामक एक हिन्दी सिरिजमा एउटा वाद प्रस्तुत गरिएको छ- स्वर्ग लोकमा कथित बुर्जुवा वर्ग हुन्छन्, जसमा सेलेब्रिटी, राजनीतिज्ञ र धनाढ्य बस्छन्। मत्र्यलोकमा मध्यम वर्ग र पाताल लोकमा परी र छोटुजस्ता निम्‍न वर्ग पात्र जसलाई साँझबिहान हातमुख जोर्न मुस्किल छ।

यसरी हेर्दा निम्‍न वर्गका मानिसहरू सदैव बुर्जुवा वर्गसँग आश्रित रहन्छन्। उनीहरूलाई सहायताको आशा रहन्छ। फिल्मको सम्पूर्ण पक्ष उचितलाग्दा के सेलेब्रिटी वा कथित बुर्जुवा वर्ग नै, निम्‍न वर्गका मानिसहरूको जीवन निधारण गर्ने डोर हुन् त भन्‍ने प्रश्‍न पनि मनमा उब्जिन्छ। सेलेब्रिटीलाई गरिएको देवत्वकरणलाई कुन हदसम्म लैजाने भन्‍ने यक्ष प्रश्‍न पनि छँदैछ।

अब्बल सिनेम्याटोग्राफी र निर्देशन

फिल्मको सिनेम्याट्रोग्राफी अर्को अब्बल पक्ष हो। राजस्थानको मरुभूमिमा गरिएको छायांकन यथार्थपरक छ। राजस्थानी संस्कृति र भेषभुषाको प्रस्तुतीकरण तारिफयोग्य छ। फिल्ममा बाल कलाकारको अभिनय र प्राकृतिक प्रस्तुतिका लागि निर्देशकको लगन र धैर्यको तारिफ गर्नैपर्छ।

फिल्मको सबैभन्दा बलियो पक्ष भनेकै चयन भएका पात्र हुन्। निर्देशकले चयन गरेका पात्रको अभिनय अप्राकृतिक लाग्दैन। परी र छोटु पात्रलाई हेतल गडा र क्रिस छब्रियाले जीवन्त अभिनयमार्फत उतारेका छन्।

माथि उल्लेख गरेजस्तै यात्राकेन्द्रित फिल्मको सबैभन्दा बलियो पक्ष संगीत हो। र, ‘धनक’ पनि यसमा पछि परेको छैन। राजस्थानी लोक धुन र अंग्रेजी फ्युजनलाई पहिल्याएको यस फिल्मको संगीतले दर्शकलाई मन्त्रमुग्ध पार्छ।

कथामा आफ्नो आमाबुवा नहुँदा कसरी अनाथ तुल्याएका दिदीभाइ, दाजुबहिनी नै एक अर्काको सहारा बन्छन् भन्‍ने पनि दर्साउन खोजिएको छ। ‘रिल लाइफ’मा देखिने यी भोगाइ रियल लाइफमा पनि धेरैका लागि आफ्नै कथाजसरी मिल्दोजुल्दो देखिन्छ।

छोटुको आँखाको ज्योति फर्काउने परीको चाहना कसरी पूरा हुन्छ ? शाहरुख खानसँग  उनको भेट हुन्छ वा हुँदैन ? के शाहरुख खानले नै छोटुको आँखाको उपचार गरेका हुन् ? यी सबै प्रश्‍नको जवाफ निर्देशक नगेश कुकुनुरले दर्शकमाझ ओपन इन्डिङका साथ छोडिदिएका छन्।

फिल्ममा छोटु सलमान खानका ठूला फ्यान छन् भने परी शाहरुख खानको। यद्यपि,  फिल्ममा शाहरुख खानले गरेको सहयोगले कतै सलमानभन्दा शाहरुख ठूला मनकारी त होइनन् भन्‍ने तर्क नआउला भन्‍न सकिँदैन।

प्रकाशित मिति: १७:२२ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्