Kathmandu Press

विछोडको करौँतीमा एमाले

३१ वर्षदेखि लोकतान्त्रिक अभ्यासमा रहेको एमाले विभाजनबाट तल्ला तहका कार्यकर्ताको मन विछोडको करौँतीले काटेको छ। जीवनको एउटा कालखण्ड सँगै बिताएका कार्यकर्ताको जसका कारणले होस् पार्टी विभाजनबाट खुशी देखिँदैन।
विछोडको करौँतीमा एमाले
Hardik ivfHardik ivf

काठमाडौं, भदौ १० : ‘विछोडको करौँतीले काट्नुु मनै काट्यो, जाँदाजाँदै मुलबाटोको दुइटा बाटो फाट्यो। एउटा बाटो परदेश अर्को घरदेश, परदेशी र घरदेशीको कहिले होला भेट ?’ अर्थात्, ‘थाहै हुन्न कुन बाटोले कता, कुन मोडमा लान्छ, सुखका दिन आउने हुन् कि भीरतिर तान्छ।’

एमालेजनका लागि एमाले के थियो÷हो ? जवाफ सरल छ– पार्टी नै जीवन, पार्टी नै जीवनशैली। पार्टीलाई नै आफ्नो जीवन पद्दति बनाएका एमालेजनमा विभाजनको यो पीडा पक्कै असह्य छ। जस्तो– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १४ अगस्टमा भारत–पाकिस्तान विभाजनको पीडा यसरी पोखेका थिए– ‘देश विभाजनको पीडा कहिल्यै भुल्न सकिँदैन। घृणा र हिंसाको चक्रमा परेर हाम्रा लाखौँ दाजुभाइ, दिदीबहिनीले विस्थापित हुनुप¥यो, ज्यान गुमाउनुप¥यो। उनीहरूको संघर्ष र बलिदानको स्मृतिमा १४ अगस्टमा ‘विभाजन विभिषिका स्मृति दिवस’का रूपमा मनाउँदै छौँ।’

एमालेजनका लागि उनीहरूको पार्टी पनि देशजत्तिकै ठूलो छ। जुन अहिले विभाजित भएको छ र एमालेजनका लागि पनि पार्टी विभाजनको यो क्षण विभिषिका बनेर आएको छ। इतिहासमा कहिल्यै नमेटिने दागको रूपमा यो क्षण उनीहरूको स्मरणमा रहनेछ। किनकि, एमाले कार्यकर्तामा आधारित पार्टी भएकाले ती कार्यकर्ताका लागि एमाले देशजत्तिकै प्रिय हुने नै भयो। लालगोपाल सुवेदीका शब्द तथा प्रशान्त तामाङ र स्मृति शाहीको स्वर रहेको माथिको गीत कर्णप्रिय छ। तथापि, यसले विरहका वेदना कहन्छ। यस्तै अवस्थामा छ, संघीय संसद्को प्रमुख विपक्षी दल एमाले पनि।

सामाजिक सञ्जालमा व्यक्त विचार नियाल्दा कतिपयलाई एमाले विभाजन ‘कर्णप्रिय’ लागेजस्तो भान हुन्छ। यथार्थमा भने पार्टी स्थापनाको ३१ वर्षयताकै सर्वाधिक संकटमा छ, एमाले। र, दोस्रोपटक विभाजनको विरहमा छन्, एमालेजन। पुस ०४७ मा तत्कालीन नेकपा (माक्र्सवादी) र नेकपा (माले) एकीकरण भएर बनेको एमाले ०५४ सालमा पहिलोपटक विभाजित भएको थियो। यसबीचमा पार्टीमा विधि र पद्दतिमा अगाडि बढाउँदै बलियो सांगठनिक आधार तयार पारेका माधवकुमार नेपाल र झलनाथ खनाललगायत नेता एमालेबाट बिदा भएका छन् र नेकपा (एकीकृत समाजवादी) नाममा नयाँ दल गठन भएको छ। अनि लामो समय पार्टीभित्र प्रतिपक्षी भूमिकामा देखिँदै आएका केपी ओलीको एकल नेतृत्व कायम भएको छ, एमालेमा।

हुन सक्छ, पार्टी एकता नचाहने नेता–कार्यकर्ता दुवैतर्फ होलान्। तथापि, ती त्यस्ता नेता–कार्यकर्ता हुन्, जसले ३१ वर्षसम्म सँगै खाए, सँगै जीवन बिताए। दुवैथरिमा एकअर्काप्रतिको अगाध माया र अपनत्व गाँसिएको छ। एमालेमै रहेकाहरूसँग सोधे पनि या एकीकृत समाजवादीमा गएकाहरूसँग संवाद गरे पनि मनको भित्री कुनामा पार्टी विभाजनको विरह गाँठो परेको पाइन्छ। फरक यति हो– कसैले विरह फुकाएका छन्, कसैले मनभित्रै सँगालेका छन्।

विभाजनमा दम्भको तोड

विछोडको यो करौँतीले दुवैतर्फका नेता–कार्यकर्ताको मन काटेको छ। र, मुलबाटोमा हिँडिरहेका उनीहरूको बाटो छुट्टिएको छ। कोही परदेशी बनेका छन्, कोही घरदेशी। सायद ! डाँडापारिको बाटोमा उनीहरूको मिलन होला पनि या कहिल्यै नभेटिने गरी दुईवटा बाटो समानान्तर बन्दै अगाडि बढिरहलान्। जे होला, एकदिन देखिने नै छ।

एमाले ०५४ मा विभाजित भएपछि अहिले एकाएक पार्टी विभाजनको अवस्था आएको भने होइन। अहिलेको विभाजनसम्म आइपुग्नुका पछाडि पार्टीभित्र धेरै उत्तरचढाव जिम्मेवारी छन्। केही पात्र र प्रवृत्तिहरू छन् ,जो कहिल्यै परिवर्तन हुन चाहेनन्, या परिवर्तन हुन आवश्यक ठानेनन्। लाखौँ युवाको भरोसा गाँसिएको एमालेमा व्यक्तिको नितान्त स्वार्थ समाहित गरी बारम्बार पार्टी नेता–कार्यकर्ताको धैर्यको परीक्षा लिँदै एकपछि अर्को गलत निर्णय भइरहे।

३ जेठ ०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता घोषणालाई पार्टी अध्यक्ष केपी ओलीको निर्णयबमोजिम सबै सदस्यले स्वीकारे। त्यसअघि १७ असोज ०७४ मा गठबन्धन बनाएर चुनाव लड्ने सहमतिमा पनि कसैले दोहोरो प्रश्न गरेनन्। कारण– पार्टी अध्यक्षप्रति नेता–कार्यकर्ताको आशा अनि भरोसा गाँसिएको थियो। ०७४ सालको आम निर्वाचनमा दुईवटा पार्टीबीच भएको चुनावी तालमेलकै कारण झण्डै दुई तिहाइ बहुमत पाएपछिको ६ महिनापछि नेकपा गठन भयो। त्यसलाई केपी ओलीले अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूअनुकुल प्रयोग गर्न खोजे।

५ पुस ०७७ मा नेकपा अध्यक्ष ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा विभाजनको शृंखला सुरु भयो। त्यसैको परिणति हो, अहिले एमालेबाट विभाजित बनेर नेकपा (एकीकृति समाजवादी) बन्नु पनि। २३ फागुन ०७७ मा सर्वोच्च अदालतको फैसलाबाट तत्कालीन नेकपाको दर्ता खारेज भयो। अनि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए। त्यससँगै एमालेभित्र सुरु भयो, विवादको शृंखला।

विस्मृतिमा गइसकेका एमाले र माओवादी केन्द्र सर्वोच्चको सोहीपछि पुनः ब्युँतिए। माओवादी केन्द्र आफ्नो सँगठन सुदृणीकरणमा लाग्यो, एमाले भने करिब ६ महिनासम्म विवादकै कुहिरोमा रुमल्लिइरह्यो। त्यही कुहिरो फाटेको छ र एमालेमा तीन दशक पसिना बगाएका एकथरि नेता पार्टीबाट बाहिरिएका छन्।

यसबीचमा अध्यक्ष ओलीको कार्यशैलीसँग असन्तुष्ट वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको समूहले उनीविरुद्ध विद्रोह गर्दै समानान्तर कमिटी गठन गरिरहे। सोही कारण एमालेमा माथिदेखि तलैसम्म चिरा प¥यो।

नेपाल र ओलीबीचको दरारले टालिने कुनै अस्त्र फेला परेन। त्यसैले पार्टीले विभाजनको मोड लियो। वैचारिक रूपमा ओली र नेपाल समूहबीचको टकरावले एमालेभित्र समानान्तर गतिविधि तीव्र गतिमा भयो। समानान्तर गतिविधिमा माधव नेपालसँगै रहेका अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम रावल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेता पनि साथमा थिए। नयाँ पार्टी गठनमा भने उनीहरूले साथ दिएनन्, ओली नेतृत्वको एमालेमै रहे।

खासमा, एमाले कार्यकर्ता र नेताहरूका लागि मात्र एउटा पार्टी वा सँगठन नभएर जीवनशैली हो। एमालेसँग जोडिएको आत्मीयता र भावनासँग केन्द्रीय तहका नेता, कार्यकर्ताभन्दा मोफसलमा रही पार्टीमा श्रम र जीवन नै लगानी गरेका कार्यकर्ताहरूलाई एमाले विभाजनले ठूलो धक्का लागेको छ। माथिल्लो तहबाट आउने निर्णयले वर्षौँको लगानी र योगदानको कुनै मूल्यांकनबिना गरिएका यस्ता निर्णयले मोफसलका अधिकांश कार्यकर्तामा पार्टीप्रति नैराश्य सिर्जना हुनुु स्वाभाविक हो।

नयाँ पार्टी गठनले थप ऊर्जा

एमाले विभाजित हुनुमा दोषी पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित भएर आएका अध्यक्ष ओली रहेको नेता निरा जैरू बताउँछिन्। ओली कुनै पनि तरिकाले कम्युनिस्ट आचरणमा नरहेको उनको भनाइ छ। नेकपाको एकता, नेकपा नेतृत्वको सरकार, कूटनीतिक मर्यादाविपरीत मध्यरातमा विदेशी जासुस प्रमुखलाई भेट्नुलगायत आचरणले सिँगो कम्युनिस्ट आन्दोलन र एमालेजनलाई आघात पुगेको उनी बताउँछिन्।

नेपाल कम्युनिस्ट पार्टी स्थापनादेखि नै पुष्पलाल श्रेष्ठ, तुल्सीलाल अमात्य, मनमोहन अधिकारी, मदन भण्डारीसम्मले आन्दोलन अगाडि बढाउन दिएको योगदानको प्रतिफल एमाले भएको उनको विश्लेषण छ। विभाजनको पीडाबाट गुज्रिएको एमालेका लागि आगामी यात्रा सहज नरहेको उनको बुझाइ छ।

एमालेलाई विधि र पद्दतिमा हिँडाउन योगदान दिएका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल खडा हुनु नै एमालेका लागि ठूलो चुनौती रहेको उनी बताउँछिन्। ‘स्वर्गीय मदन भण्डारीले जनताको बहुदलीय जनवाद जतिबेला प्रतिपादन गर्नुभयो, विश्वमै कम्युनिस्ट पार्टीहरू अलिअलि हल्लिएको अवस्थामा जनताले आत्मसात गरेको सिँगो एमाले पार्टीको संरचनालाई भत्काएर रातारात ओली दम्भले नेकपा बनाउँदा पनि हामीले स्वीकार्यौँ,’ उनी भन्छिन्, ‘किनकि, कम्युनिस्ट पार्टी एमालेभित्र केन्द्रको नेतृत्वलाई स्वीकार्ने प्रणाली छ, त्यही आचरणलाई हामीले अंगिकार गरेर आयौँ।’

नेकपा गठनपछि देशमा पहिलो संघीयताको अभ्यासमा भइरहँदा कम्युनिस्ट पार्टीले दुई तिहाइ नजिक मत पाउनु सामान्य नरहेको उनको ठहर छ। भारत पश्चिमबंगालमा जसरी कम्युनिस्टलाई पतन गरियो नेपालमा भने कम्युनिस्टको सुनौलो र समृद्ध भविष्य रहे पनि खराब प्रवृत्तीका ओलीका कारण कम्युनिस्टप्रति नै प्रश्न खडा भएको उनी बताउँछिन्। ००७, ०१७, ०४७ हुँदै ०६३ को अन्तरिम संविधान अनि ३ असोज ०७२ मा एमालेसहितको नेतृत्वमा जनअनुमोदित संविधानसभाबाट संविधान जारी हुनु असामान्य उपलब्धीका रूपमा उनी व्याख्या गर्छिन्। तर, संविधान कार्यान्वयनका बेला आफूखुशी र आफूअनुकुल व्याख्या गरी एमाले अध्यक्ष ओलीले गलत ढंगले प्रयोग गरेको उनी उल्लेख गर्छिन्।

ओलीले दक्षिणपन्थको शरणमा लम्पसार बनेर नेपालको संविधान, संघीयता र लोकतन्त्रकै धज्जी उडाएका कारण एमाले विभाजित हुने अवस्था आएको उनी बताउँछिन्।

डिग्री हातमा लिएर खाडी मुलुकमा रगत र पसिना बगाएका युवाका लागि योजना र कार्यक्रम एवं देशको प्राकृतिक स्रोत, कृषि र जलस्रोतको उपभोग गर्दै नेपाली जनतालाई समृद्ध बनाउने कार्यदिशा लिनुपर्नेमा एमाले अध्यक्ष ओलीले राप्रपा अध्यक्ष कमल थापाको पथ पछ्याएको उनको आरोप छ।

‘फुट्नुमा भन्दा जुट्नुमै ताकत छ। तर, ओलीको एकलौटी दम्भबाट शासित हुनुभन्दा छुट्टिएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफ्नो समय, श्रम, विवेक लगानी गर्न उपयुक्त ठान्यौँ,’ उनी भन्छिन्, ‘००६ सालमा कम्युनिस्ट पार्टी दर्ता भएको थियो, जतिबेला कम्युनिस्ट हुनु अपराधीसरह सजायको भागिदार बनाइन्थ्यो। त्यतिबेला त कम्युनिस्टमा ऊर्जा र उत्साह थियो भने अहिले पार्टी दर्तापछि नयाँ जोश, जाँगरका साथ समग्र कम्युनिस्टलाई एकीकृत गर्ने सोचका साथ नयाँ पार्टी निर्माणमा उत्साही छौँ।’

जनअपेक्षा पूरा नहुँदा नयाँ पार्टी गठन

‘एमाले विभाजित भई नयाँ पार्टी गठनले एमालेको विरासद बोकेका सामान्य कार्यकर्ताको मन अवश्य दुःखेको छ,’ नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरी भन्छन्, ‘कम्युनिस्ट आन्दोलनमा लाग्नु भनेको नेपाली जनताका दुःख र समस्याहरू सम्बोधन गर्नु हो। तर, सत्य के हो भने केपी ओलीको कम्युनिस्ट सरकारले त्यसमा खास चासो दिएन।’ नेपाली समाजमा विद्यमान विभाजनहरू (जातीय, भौगोलिक, आर्थिक, सामाजिक विभेद) समाप्त पारी नेपाली जनताले समृद्ध जीवनयापन गर्न पाउलान् भनी कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनाएको उनी बताउँछन्। भन्छन्, ‘तर, जुन उद्देश्यले कम्युनिस्ट पार्टीको सरकार निर्माण गरेका थियौँ, जुन अपेक्षा र विश्वासका साथ जनताले भोट हालेका थिए, ओलीको नेतृत्वको सरकारले कुनै पनि उद्देश्य सम्बोधन गरेन।’

ओली नेतृत्वको सरकारले निम्नस्तरको जीवनशैली र पिँधमा पारिएका जनताका लागि उपलब्धीमूलक काम नगरेको उनको तर्क छ। ‘राज्यका सुख, सुविधा र अवसरबाट वञ्चित गरिएका समुदाय, जसको आर्थिक, सामाजिक र राजनीतिक पहुँच छैन, त्यस्तो समुदायको जीवनस्तमा निहित रहेर कुनै पनि काम गर्न सकेन,’ उनी भन्छन्। ओलीको एकलौटी निर्णय, प्रतिनिधिसभा भंग गर्ने असंवैधानिक कदम, कानून र प्रणालीलाई नै समाप्त गर्ने व्यवहार र दम्भले समग्र नेपालको कम्युनिस्ट आन्दोलनमाथि नै प्रश्न उठेको उनी बताउँछन्। र, उनका कारण नेपालको कम्युनिस्ट आन्दोलन नै विसर्जन हुने अवस्थामा रहेको उनको तर्क छ। ‘एमालेभित्र हावी भएको ओली प्रवृत्ति कि हटाउनु प¥यो कि नयाँ पार्टी गठन गर्नुप¥यो। नयाँ पार्टी स्थापना नै निष्कर्ष बन्यो,’ चौधरी भन्छन्।

नेपालको कम्युनिस्ट आन्दोलनलाई बुझेको र विश्लेषण गर्न सक्ने तप्का नयाँ पार्टी स्थापनाबाट खुशी भएको उनको दाबी छ। ‘एमाले पार्टीसँग मात्र अपनत्व राख्ने, एमालेको कम्युनिस्ट विचारलाई भन्दा पनि पार्टीलाई मात्र बिरासत ठान्ने कार्यकर्ता र नेता भने दुःखी छन्,’ उनी भन्छन्, ‘केपी ओलीको नाम भजाएर लुट्ने, सम्पत्ति थुपार्ने होडमा रहेकाहरू, चाकडीमा प्रगति देख्नेहरू भने पार्टी विभाजनबाट खुशी छन्।’

तथापि, पार्टी विभाजन र निर्माणको शृंखलालाई सामान्य तरिकाले बुझ्नुपर्ने उनको मत छ।  एमालेलाई यहाँसम्म ल्याउनका लागि कैयौँपटक कम्युनिस्ट पार्टीहरू विभाजित भएको उनी उल्लेख गर्छन्। भन्छन्, ‘एमाले विभाजनले एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने र देशका अन्य सबै कम्युनिस्ट पार्टीहरूबीच एकता कायम गरी अझ शक्तिशाली बनाउने उद्देश्यका साथ गठन भएको हो।’

उनको विश्लेषणमा विगतमा नेताहरू पार्टीबाट निस्कने र फर्किने शृंखलाका पछाडि कुनै निश्चित योजना देखिँदैनथ्यो। ‘तर, एमालेबाट छुट्टिएर नयाँ पार्टी गठन गर्नुका पछाडि सबै कम्युनिस्ट पार्टीबीच एकता गर्ने लक्ष्य अन्तर्निहित छ,’ उनी भन्छन्, ‘ओली दम्भले उत्पन्न कम्युनिस्ट पार्टीप्रतिको वितृष्णा एकीकृत समाजवादी पार्टीले हटाउने अपेक्षासहित उत्साहित छौँ।’

‘व्यक्तिका कारण होइन, पार्टीको विचारले मुल पार्टीमै छौँ’

५ पुस ०७७ को प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमै गएर बहस गरे, तत्कालीन नेकपा सांसद कृष्णभक्त पोखरेलले। तर, २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि उनी एमालेमै बसे। एमाले कसैले फुटाउन चाहेर फुट्ने पार्टी नभएको र यससँग विशाल जनमत भएको रहेको उनको तर्क छ। ‘केही नेताले जबर्जस्त रूपमा वैधानिक व्यवस्था मिलाएर, संवैधानिक ढंगले कानून संशोधन गरेर अमुक दल गठन गर्लान्,’ उनी भन्छन्, ‘तर, तल्लो तहका लाखौँ लाख कार्यकर्ताहरू विभाजनको  पक्षमा छैनन््।’

एमालेसँग मितव्ययी भएका नेता–कार्यकर्ताहरू व्यक्ति हेरेर कम्युनिस्ट पार्टीमा नलागेको उनको तर्क छ। श्रमजीवि जनताको मुक्तिका खातिर कम्युनिस्ट पार्टीमा लागेको उनी बताउँछन्। भन्छन्, ‘सन् १९९० को दशकमा चारैतिर बादल मडारिएको बेला विचारको प्रकाशमा कम्युनिस्ट पार्टी आज यो तहमा आएको हुुँदा, त्यो विचार र त्यो पार्टी जब हामीसँग छ भने तल अत्यन्तै कम प्रभाव परेको छ।’ एमाले पार्टी व्यक्तिका प्रभावले भन्दा पनि विचारले आएको हुँदा एकआध व्यक्तिहरू जान सक्ने तथा बाँकी कार्यकर्ता र नेतामा संगठन विभाजनको प्रभाव न्यून रहने उनको दाबी छ।

केही व्यक्तिहरू, जसलाई मानसम्मान नपुुगेको वा मलाई यो पद भएन भन्ने सोच राख्ने केही व्यक्ति एमालेबाट गए पनि अन्य एमालेमै रहने उनको तर्क छ। हिजोका दिन भएका एकता र सम्झौता तथा पार्टी स्थायी कमिटीले गरेका निर्णयले एमालेमा ऊर्जा पैदा गरेको उनी बताउँछन्। एमाले नेता, मेयर, सांसद, कार्यकर्ता, वडाध्यक्षबीच भएको छलफल उल्लेख गर्दै उनी भन्छन्, ‘१–२ प्रतिशत वडाध्यक्षले संगठन विभाजनको विषयमा के गर्ने होला सोच्न दिनूस् भनी समय माग्नुु भनेको ९८ प्रतिशत जनमत एमालेमै रही काम गर्ने निर्णयका रूपमा बुझ्नुपर्छ।’

प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्