Kathmandu Press

टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

काठमाडौं, साउन १३ : जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन...
टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

काठमाडौं, साउन १३ : जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

टोकियो महानगर सरकारले एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको अहिले पहिलो पटक भएको जनाएको छ । विश्वको ध्यान खिचेको ओलम्पिक खेलकुद प्रतियोगिता सुरु भएको केही दिनपछि टोकियोमा सङ्क्रमितको सङ्ख्यामा एकाएक वृद्धि भएको हो । यसअघि मङ्गलबार दुई हजार ८४८ जना नयाँ सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

देशभरी भने झण्डै सात हजार सङ्क्रमित भएको देखिएको छ । गतवर्ष सन् २०२० मा हुनुपर्ने ओलम्पिक खेलकुद प्रतियोगिता कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले भइरहेको हो । महामारीका बीचमा भइरहेको खेलकुद प्रतियोगिताका कारण टोकियोमा महामारी थप फैलिने खतरा देखिँदै गएको छ । महामारी थप फैलिन नदिने उद्देश्यले टोकियोमा उच्चसतर्कता र उच्चसुरक्षा व्यवस्था गरिए पनि महामारी भने फैलिँदै गएको देखिएको छ ।

जापानको केन्द्रीय सरकारले यही जुलाई १२ देखि अगस्ट २२ सम्मका लागि टोकियोमा चौथो चरणको सङ्कटकाल लागू गरेको छ । टोकियोका बार तथा रेस्टुरेन्टहरूमा मादक पदार्थ विक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ भने बेलुका सबेरै बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । ओलम्पिक खेलकुद प्रतियोगिताका लागि लाखौँ खेलाडी, खेल पदाधिकारी, सञ्चारकर्मी र खेलप्रेमीहरू टोकियोमा भेला भएका छन् । 

प्रकाशित मिति: २१:०३ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्