Kathmandu Press

‘केपी ओलीले अध्यक्ष पदबाट विदा लिनुपर्छ’

एमाले एकताबद्ध भएर जाने सबैभन्दा राम्रो विकल्प हो। तर, त्यसका लागि केपी ओलीको स्वभाव र चिन्तन गर्ने तरिकामै परिवर्तन आउनुपर्छ। अनि मात्र एकता सम्भव छ।
‘केपी ओलीले अध्यक्ष पदबाट विदा लिनुपर्छ’
Hardik ivfHardik ivf

विद्यार्थी जीवनदेखि नै वाम राजनीतिमा प्रवेश गरेका जगन्‍नाथ खतिवडा अहिले एमाले पोलिटब्युरो सदस्य छन्। अनेरास्ववियुको महासचिवसम्म बनेर उनी एमालेको पार्टी राजनीतिमा होमिए। ०५६ सालको आम निर्वाचनमा तत्कालीन उदयपुर क्षेत्र नम्बर २ बाट सांसद बने। एमाले र माओवादी केन्द्रबीच एकतापछि नेकपा गठन भएपछि अध्यक्ष केपी ओलीको कदमको सबैभन्दा पहिलो विरोधीका रूपमा प्रकट भए उनी। प्रदेश कमिटी गठनमा मापदण्ड मिचेको विरोधमा उनी सार्वजनिक रूपमै उत्रिएका थिए। त्यसपछि तत्कालीन नेकपाभित्र एक व्यक्ति एक पदको अवधारणा प्रस्ताव गर्ने पहिलो नेता पनि थिए, खतिवडा। झण्डै एक वर्षपछि मात्र माधवकुमार नेपालहरूले उक्त अवधारणा अगाडि सारेका थिए। अहिले एमाले अध्यक्ष ओलीले विगतमा गरेका गल्तीमा माफी माग्‍नुपर्ने र भविष्‍यमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासहितको संयन्त्र तयार गर्नुपर्ने कुरामा उनी अडिग छन्। ओली सात वर्ष पार्टी अध्यक्ष भइसकेको, पार्टी पनि ध्वस्त बनाएको र दुई-दुईपटक सर्वोच्च अदालतले नैतिकताको प्रश्‍न उठाइसकेकाले ओलीले पार्टी अध्यक्ष छाड्नुपर्ने उनको भनाइ रहँदै आएको छ। एमालेभित्र एकताका सन्दर्भमा नेता खतिवडासँग काठमाडौं प्रेसका लागि शुष्‍मा बरालीले गरेको संवादः

यसअघि नै समानान्तर कमिटीहरू ब्युँताउनुभएको छ। अखिल फोर्स, पिपुल्स् भोलेन्टियर गठन भएका छन्, के यो नयाँ पार्टी गठनको तयारी हो ?

एमालेमा एकताको सम्भावनाका ढोका पार्टी अध्यक्ष केपी ओलीका उहाँका अभिव्यक्ति र व्यवहारहरूले बन्दै गरेको देखिन्छ। हामी एकताको निम्ति सधैँ तयार छौँ तर समान हैसियतमा एकता अर्थात् पार्टीभित्र सह-अस्तित्वमा एकता हुनुपर्‍यो। पार्टीमा सह-अस्तित्वको एकताको प्रश्‍नमा हामी लागिरहेका छौँ। पार्टीभित्र अन्याय, निष्‍पक्षता र विधिसम्मत पार्टी सञ्‍चालन गर्ने कुरालाई हामीले जोड दिइरहेका छौँ।

अहिले समानान्तर दुईवटा कमिटी गठन भएका छन्। ओली पक्षबाट बनाइएका कमिटीहरू पनि समानान्तर नै हुन्, हाम्रो पक्षबाट बनाएका कमिटी पनि त्यसैको विकल्पमा हुन्। आधिकारिक कमिटी खोज्‍नुपर्ने जहाँसम्म सन्दर्भ छ, एउटा पार्टीमा दुईवटा कमिटी त हुँदैनन्। पार्टीको विधि, विधान र पद्धतिबाट हेर्ने हो भने हामी अगाडि बढ्नुपर्ने एउटै कमिटी हुन्छ। केपी ओलीले समानान्तर कमिटी बनाउनुभयो, जुन अहिलेदेखि होइन, ५ पुसदेखि हो। यो सन्दर्भमा हामीले के बुझ्नुपर्छ भने केपी ओली कमरेडहरू कति उद्दण्डताको सीमामा पुगिसक्नुभएको छ। उदाहरण प्रशस्तै छन्। जस्तो- हिजोअस्ति कमरेड माधव नेपालको पुत्ला दहन गर्नुभयो, बाँदर जुलुस निकाल्नुभयो। सडकमा अत्यन्तै अभद्र, असभ्य, उछृंखल नारा लगाइरहनुभएको छ। उहाँले आफैँले आफ्नो घरको बार्दलीबाट माधव नेपाललाई गद्दार, अपराधी भनी घोषित गरिरहनुभएको छ। दुष्‍ट्याइँ र असभ्यताको हद पार गरिसक्नुभएको परिस्थिति छ अहिले।

अब हामीले त्यस्तो बेलामा एकता खोज्‍ने हो भने पनि दुईवटा कुरालाई शर्त बनाउनुपर्ने स्थिति छ। हिजो हामीले उहाँहरूलाई एक समयमा ०७५ जेठ २ मा निःशर्त फर्किने मात्र माग राखेका थियौँ। त्यतिबेला उहाँहरूले त्यसो गर्नुभएन, त्यसपछि सबै कमिटी गठनको दौड अगाडि बढ्यो। आज त केपी ओली प्रधानमन्त्रीबाट हटिसक्नुभयो, पार्टी अध्यक्षबाट पनि राजीनामा नगरेसम्म, दुई पटकसम्म राज्यले संविधानले खराब भनेर, अवैधानिक भनेर करार गरिसकेको प्रधानमन्त्री र पार्टी अध्यक्षले त्यो पद नछोडिकन अब पार्टी एक भएर जान सक्ने सम्भावना धेरै नै कम छ।

अर्कोतिर हामीले पार्टीलाई सिस्टममा हिँडाउन माग गरेको कुरा हो, विधानअन्तर्गत हिँडाउन माग गरेको कुरा हो। यो त सबैले सधैँभरि माग गर्नुपर्ने कुरा थियो। त्यसकारण एकताको सम्भावना क्षीण हुँदै गएको र हाम्रातर्फबाट हामीले वार्ताको ढोका पनि बन्द नगरेको परिस्थिति छ भने केपी ओलीले अब माधव नेपाललाई निषेध गरिन्छ, छिर्न दिइँदैन, माधव नेपालबिनाको एकता गरिन्छ भनेर अनेकौँपटक भनेको तपाईं हामीले सुनेकै छौँ। त्यसकारण पार्टी एकताविरोधी केपी ओली हुनुहुन्छ। उहाँले गल्ती नसच्याइकन एकताको सम्भावना कमजोर बन्छ भन्‍ने नै हाम्रो धारणा हो।

एमालेभित्र एकताको सम्भावना टाढिएको हो कि अझै जीवित छ ?

एमालेभित्र एकताको सम्भावना जीवितै छ। तर, शर्तहरू थपिए, मागहरू बढे। एमाले पार्टीको अध्यक्षबाट राजिनामा दिनूस्, तपाईंले बोलेका शब्दका निम्ति माफी माग्‍नूस्, सडकमा गरेका हर्कतहरू बन्द गर्नूस्। हिजोका बुँदाहरूमा यी बुँदा थपिन गए। त्यसकारण परिस्थिति झनझन जटिल बन्दैछ। हाम्रो ठाउँबाट हामीले एकताको निम्ति बोलिरहेका छौँ। साथीहरू लागी पनि रहनुभएको छ। तर, केपी ओलीले ढोका बन्द गरेँ भनिसक्नुभएको छ।

उहाँले भनेको कुरा पत्याउने हो भने कहिल्यै एकता हुँदैन। भित्रभित्र कार्यकर्ताले बोलेको आवाज उठाउने हो भने एकताको गुञ्‍जायस निकै छ। तर, यो धेरै दिन जाँदैन, ४-५ दिनभित्रमा कुरा क्लियर भइहाल्छ। पछिल्लो समयमा जब संसद पुनःस्थापना भयो, त्यसपछिको परिस्थितिमा ठूलो परिवर्तन आइसकेको छ। केपी ओलीले पार्टी अध्यक्षबाट राजिनामा दिनुपर्छ, छोड्नुपर्छ। उहाँले बोलेका कुराहरू असभ्य छन्, गलत छन्, माफी माग्‍नु पर्छ। यो अहिले थपिएका बुँदाहरू हुन्। अब यसभन्दा अगाडि उहाँका ४-५ वटा विषयमा असहमति थियो।

कार्यदलले दशबुँदे सहमति जुटायो। तर, उहाँ त्यसमा सहमत हुनु हुन्थेन। किनकि, कार्यदलले गरेको कुरा कार्यदल जसले काम गरेर नेताहरूलाई बुझाउनुपर्ने हो, गृहकार्य गरेर नेताहरूलाई बुझाउनुपर्ने भनेर तोकिएको कार्यदलले नेताहरूलाई क्रस गरेर आफैँले प्रतिवेदन सार्वजनिक गरेर यही हो हाम्रो सहमतिको दस्तावेज भन्‍नु नै पहिलो गल्ती भयो। नेतृत्वको सहमति लिनुपर्नेमा नेतृत्वले जेसुकै गरोस् हामीले यो घोषण गर्‍यौँ भन्‍नुमा यो नै ओलीको ठूलो गल्ती थियो कार्यदलमा।

त्यसभन्दा भित्र विषय प्रवेशको त कुरै छोडिदिउँ, त्यसभित्र जाने हो भने सम्पूर्ण कुरामा हाम्रा पक्षलाई अथवा माधव नेपाल, झलनाथ खनालको पक्षलाई एउटा विशेष अधिकार केही खोज्‍नुपरेको छैन। एउटा विषय मात्र खोज्‍नुपरेको छ। त्यो खोज्‍नु भनेको के भने केपी ओलीले पार्टीभित्र एकताबद्ध भइसकेपछि चरम पक्षपात गर्न सक्नुहुन्छ, कार्यकर्तामा भेदभाव गर्न सक्नुहुन्छ। महाधिवेशन, आम निर्वाचनजस्ता ठाउँहरूमा उहाँले चरम भेदभाव गर्नहुनेछ, पक्षपात गर्नुहुनेछ। सत्ताको दुरुपयोग गर्नुहुनेछ भन्‍ने हामीलाई लागेको छ। त्यसकारण माधव नेपाल र केपी ओलीको संयुक्त हस्ताक्षरबाट मात्रै पार्टीका काम कारवाहीहरू अगाडि बढून्। एकजनाको हस्ताक्षरले मात्र मान्यता नपाओस्। आधिकारिक कानूनी ठाउँमा जाँदाखेरी संयुक्त हस्ताक्षर प्रयोग होस्। त्यो भनेको सरकारी कामकाजका लागि, निर्वाचन प्रयोजनका लागि गरिने कामहरू जति छन्, सबैमा दुवै पक्षको हस्ताक्षर हुनुपर्छ। अनि मात्रै माधव नेपाल, झलनाथ खनाल निकटस्थ कार्यकर्ताको रक्षा हुन सक्छ भन्‍ने हाम्रो एउटा भनाइ हो।

अर्काे कुरा नवौँ महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटीमा फर्किनु पर्छ। पछि थपिएका मान्छेहरू कसैलाई थप्‍नुहुँदैन। थप्‍नुपर्‍यो भने वैधानिक व्यवस्था मिलाएर मात्रै थप्‍न सकिन्छ। त्यसरी थप्‍नुपर्ने स्थिति आयो भने बराबरको संख्यामा मनोनयन गर्नुपर्छ भन्‍ने हाम्रो कुरा थियो। महाधिवेशनमा भएको ग्याप जति छ, त्यो हारजित भइहाल्यो, अरू बराबरको संख्यामा थप्‍नुपर्‍यो भने विधि, विधान मिलाएर, विधान अधिवेशन गरेर नयाँ थप्दाखेरि आधाआधा गर्नुपर्छ भन्‍ने कुरा थियो। त्यो कुरा उहाँहरूले पालना नगरेर आफ्नो इच्छाअनुसार माओवादीको नाममा हाल्ने, जबर्जस्ती पेलेर जाने कुरामा सहमति खोज्‍नुभयो। कुरा यहीँ मिलेन।

तेस्रो कुरा थियो, ०७५ जेठ २ को केन्द्रीय कमिटीलाई निःशर्त ब्युताउनुपर्छ। उहाँहरूले पूर्वमाओवादीलाई सहित समेटेर कमिटी बनाउन खोज्‍नुभयो, त्यहीँ फेरि कुरा मिलेन। अर्को कमजोर कुरा के गर्नु भयो भने हामीले भने ०७७ फागुन २३ पछाडि केपी ओलीको नेतृत्वमा गरिएका सम्पूर्ण निर्णय निःशर्त खारेज गर्नुपर्छ भन्यौँ। तर, उहाँहरूले हाम्रो मागमा एकताको भावनासँग मेल नखाने खारेज हुन्छन् भनेर लेख्नुभयो अब हामीले बुँदाभित्र पसेर यो मेल खाने, यो मेल नखाने, यो अलि बढी मेल खाने छुट्याउनुपर्ने भयो। त्यस्तो हुँदैन।

उहाँहरूले अवैधानिक ढंगले राखेको कमिटीलाई हामीले मान्यता दिनुपर्ने स्थिति आउँछ। त्यसकारण अब हामी सक्दैनौँ। त्यसैले यी यावत कुराहरूले हामीमा समस्या पैदा गरेको थियो। अर्थात्, केपी ओलीले विगतमा गरेका गल्तीहरूमा आत्मालोचना गर्नु र भविष्‍यमा नगर्ने गरी प्रतिबद्धतासहितको संयन्त्र निर्माण गर्नुपर्छ। आगामी निर्वाचन र महाधिवेशन सबैलाई निष्‍पक्ष ढंगले भेदभावरहित ढंगले सम्पन्‍न हुने वातावरण निर्माण गर्नु प्रमुख विषय हो।

यी यस्ता विषय हुन्, जसले हामीलाई पार्टी एकताबद्ध भएको भाव पैदा गर्न सहज हुन्थ्यो। तर, उहाँ त्यसो गर्न चाहनुहुन्‍न। यो पहिलाको कुरा हो। अब अहिले कहाँ पुगिसक्यो त परिस्थिति भने संसद पुनःस्थापना भइसकेपछि केपी ओलीले जुन अभद्र ढंगले गाली गर्नुभयो, असभ्यता प्रकट गर्नुभयो, सडकमा जसरी प्रदर्शन गराउनुभयो, ती सबै केपी ओलीकै निर्देशनमा भइरहेका काम हुन्। तसर्थ पार्टीको अध्यक्ष उहाँ भएकाले यस विषयमा माफी माग्‍नुपर्छ। विगतमा दुईपटकसम्म संसद विघटन गर्नुभयो। सर्वोच्च अदालतले दुवैपटक त्यो गैरकानूनी काम हो भनेको छ। गैरकानूनी काम गर्ने पार्टी अध्यक्षलाई पदमा बस्‍ने कुनै अधिकार छैन। उहाँ अध्यक्षको पदबाट बिदा हुनुपर्छ। उहाँले राजिनामा दिनुपर्छ अनि मात्र विषयवस्तु अगाडि बढ्न सक्छ भन्‍ने हाम्रो निष्‍कर्ष छ।

बृहत कम्युनिस्ट एकता अभियानको कुरा सुनिँदैछ, केपी ओलीबाहेकका कम्युनिस्ट पार्टीलाई एक बनाउने कुरा कत्तिको साँचो हो ?

कम्युनिस्टहरूबीच एकता आवश्यक छ भन्‍नेबारेमा सबै पार्टी सहमत छन्। तर, आ-आफ्ना सोच र दृष्‍टिकोणका कारणले फरक-फरक छन्। हामीले प्रयास गरिरहेका छौँ तर तत्काल यसमा नयाँ प्रगति भएको छैन।

एमालेका शीर्ष नेताहरू केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलाई बाहिर राखेर त्यसपछिका वरियताका नेताहरू मिलेर पार्टी बचाउने कुरा पनि सार्वजनिक भएको छ, यो कत्तिको सम्भव छ ?

कसै न कसैले यस्तो कुरा गरेको होला, जुन मैले पनि सुनेको छु। माधवकुमार नेपाल र केपी ओलीलाई पन्छाएर एमालेको नेतृत्व लिन सक्ने अर्को पुस्ता कसैले आश गरेको होला। तर, कार्यकर्ता कसैले यो व्यक्ति ठीक छ भनी पत्याइहाल्ने स्थिति नभएको देखिन्छ। केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलाई बाहिर राखेर पार्टी बचाउने सम्भव देखिँदैन।

केपी ओलीलाई माधव नेपालले हटाउने योजना बनाएजस्तो लाग्‍न सक्छ, माधव नेपाललाई केपी ओलीले हटाउने योजना बनाएजस्तो लाग्‍न सक्छ। तर, यथार्थमा आज दुई ध्रुवका प्रमुख नेता माधव नेपाल र केपी ओली नै हुनुहुन्छ। माधव नेपालको बिदाइ भयो भने केपी ओली स्थापित हुनुहुन्छ, केपी ओली बिदा भएमा माधव नेपाल स्थापित हुनुहुन्छ। त्यसकारण अर्को विकल्प सोच्नसक्ने स्थिति छैन। सबैभन्दा राम्रो एकताबद्ध भएर जाने हो, त्यसका लागि केपी ओलीको स्वभाव, चिन्तन गर्ने तरिकामै परिवर्तन आउनुपर्छ। अनि मात्र पार्टी एकता सम्भव छ।

प्रकाशित मिति: १२:१२ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्