Kathmandu Press

मल्ल राजाले झिकाएका मुस्लिम चुरा व्यापारी

‘यो महामारी नआएको भए यति बेला दुलही जसरी झकिझकाउ हुन्थे पसलहरू,’ अमिना भन्छिन्, ‘कोरोनाले सब खत्तम भयो, बजारमा सामानै छैन ।’ 
मल्ल राजाले झिकाएका मुस्लिम चुरा व्यापारी
Hardik ivfHardik ivf

काठमाडौं, साउन ५ : असार मसान्त साँझ पाटनस्थित कृष्णमन्दिर नजिकैको शृंगार पसलमा हरिया चुरा किन्दै थिइन्, सारा श्रेष्ठ । काठमाडौं, वसन्तपुरदेखि कृष्णमन्दिर घुम्न आएकी उनलाई हरियो चुराले तान्यो । ‘भोलि साउन १ गते, सबैले हरियो चुरा लगाउँछन् । त्यही  भएर किन्न लागेकी,’ उनले भनिन् । पछिल्लो समय साउनमा विशेषतः हिन्दू महिलाले हरियो पहिरनसँगै चुरा लगाउने फेसन चलेको उनी बताउँछिन् । ‘धार्मिक आस्थाभन्दा पनि सबैले लगाएको देख्दा लगाउन मन लाग्छ,’ उनले भनिन् । 

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेपाली संस्कृति प्रतीकवादी छ, प्राचीनकालदेखि नै अनेक रङले नेपाली धर्म–संस्कृतिमा गहिरो प्रभाव पार्दै आएको पाइन्छ । उनी भन्छन्, ‘लिच्छविकालका अभिलेखमा पाँचवटा रङ (रातो, नीलो, सेतो, पहेँलो, हरियो) को महत्त्वका बारेमा लेखिएको छ ।’ 

रङलाई शक्तिको प्रतीकका रूपमा मानिने चलन रहेको उनले बताए । हरेक मातृदेवीको रङ विशेष खालको हुने भए पनि साउन महिनामा हरियो चुरा लगाउने प्रचलन भारतबाट आयातीत भएको उनी बताउँछन् । ‘साउनमा हरियो चुरा लगाउनुपर्छ भन्ने नेपाली संस्कृतिमा छैन,’ उनले भने । यद्यपि प्राचीन समयदेखि आजको भारत रहेको भूगोलबाट नेपाल भूमितिर संस्कृति प्रसारित भइरहेको पाइन्छ । 

मुस्लिम समुदायका चुरा व्यापारी

कृष्ण मन्दिर वरपर सादा तथा रंगिविरंगी चुरा मिलाएर राखिएका छन् । ग्राहकको रोजाइ अनुसारका चुरालाई पत्रिकाले पोको पार्दै थिइन्, ७० वर्षीया अमिना । ‘हप्ता दिन भयो चुरा बेच्न पाएको । फ्याट्टफुट्ट पुराना नजिकका ग्राहक मात्र आउँछन्,’ उनले भनिन् । कोरोना महामारीको नियन्त्रणका लागि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण अन्य क्षेत्रजस्तै चुरा व्यापारी पनि मारमा छन् ।  

भारतीय अमिना १८ वर्षको उमेरमा फिरोजुद्दिन खानसँग विवाह गरेर नेपाल आएकी हुन् । यो दम्पतीले कृष्ण मन्दिर परिसरमा चुरा बेच्न थालेको ५० वर्ष नाघिसक्यो । पसलमा चुरा मिलाउँदै गरेका फिरोजुद्दिनले भने, ‘चुरा बेचेरै दाह्री सेतै भइसक्यो ।’ उनका अनुसार, साउन हरिया चुराको सिजन हो । 

‘यो महामारी नआएको भए यति बेला दुलही जसरी झकिझकाउ हुन्थे पसलहरू,’ अमिना भन्छिन्, ‘कोरोनाले सब खत्तम भयो, बजारमा सामानै छैन ।’ 

पाटन क्षेत्रमा चुराका व्यापारी अधिकांश मुस्लिम समुदायका छन् । ५२ वर्षीय सलिम खानले सानै उमेरदेखि चुरा व्यापार गरेका हुन् । पाटन दरबार स्क्वाएर परिसरमा सलिमका छोरा–बुहारीले चुरापोतेको व्यापार गर्छन् । सलिमका अनुसार, पहिले व्यापारीले मन्दिरनजिकै भुइँमा चुरा बेच्थे, त्यहाँबाट हटाइएपछि धेरैले पसल खोलेर व्यापार गर्न थाले । 

७५ वर्षीय अनवर खान पाटन दरबार क्षेत्रमा टहलिँदै थिए । उनी पुराना चुरा व्यापारी हुन् । अहिले उमेर ढल्केकाले उनी व्यापार गर्दैनन् । पाटन परिसरलाई उनी आफ्ना बाजेबराजुको कर्मथलो बताउँछन् । ‘चुरापोतेको व्यापार गर्नकै लागि नेपालमा भारतबाट हाम्रा पुर्खालाई ल्याइएको भन्ने सुनेको हुँ,’ उनले भने । उनका अनुसार, मुस्लिम समुदायका व्यापारीले बढीजसो पाटन, भक्तपुर र काठमाडौंका दरबार क्षेत्र नजिकै व्यापार गर्छन् । 

नेपालमा मुस्लिम समुदायको उपस्थिति र बसोबास १५औँ शताब्दीदेखि सुरु भएको राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी बताउँछिन् । ‘१५औँ शताब्दीका राजा रत्न मल्लले कश्मिरी मुस्लिमलाई व्यापारका लागि काठमाडौं बोलाएपछि नेपालमा मुस्लिम समुदायको इतिहास सुरु भएको मानिन्छ,’ उनले भनिन् । धर्म आफ्नै भए पनि मुस्लिम समुदाय जुन ठाउँमा बसोबास गरेका छन्, त्यहीँको जातीय पहिचान एवं भाषा संस्कृतिलाई अपनाएको देखिने उनले बताइन् । 

मल्ल राजाका पालामा चुरापोते, अत्तर लगायत सामग्रीको व्यापारका लागि नेपाल ल्याइएका मुसलमानको अधिक संख्या भक्तपुर, काठमाडौं र पाटनमा रहेको बताउँछन्, प्रा.डा. दिनेशराज पन्त । नेपाली समाजसँगको अन्तर्घुलनले मुस्लिम र हिन्दू समुदायबीच धार्मिक सहिष्णुतामा सौहार्दता रहेको उनले बताए । उनका अनुसार मल्ल राजाका पालामा मुस्लिम समुदायका लागि काठमाडौंमा कश्मिरी तकिया मस्जिद स्थापना गरिएको हो । ‘मल्लकालमा राजाहरूले भारतमा पत्राचार गर्दा उर्दू भाषाको चल्ती थियो, जसमा मुस्लिम समुदायले पत्राचारमा सघाउ पु¥याएको पढ्न पाइन्छ,’ उनले भने । 

उनका अनुसार, पत्राचार, व्यापार, मनोरञ्जनदेखि विभिन्न कारण मुस्लिम समुदाय दरबारसँग निकट थिए । ‘हनुमान ढोकामा लेखिएको १४ वटा लिपिमध्ये एउटा लिपि उर्दूमा छ,’ उनले भने, ‘मल्लकालमा प्रयोग गरिने मुद्रामा समेत उर्दू भाषा उल्लेख गरिएको पाइन्छ ।’ विभिन्न पुस्तक, दस्ताबेजमा उल्लेख गरिएका इतिहासले मुस्लिम समुदाय र दरबारबीचको निकटता प्रमाणित गरेको उनी बताउँछन् । उनका अनुसार, मल्ल राजाका पोसाक बनाउनदेखि मनोरञ्जन (नाटक, गीत संगीत) का लागि भारतबाट उस्ताज झिकाएर हिन्दी, उर्दू भाषामा प्रस्तुत गरिन्थ्यो । मल्ल राजा, रजौटाका पोसाक मुस्लिम समुदायका सूचीकारले निर्माण गर्ने भएकाले पोसाकमा कहीँकतै मुस्लिम डिजाइन देखिने उनले बताए ।
 

प्रकाशित मिति: १७:४२ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्