भैरहवा र पोखरा विमानस्थल निर्माण अन्तिम चरणमा, भैरहवाबाट तत्काल उडान हुनेमा संशय

काठमाडौं, साउन २ : भैरहवा र पोखरामा निर्माणाधीन अन्तर्राष्‍ट्रिय विमानस्थलहरू निर्माणको अन्तिम चरणमा प्रवेश गरेका छन्। पोखरामा आवश्यक नभए पनि भैरहवामा भारतबाट हवाईमार्ग उपलब्ध हुनु अत्यावश्यक रहेको विज्ञ बताउँछन्।

पोखरा क्षेत्रीय अन्तर्राष्‍ट्रिय विमानस्थल निर्माण ८१ प्रतिशत सकिएको छ। यही जुलाईमा सम्पन्‍न हुनुपर्ने उक्त आयोजना कोभिड-१९ महामारीका कारण तोकिएको अवधिभित्र सम्पन्‍न हुन सकेन।

‘पोखरामा बन्दै गरेको अन्तर्राष्‍ट्रिय विमानस्थलको निर्माण ८१ प्रतिशत सकियो। जुलाईसम्ममा शतप्रतिशत सक्ने लक्ष्‍य कोभिड महामारीका कारण पूरा हुन सकेन,’ विमानस्थलका प्रोजेक्ट म्यानेजर बिनेस मुनाकर्मी भन्छन्, ‘अब छिटोमा आगामी डिसेम्बरसम्ममा सक्ने लक्ष्‍य छ।’

विमानस्थलका अधिकांश कामदार विदेशबाटै आउने भएकाले पनि थप समस्या सिर्जना भएको उनी बताउँछन्। उक्त योजना सम्पन्‍न हुन बढीमा एक वर्षसमेत लाग्न सक्ने उनको अनुमान छ। सबै कार्यहरू सम्पन्‍न भएलगत्तै हवाई उडान सञ्‍चालनमा आउने उनी बताउँछन्।

उक्त विमानस्थलबाट अन्तर्राष्‍ट्रिय गन्तव्यमा उडान सञ्‍चालन गर्न भारतबाट हवाई रुट आवश्यक नपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन्। ‘पोखराको हकमा अहिले हामीसँग उपलब्ध रुटकै प्रयोग गर्ने भएकाले भारतसँग एयर रुट पर्मिसन लिनुपर्दैन,’ उनी भन्छन्।

पोखरा विमानस्थल चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा निर्माणाधीन छ, जसको लागत २२ अर्ब रुपैयाँ अनुमानित छ। महानिर्देशक पोखरेलका अनुसार सन् २०१४ मा नेपाल सरकार र चिनियाँ बैंकबीच सम्झौतापछि निर्माण थालिएको हो।

यस्तै, भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्‍ट्रिय विमानस्थल पनि ९७ दशमलव ३३ प्रतिशत काम सम्पन्‍न भएको आयोजना प्रमुख प्रवेश अधिकारी बताउँछन्। ‘गौतम बुद्ध अन्तर्राष्‍ट्रिय विमानस्थलको निर्माण ९७ दशमलव ३३ प्रतिशत सम्पन्‍न भएको छ,’ उनी भन्छन्, ‘टर्मिनल बिल्डिङको फल सिलिङ, एयर कन्डिसनिङ सिस्टम र क्यालिब्रेसन फ्लाइटको काम बाँकी छ।’

उक्त विमानस्थलमा भीओआर, डीएमई, आईएलएस, रनवे लाइट, कन्ट्रोल टावरलगायत प्रविधि जडान भइसकेको अधिकारीले जानकारी दिए। एयर कन्डिसनिङ सिस्टम र फल सिलिङका केही लाइट जडान गर्न मात्र बाँकी रहेको उनी बताउँछन्। कुल ६ अर्ब ८२ करोडको उक्त योजनामा ७८ प्रतिशत रकम खर्च भएको उनले जानकारी दिए।

‘यस योजनाका लागि सरकारसँग ६ अर्ब ८२ करोडको सम्झौता रकममा ७८ प्रतिशत रकम खर्च भइसकेको छ,’ उनी भन्छन्, ‘लगभग सम्पूर्ण कार्य सम्पन्‍न भए पनि कहिलेदेखि सञ्‍चालनमा आउँछ भन्‍ने तय भइसकेको छैन।’

अहिले कोभिडका कारण यी दुवै योजनाको कार्य सम्पन्‍न गर्न ढिलाइ भइरहेको छ। तर, जनवरी २०२२ सम्ममा दुवै विमानस्थल सञ्‍चालनमा आउने सम्भावना रहेको प्राधिकरणका पूर्वमहानिर्देशक सञ्‍जीव गौतम बताउँछन्।

‘भौतिक कामहरू धेरै सकिएका छन्। प्रविधि जडान गरिसकेपछि त्यसको क्यालिब्रेसनको कुरा आउँछ। कतिपय विदेशी कन्स्ट्रक्टर नै आएर काम गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘भैरहवामा यस्ता धेरै काम गर्न बाँकी छन्। त्यहाँ आईएलएस पनि राखिएको छ तर पोखरामा राखिएको छैन।’

भैरहवामा जडान गरिएको आईएलएसको क्षमता काठमाडौंको भन्दा बढी रहेको उनी बताउँछन्। तर, प्रोसिड्योर डिजाइनमा केही समस्या रहेको उनको भनाइ छ।

गौतमका अनुसार अहिले आरएनपीएआरबाट प्रोसिड्योर डिजाइन गरिरहेको छ। भैरहवा विमानस्थलमा विमानको प्रवेश र बाहिरिने विषयमा अहिले पनि नेपाल र भारतबीच सरकारीस्तरमा छलफल जारी छ। तर, निष्‍कर्षमा आएको छैन। अहिलेको विमानस्थलको प्रोसिड्योर पनि भारतको एयरफोर्सभित्र पर्छ। त्यही कारण पनि भारतले एयर रुट पर्मिसन नदिएको हुन सक्ने आकलन छ। त्यो समस्या समाधानका लागि आरएनपीएआर (स्याटलाइटमा आधारित प्रोसिड्योर) बाट काम गर्दा एयरफोर्सको क्षेत्र भित्र पर्दैन। अहिले त्यहीअनुसार डिजाइन गरेर काम अगाडि बढाउने योजना छ।

साथै फ्लाइट भित्रिने र बाहिरिनेमा पनि केही समस्या रहेको गौतम बताउँछन्। ‘भैरहवाको फ्लाइट पूर्वबाट पूर्व नै जानेलाई कुनै समस्या भए पनि पश्चिमबाट बाहिरिन समस्या छैन। किनकि, महेन्द्रनगरबाट भित्रिने र बाहिरिने एल-६२६६ रुट यसअघि नै सञ्‍चालनमा छ,’ गौतम भन्छन्, ‘तर, पश्चिमबाट आउने जहाजलाई अहिले नै राम्रोसँग रुट तय हुन सकेन भने सिमराबाट फेरि भैरहवा आउनुपर्दा १० देखि १५ मिनट बढी आकाशमा विमान उडिरहनुपर्छ।’

यस्तै, पोखराको सन्दर्भमा त्यहाँको भौगोलिक बनावटका कारण त्यहाँ ठूला विमानहरूको उडान र अवतरण सम्भाव नरहेको गौतम बताउँछन्। ‘पोखराको रनवे २५ सय मिटर मात्र छ। त्यहाँको भौगोलिक बनावटका कारण एयरबस-३१९, बोइङ-७३७ लगायत विमान मात्र उडाउन सकिन्छ। त्यसभन्दा बढी क्षमताका विमानको सम्भावना छैन,’ उनी भन्छन्। यी दुवै विमानस्थल सञ्‍चालनमा आएपछि त्यसले समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने हुँदा सकभर छिटै सञ्‍चालनमा ल्याउनुपर्ने उनी बताउँछन्।
 

 Published Date: Monday, 19th July 2021 2:15:00 pm