Kathmandu Press

मंगल ग्रहको सतहमा पानी तरल अवस्थामै रहेको संकेत

सन् २०१८ मा वैज्ञानिकहरुले मंगल ग्रहबारे एउटा तथ्य पत्ता लगाएका थिए, जसले सौर्यमण्डलमा रहेको त्यो रातो ग्रहबारे हाम्रो बुझाइ नै बदल्न सक्छ।मंगल ग्रहको...
मंगल ग्रहको सतहमा पानी तरल अवस्थामै रहेको संकेत
Hardik ivfHardik ivf

सन् २०१८ मा वैज्ञानिकहरुले मंगल ग्रहबारे एउटा तथ्य पत्ता लगाएका थिए, जसले सौर्यमण्डलमा रहेको त्यो रातो ग्रहबारे हाम्रो बुझाइ नै बदल्न सक्छ।

मंगल ग्रहको सतहमा ठोकिएर फर्किएका राडार सिग्नलहरुले त्यहाँ केही टल्किने सतह रहेको संकेत गरेका थिए। र, ति संकेतहरु तरल अवस्थामा रहेको पानीको भूमिगत दहबाट आउने सिग्नलसँग मिल्थे।

त्यसपछि गरिएका थप खोजमा अझै धेरै पानीजस्ता टल्किने सतह फेला पर्दै गए। यस्तो देखिन्थ्यो, मानौं मंगल ग्रहमा भूमिगत पोखरीको सञ्जाल नै फैलिएको छ।

मंगल ग्रहमा जमेको पानी छ भन्ने तथ्य धेरै पहिले नै थाहा भएको थियो। तरल अवस्थामा नै पानी रहेको संकेत भेटिनु भने अभूतपूर्व खोज हो। तर, यसमा एउटा समस्या देखिएको छ। जुनजुन ठाउँबाट तरल अवस्थामा पानी रहेको संकेत आएको छ, त्यसमध्ये केही ठाउँको तापक्रम यति कम हुन्छ कि त्यहाँ पानी तरल अवस्थामा रहनै सक्दैन।

‘हामी निश्चित छैनौं, हामीले पाएको संकेत तरल अवस्थाकै पानीको हो वा अरु नै। तर त्यो सतहको सञ्जाल निकै फैलिएको छ,’ नासाको जेट प्रपल्सन प्रयोगशालाका वैज्ञानिक जेफरी प्लाउटले भने, ‘या त मंगल ग्रहको दक्षिणी ध्रुवभन्दा तल पनि पानी तरल अवस्थामा पाइन्छ, या त पानीजस्तो संकेत दिने चिज अर्कै सतह हो।’

यस्तो सञ्जालको सुरुआती जानकारी मंगल ग्रहको कक्षमा घुम्ने ‘मार्सिस’ नामक यन्त्रले दिएको थियो। पूरा नाम ‘मार्स एडभान्स्ड राडार फर सबसर्फेस एन्ड आयोनोस्फेयर साउन्डिङ’ रहेको ‘मार्सिस’ले राडार सिग्नलको प्रयोग गरेर मंगल ग्रहको सतहमा रहेका वरफ ढिक्का मूनिको भागको अध्ययन गरेर जानकारी दिन्छ।

मार्सिसले मंगल ग्रहमा प्रयोग गर्ने प्रविधि पृथ्वीमा जाँच गरिएको थियो। पृथ्वीका बिभिन्न सतहमा मार्सिसको राडारले कुन सतहमा कस्तो संकेत गरेको थियो, त्यसैका आधारमा मंगल ग्रहको सतहको जानकारी लिइएको हो।

‘मार्सिसको राडारले सबैभन्दा राम्रोसँग पत्ता लगाउने सतहमध्ये तरल अवस्थाको पानी एक हो। त्यसैले मंगल ग्रहको भित्रि सतहबाट तरल अवस्थाको पानीजस्तो सिग्नल आइरहँदा हामी निश्चित छौं कि त्यो पानी कै सतह हुनुपर्छ,’ अस्ट्रेलियाको साउदर्न क्विन्सल्यान्ड विश्वविद्यालयका वैज्ञानिक ग्रेजिएला कपारेलीले बताएका छन्।

मार्सिसले पठाएको सिग्नलमा यस्ता दर्जनौं स्थानहरु छन्, जहाँको माइनस ६० डिग्री सेल्सियसको आसपास हुन्छ। सामान्यतया पानी शून्य डिग्री सेल्सियसमा जम्छ। त्यसैले माइनस ६० डिग्री आसपासको क्षेत्रमा पानी तरल अवस्थामा भएको संकेत आउनुले वैज्ञानिकहरु अचम्ममा परेका हुन्।

यद्यपी, केही समय पहिले भएको एक अनुसन्धानले क्याल्सियम र म्याग्नेसियमका लवण भएको स्थानमा माइनस १२० डिग्री सेल्सियसको तापक्रममा पनि लामो समयसम्म पानी तरल अवस्थामै रहने पत्ता लागेको थियो। र, मंगल ग्रहमा प्रचुर मात्रामा क्याल्सियम, सोडियम र म्याग्नेसियमका लवणहरु पाइन्छ।

मंगल ग्रहको सतहको ध्रुवीय क्षेत्रको तापक्रम जति छ, त्यसले पानी तरल अवस्थामा रहन सक्दैन। अहिलेसम्म ज्वालामुखी मात्र एउटा सम्भावित कारण देखिएको छ। तर, ध्रुवीय क्षेत्रमा भूकम्पका घटनाहरु भने देखिएका छैनन्।

त्यसैले, मंगल ग्रहमा देखिएका ति चम्किला सतहहरु के हुन सक्लान्? सो क्षेत्रको तापक्रमका आधारमा भने वैज्ञानिकहरु तरल अवस्थाको पानी हो भनेर मान्न तयार छैनन्।

तर, यदी त्यो तरल अवस्थाको पानीको सञ्जाल नै रहेछ भने त्यो पानी त्यहाँ कसरी आयो, कसरी तरल अवस्थामा रहन सफल भयो भनेर परीक्षण हुनेछ। र, त्यो पानीमा पृथ्वीको जस्तो जीवन सम्भव छ कि छैन भनेर पनि परीक्षण हुनेछ।

प्रकाशित मिति: ०६:५२ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्