Kathmandu Press

घर बगेपछि स्कुलको बास भएकाहरू

‘बाढीले ४० करोड रुपैयाँ क्षति व्यहोर्नुपरेको छ । बसपार्कमा ठूला बस त थिएनन्, तर टिपर, आइचर, बुलेरो, मोटरसाइकल लगायत बाढीले बगायो । हेर्दाहेर्दै बसपार्क डुबायो ।’ 
घर बगेपछि स्कुलको बास भएकाहरू

काठमाडौं, असार ३ : मंगलबार मेलम्ची बजारमा पानी परेको थिएन । साँझतिर मेलम्ची नदीको पानी बढी नै धमिलो देखियो । मेलम्ची बजारमा अस्थायी बसपार्क र होटल सञ्चालन गर्दै आएका टासी लामाको मनमा चिसो पस्यो । उनले माथिल्लो भेगतिर बस्ने आफन्तलाई फोन गरे, सुरुमा फोन उठेन । बारम्बार फोन गरेपछि एक आफन्तले फोन उठाएर भने, ‘यता ठूलो बाढी र पहिरो आएको आधा घन्टा भइसकेको छ । तपाईंहरू सुरक्षित ठाउँमा जानुहोला ।’

यो खबरले टासी आत्तिए र बसपार्कभित्रका होटल व्यवसायीलाई खबर गरे । उनले खबर गरेपछि बसपार्कभित्र भागदौड मच्चिन थाल्यो । उता नेपाली सेना, प्रहरी तथा जनप्रतिनिधिले माइकिङ सुरु गरिसकेका थिए । लामा भन्छन्, ‘मानिस भागभाग भएको १०–१५ मिनेटमै बाढी आयो र सब बगायो । आत्तिएर एक जोर लुगा समेत झिक्न पाइएन । साँझ भएकाले बाँचियो राति भएको भए भाग्न गाह्रो हुन्थ्यो ।’ 

पाँचपोखरी थाङपाल गाउँपालिका– २ मा घर भएका टासीले दुईजना साथीसँग मिलेर मेलम्ची बजारमा ५ वर्षदेखि बसपार्क सञ्चालन गर्दैै आएका थिए । उनीहरूले ३२ करोड रुपैयाँमा १९ रोपनी जग्गा किनेर बसपार्क सञ्चालन गरेका थिए । बसपार्कभित्र १९ वटा सटरमा होटल तथा पसल थिए । अहिले आफ्नो सात जनाको परिवारसहित उनी इन्देश्वरी माविको एक कक्षा कोठामा बस्छन् । दुई पाकेट रारा चाउचाउ देखाउँदै उनले भने, ‘हिजोदेखि केही खाएको थिइनँ, अहिले छोराछोरीले खान कर गरेपछि चाउचाउ लिएर आएको छु ।’ 

ज्यान जोगाउन सफल भए पनि नगद, लत्ताकपडादेखि केही सामान झिक्न पाएनन् । उनी भन्छन्, ‘बाढीले ४० करोड रुपैयाँ क्षति व्यहोर्नुपरेको छ । बसपार्कमा ठूला बस त थिएनन्, तर टिपर, आइचर, बुलेरो, मोटरसाइकल लगायत बाढीले बगायो । हेर्दाहेर्दै बसपार्क डुबायो ।’ 

५२ वर्षीया मैयाछोरी श्रेष्ठको पुरानो मेलम्ची बजारमा तीन तलाको घर थियो । नगरपालिकाले बजारका मानिसलाई सुरक्षित रहन भनेपछि ज्यान जोगाउन उनको परिवार एकसरो लुगामै निस्कियो । मैयाछोरी भन्छिन्, ‘हिजोसम्म आफ्नो घरमा थियौँ, आज स्कुलको पेटीमा पुग्यौँ । न बास रह्यो, न गाँस ।’ 

घर डुबानमा परेका सीता श्रेष्ठ, अस्मिता श्रेष्ठ, विना श्रेष्ठको पनि स्कुलको बास भएको छ । समयमा सूचना पाएकाले मानवीय क्षति नभए पनि भौतिक क्षति व्यहोर्नुपरेको उनीहरूको भनाइ छ । 

अहिले इन्देश्वरी माविमा तीन सयजना भन्दा बढी मानिस बसिरहेका छन् । मेलम्ची बजारको घर बगाएका र डुबानको जोखिममा परेकालाई स्कुलमा राखिएको मेलम्ची नगरपालिकाको भनाइ छ । मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल भन्छन्, ‘एक सयभन्दा बढी कच्ची घर बगाएको छ र एक सयकै हाराहारीमा पक्की घर पुरिएका छन् । गाईवस्तु, कुखुरा, माछा फार्म सबै ध्वस्त भएको छ ।’ 

उनका अनुसार, मेलम्ची नगरपालिकाले निर्माण गर्दै गरेको तीनवटा ठूला योजना समेत बाढीले ध्वस्त पारेको छ । बन्दै गरेको आम हेलम्बु बसपार्क, ग्रिन सिटी पार्क, फोहोर मैला व्यवस्थापन केन्द्रसँगै एक पक्की पुल र एक झोलुंगे पुल बगाएको उनी बताउँछन् । 

तीन सय बस अट्ने आम हेलम्बु बसपार्क निर्माणमा नगरपालिकाले डेढ करोड रुपैयाँ खर्च गरिसकेको थियो । ‘ग्रिन सिटी पार्क निर्माणमा ६ करोड रुपैयाँ खर्च भइसकेको थियो,’ मेयर अर्यालले भने, ‘निर्माणको अन्तिम चरणमा रहेको फोहोर मैला व्यवस्थापन केन्द्रमा लगभग ११ करोड रुपैयाँ लगानी भइसकेको थियो ।’ 

साना घरगोठ कति बगाए तथ्यांक छैैन । बिहीबारदेखि तथ्यांक संकलन गर्ने उनको भनाइ छ । 

मंगलबार पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनी भन्ने ठाउँमा पहिरोले बाढी थुनिएको खबर नगरपालिकालाई प्राप्त भएको थियो । हिमाली क्षेत्रमा केही साता अघिदेखि हिउँ जमिरहेको खबर पनि मेयर अर्यालले पाएका थिए । ‘त्यही हिउँ पग्लिएर पहाडमा एक्कासि बाढी आएकाले हेलम्बुको लाके खोला, मेलम्ची खोला, याङ्ग्रेखोला एकसाथ बौलाएर आएकाले मेलम्ची बजार डुबानमा परेको हो,’ उनले भने । 

मंगलबार रातिदेखि नै मेलम्चीमा पानी होइन लेदो बगिरहेको छ । बुधबार दिउँसोभर लेदो बगेका कारण माथिल्लो भेगमा ठूलो क्षति पुगेको हुन सक्ने उनको भनाइ छ । 

नदीमा भैँसी, ठूलाठूला रुख, मोटरसाइकल, चाउचाउका कार्टुन, ग्यास बगाएर ल्याइरहेको स्थानीय रमा श्रेष्ठ बताउँछिन् । हेलम्बु गाउँपालिका जाने सडक बगाएका कारण माथि जान पाइएको छैन । आफन्त सम्पर्कमा आएका छैनन् । उनले भनिन्, ‘मंगलबारदेखि नै विद्युतीय आपूर्ति बन्द भएकाले हेलम्बुमा के भइरहेको थाहा पाउन सकिएको छैन ।’
 

प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्