पानीजहाजको रुट बनाउँदा खुवालुङको संरक्षण गर्छौं : मन्त्री नेम्वाङ

काठमाडौं, जेठ ३१ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पानीजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगा संरक्षण गर्ने बताएका छन्।

पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँगको छलफलका क्रममा उनले खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिएर मात्र पानीजहाज सञ्चालन गरिने बताएका हुन्।

उनले खुवालुङलाई ध्वस्त पारेर, नष्ट गरेर पानीजहाज सञ्चालन गर्न नखोजेको स्पष्ट पार्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए।

‘खुवालुङ’ धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरुको त्रिवेणीमा रहेको सप्तकोसी नदीमा रहेको ढुंगा हो। त्यसलाई किरात समुदायका मानिसहरूले आदि देवताका रूपमा पुजने गर्दछन्।

केही समयअघि बोट सञ्चालनमा अवरोध गरेको भन्दै त्यो ढुंगा हटाउनुपर्ने आवाज उठेको थियो। त्यो विषयलाई लिएर विवालद पनि उत्पन्न भएको थियो।

छलफलका क्रममा मन्त्री नेम्वाङले जनकपुर-जयनगर रेल सञ्चालनको तयारी थाल्न रेल विभागलाई निर्देशन दिए।  रेल सञ्चालनका लागि अध्यादेश जारी भइसक्दा पनि कोरोना महामारीका कारण काम अगाडि बढाउन नसकिएको उल्लेख गर्दै उनले निगषेधाज्ञा खुल्नेबित्तिकै रेल सञ्चालन गर्नुपर्नेैमा जोड दिए।

यस्तै स्मार्ट कार्ड प्रिन्ट, ठेक्का सम्झौता, भाडा समायोजन लगायतको विषयमा परिणाम देखिनेगरी काम गर्न यातायात व्यवस्था विभागलाई आग्रह गरे।

‘‘नदीनालामा साना बोटहरु सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने र आगामी आर्थिक वर्षमा बजेटमा समावेश भएका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ ध्यान दिन उनी सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिए। 

 Published Date: Monday, 14th June 2021 2:11:00 pm