Kathmandu Press

‘हामी त केही दिन भोकै बस्यौँ, बालबच्चालाई भोकै राख्नुपर्दा पाप गरेझैँ लाग्छ’

‘निषेधाज्ञा सुरु भएको केही दिन एैँचोपैँचो चलाएर पनि टार्‍यौं । सबैको अवस्था उस्तै त हो, दुई–तीन साताअगाडि तीन–चार दिनजस्तो त भोकै बस्यौँ ।
‘हामी त केही दिन भोकै बस्यौँ, बालबच्चालाई भोकै राख्नुपर्दा पाप गरेझैँ लाग्छ’
Hardik ivfHardik ivf

काठमाडौं, जेठ ३० : दोस्रो लहरको कोभिड–१९ नियन्त्रणका लागि वैशाख ११ गतेदेखि निषेधाज्ञा जारी भएसँगै मंगलसेन नगरपालिका– ५, अछामका नौ वादी परिवारलाई हातमुख जोर्न समस्या भएको छ ।

वाद्यवादन, नाचगान र वाद्यबाजा बनाउने पेसा अपनाउँदै आएको यो समुदाय पछिल्लो समय अन्य आर्थिक गतिविधिमा पनि संलग्न हुँदै आएको छ । यहाँका केहीले गिटी कुट्ने काम पनि गर्थे । ‘निषेधाज्ञा भएपछि गिटी कुट्ने काम रोकियो । बजार क्षेत्रमा कपडा धुने, भाँडा माझ्ने काम पनि गथ्र्यौं, त्यो पनि बन्द भयो,’ यहाँकी ४० वर्षीया सीता वादी भन्छिन्, ‘गाउने–बजाउने, बाजाहरु बनाएर बेच्ने हाम्रो पुख्र्यौली पेसा पनि ठप्छ छ, यतिखेर साँझबिहान हातमुख जोर्नै गाह्रो छ ।’

तीन छोराछोरी र दम्पती गरी सीताको पाँचजनाको परिवार छ । एक साताअगाडि कुनै गैरसरकारी संस्थाबाट उनीहरुले १० केजी चामल र एक किलो दाल सहयोग राहत पाएका थिए । त्यसबाट सानो परिवारले एक डेढ साता गुजारा चले पनि ठूलो परिवारलाई दुई–चार दिन पनि पुग्दैन ।  

यहाँका जोगी वादी ‘सरकारले खाद्यान्न नदिए पनि काम गर्न सहज वातावरण बनाइदिए हुन्थ्यो’ भन्ने अपेक्षा राख्छन् । ‘गिटी कुटेर भए पनि मैले ६ जनाको परिवार पाल्थेँ, अहिले काम गर्न पाइएन,’ उनले भने, ‘हामी ठूला मान्छे त एक–दुई भोकै बस्यौँ । बालबच्चालाई भोकै राख्नुपर्दा पाप गरेझैँ लाग्छ ।’ 

यस गाउँका किरी वादी, चल्ली वादी, सुपारी वादी, मोहन वादीको गुनासो पनि उस्तै छ । किरी वादी भन्छन्, ‘सरकारले हामीलाई काम दिनुप¥यो, कामै नभए के खाने ? कि त खाद्यान्न दिनुप¥यो ।’ 

वादी परिवारको हक, अधिकारबारे आवाज उठाउँदै आएकी वादी समुदाय अछामकी अध्यक्ष टंकी वादी आफूहरुको जनसंख्यामा कम भएको र छरिएर रहेकाले सरकारको नजरमा पर्न नसकेको गुनासो गर्छिन् । ‘यहाँ हामी  मंगलसेना– ५, भैँसीडाँडामा बस्छौँ,’ उनी भन्छिन्, ‘६ परिवारका ३३ जना सदस्य छौँ, तीन परिवार भने निषेधाज्ञा हुनुभन्दा अगाडि नै भारत गएका छन् ।’ 

यतिखेर सबै क्षेत्र ठप्प भएकाले आफूहरुको बिचल्ली भएको उनको भनाइ छ । ‘निषेधाज्ञा सुरु भएको केही दिन एैँचोपैँचो चलाएर पनि टा¥यौं । सबैको अवस्था उस्तै त हो, दुई–तीन साताअगाडि तीन–चार दिन जस्तो त भोकै बस्यौँ । खाद्यान्न सहयोग माग्नुप¥यो भन्दै समुदायबाट दबाब आउँछ,’ उनले भनिन्, ‘स्थानीय निकायले एक महिना पुग्ने खाद्यान्न सहयोग गर्दैनन् । स्थानीय तहलाई भन्न जाँदा सहयोग गर्छौं भन्दै टारिदिन्छन् ।’ थोरै जनशक्ति भएका कारण स्थानीय सरकारसम्म आफूहरुको आवाज पुग्न नसकेको उनको भनाइ छ।

वादी परिवारको आफ्नो घर छैन, अझै पनि आफूहरु अरुको गोठमा भाडा तिरेर बसिरहेको उनी बताउँछिन् । वादी परिवार पहिला पूर्ण सुकुम्बासी हुन् । अहिले सरकारले जग्गा किनेर ६ परिवारलाई लालपुर्जा प्रदान गरेको छ । तीन परिवारले लालपुर्जा पाउन बाँकी छ । 

‘सहयोग गर्न वडामा बजेट छैन’ : वडाध्यक्ष 

मंगलसेना नगरपालिका–५ का अध्यक्ष हरिप्रसाद ढुंगाना कार्यालयमा आपतकालीन सहयोगका लागि बजेट नभएको बताउँछन् । ‘कोरोनाको पहिलो लहरमा वादी परिवारलाई खाद्यान्न सहयोग गरिएको थियो तर अहिले सहयोग गरिएको छैन,’ उनले भने, ‘आपतकालीन सहयोगका लागि विपद् कोष नभएका कारण वादी परिवारलाई सहयोग गर्न नसकिएको हो ।’ 

विभिन्न संघ–संस्थाले सहयोग गरे वादी परिवारलाई दिने व्यवस्था मिलाइने उनको भनाइ छ । ‘उहाँहरुलाई खाद्यान्न अभाव भोग्नुपरेर खान नपाई बसेको अवस्थामा छ भने हामीले नगरपालिकालाई पत्र पठाइदिन्छौँ,’ अध्यक्ष भन्छन्, ‘वादी परिवार केही दिनअगाडि वडा कार्यालय आएका थिए तर म कोभिडका कारण कार्यकक्षमा नभएकाले कुराकानी गर्न पाइनँ । दोस्रोपटक आएका छैनन् ।’ 

‘सहयोगका लागि नगरपालिका आउनुपर्याे’ : नगरप्रमुख 

पछिल्लो समय जारी निषेधाज्ञाका बीचमा नगरपालिकामा गुनासो लिएर कोही नआएको मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा बताउँछन् । 

‘नगरपालिका सहयोग गर्न पछाडि सरेको छैन । नगरवासीलाई भोकै राख्दैनौँ तर सहयोगका लागि नगरपालिका आउनुपर्याे,’ उनले काठमाडौं प्रेसलाई फोनमा भने, ‘वादी परिवार सहयोग माग्न नआएका कारण यसपटक सहयोग गरिएको छैन । वादी परिवार भोकै बस्नुपर्दैन तर, एकपल्ट नगरपालिका आउनुपर्याे ।’

वादी परिवारलाई आश्रम दिनका लागि नगरपालिकाले जग्गा किनेर वादी परिवारलाई हस्तान्तरण गरेको उनले बताए । ‘उनीहरुलाई बस्ने व्यवस्थापन गदैछौं,’ उनले थपे, ‘बालबालिकालाई पढाउनुपर्छ भनेर वादी परिवारका बालबालिकालाई शिक्षामा लाग्न प्रेरित गरेका छौंँ ।’ 

को हुन् वादी ?

मानव अधिकार पत्रिका ‘संवाहक अंक ८’ मा समाविष्ट वादी समुदाय बारेको महेश शर्मा पौडेलको शोध लेखका अनुसार, २०५८ को जनगणनामा वादी समुदायको कुल जनसंख्या चार हजार आठ सय ९३ मात्र थियो । २०६८ को जनगणनाअनुसार, वादी समुदायको संख्या ३८ हजार ६ सय तीन छ । ०५८ को जनगणनामा वादीहरूले आफूलाई वादी समुदायको भन्न अनिच्छुक र हिचकिचाहत गरेका कारण जनसंख्या कम देखिएको अनुमान गरिन्छ । 

कृतबाट लिइएको ‘वादी’ शब्दको उत्पत्तिका सम्बन्धमा विभिन्न धारणा पाइए पनि यसको अर्थ ‘वाद्यवादन’ भन्ने बुझिन्छ । हिन्दू समाजमा प्राचीनकालदेखि तत्कालीन सामाजिक व्यवस्था र राज्यहरुले यो समुदायलाई वाद्यवादन, नाचगान र बाजा बनाउने जस्ता काम वा पेसामा लगाएको बुझिन्छ । तसर्थ, नेपालमा भूमिहीन हुन पुगेको यो समुदायले लामो समयदेखि भूमिअधिकार लगायत मागसहित आन्दोलन गर्दै आएको छ । 


 

प्रकाशित मिति: १६:४३ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्