Kathmandu Press

संवैधानिक इजलासमा संलग्न न्यायाधीशमा विवाद, अर्को इजलास गठनको सम्भावना

संवैधानिक इजलासमा संलग्न न्यायाधीश बमकुमार श्रेष्ठको विषयमा विवाद उत्पन्न भइपछि अनायास सुनुवाइ स्थगित भएको छ । रिट निवेदकका तर्फबाट बहसमा पुगेका अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठ नेकपाको नामसम्बन्धी विवादको फैसलामा संलग्न भई निर्णय दिइसकेको अवस्थामा न्यायमा प्रश्न उठ्नसक्ने भन्दै आपत्ति जनाएका थिए ।
संवैधानिक इजलासमा संलग्न न्यायाधीशमा विवाद, अर्को इजलास गठनको सम्भावना

काठमाडौं, जेठ १४ : संवैधानिक इजलासमा संलग्न न्यायाधीश बमकुमार श्रेष्ठको विषयमा विवाद उत्पन्न भइपछि अनायास सुनुवाइ स्थगित भएको छ । रिट निवेदकका तर्फबाट बहसमा पुगेका अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठ नेकपाको नामसम्बन्धी विवादको फैसलामा संलग्न भई निर्णय दिइसकेको अवस्थामा न्यायमा प्रश्न उठ्नसक्ने भन्दै आपत्ति जनाएका थिए ।

बन्दीले प्रश्न उठाएपछि विपक्षी सरकारका तर्फबाट उपस्थित महान्यायाधिवक्ता रमेश बडालले भने इजलास गठनको अधिकार प्रधानन्यायाधीशको हुने भन्दै श्रेष्ठलाई कायम गर्न माग गरे । सक्षम न्यायाधीशमाथि शंका गर्न नहुने भनाइ बडालको थियो । बन्दीले श्रेष्ठ इजलासमा रहँदा न्यायमा अविश्वास र प्रश्न उठ्नसक्ने भन्दै असहमति जनाए । त्यसपछि रिटमाथिको सुनुवाइ आइतबारसम्मका लागि स्थगित भएको छ ।

श्रेष्ठ र अर्का न्यायाधीश कुमार रेग्मी संलग्न संयुक्त इजलसासले नेकपाको एकता बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग–अलग गरिदिएको थियो । उनै श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर बन्दीसँगै रिट निवेदकका अरू कानून व्यवसायीले समेत आपत्ति जनाएका थिए ।

श्रेष्ठलाई इजलासमा राखेर कसरी जनताले विश्वास गर्छन् भन्ने चिन्ता रहेको बन्दीले काठमाडौं प्रेसलाई बताए । ‘नेकपा विभाजन गरेको भनेर सामाजिक सञ्जाल र मिडियामा छ्याप्छ्याप्ती छ । भोलि जनताले नै कसरी विश्वास गर्छन् भन्ने कुरा हो,’ बन्दीले भने, ‘श्रेष्ठलाई इजलासमा राख्दा विश्वास रहँदैन । शंका उठ्छ । हामीले हुन्न भनेपछि आइबारसम्मका लागि इजलास उठे । आइतबार पनि यही अवस्था दोहोरियो भने हामीले फेरि पनि प्रश्न उठाउँछौँ ।’

बन्दीले आपत्ति जनाएपछि रिट निवेदकले समेत ‘हाम्रो नि त्यही धारणा हो’ भन्दै असहमति जनाएका थिए । त्यसपछि इजलासमा विवाद उत्पन्न भएको हो । यसअघि पनि विघटन विवादमा संवैधानिक इजलासमा संलग्न न्यायाधीश हरिकृष्ण कार्कीका विषयमा वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले प्रश्न उठाएपछि इजलासबाट आफैँ अलग भएका थिए । मुख्य दाबीकर्ता रिट निवेदकले नै विश्वसनीयताको प्रश्न उठाएपछि श्रेष्ठ पनि बाहेक हुने सम्भावना बढेको छ । आइतबार अर्को इजलास गठन हुने अनुमान गरिएको छ । यसैबीच प्रधानन्यायाधीश राणाले बहसका लागि कानून व्यवसायीलाई १५–१५ मिनेट समयसीमा तोकिदिएका छन् ।
 

प्रकाशित मिति: १४:४९ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्