Kathmandu Press

कुइरा मान्ठ, अमेरिका मोह र जुम्ली चस्मा

कक्षा १२ मा उपन्यासकार एफ स्कट फिजेराल्डको ‘द ग्रेट ग्याट्स्बी’ उपन्यास पढेँ। त्यसले तत्कालीन अमेरिकी सपना र अमेरिकी जीवनका उतारचढाव, समाज र वर्गको रोचक चित्रण गरेको पाएँ। त्यसपछि अमेरिकाबारे थप बुझ्न मन लाग्यो।
कुइरा मान्ठ, अमेरिका मोह र जुम्ली चस्मा

काठमाडाैं : वैशाख २८ : आजभन्दा करिब १३ वर्षअघि कक्षामा अमेरिकाको प्रसंग उठ्यो। गुरुले भने– नेब्रास्का अमेरिकाको कर्णाली हो। सुरुमा अमेरिका पुगेका नेपाली यहीँ बस्छन्, पछि अलि बाठाटाठा भएपछि अन्ततिर लाग्छन्।

म झसंग भएँ, अमेरिकामा पनि हाम्रो कर्णालीमा जस्तै अभाव र कठिनाइ छ ?

कक्षा १२ मा ऐच्छिक अंग्रेजी विषय अन्तर्गत प्रसिद्ध अमेरिकी उपन्यासकार एफ स्कट फिजेराल्डको ‘द ग्रेट ग्याट्स्बी’ उपन्यास पढेँ। त्यसले तत्कालीन अमेरिकी सपना र अमेरिकी जीवनका उतारचढाव, समाज र वर्गको रोचक चित्रण गरेको पाएँ। त्यसपछि अमेरिकाबारे थप बुझ्न मन लाग्यो। संयोगवश हामीलाई पढाउने दुईजना शिक्षक अमेरिका भ्रमण गरेर आएका थिए। एकजना पेसाले पत्रकार थिए, अर्का अध्ययन गरेर आएका। पाठ्यक्रममा पनि अमेरिकाको चर्चा हुन्थ्यो। गुरुहरूले अमेरिकालाई ‘मेल्टिङ पट’ भन्थे। भव्य जीवनशैली, विकास, सम्भावना र मौका अमेरिकाको परिचय हुन्थ्यो। तर, अल्पविकसित राष्ट्र त्यसमाथि जुम्लामा जन्मे हुर्केको मजस्तो निम्नमध्यम वर्गको युवालाई अमेरिका धेरै टाढा थियो र छ।

मैले पहिलोपटक अमेरिकी अर्थात् कुइरा मान्ठ देखेको जन्मथलो जुम्लाको सिम्पाटीमा हो। सलक्क परेको अग्लो कद, हातमा लठ्ठी, घाँटीमा क्यामेरा, पिठ्युँमा झोला भिरेका कुइरा मान्ठ लस्करै लमकलमक हिँड्थे। प्रायः ओखरापाटामा त्यो लस्कर देखिन्थ्यो। त्यसताका ओखरपाटा रारा पुग्नका लागि सबैभन्दा छोटो दूरी भएको बिन्दु थियो। अहिले दृश्य फरक छ, कर्णाली लोकमार्गमा गाडी चलेको देख्न सकिन्छ। अब मान्ठहरू सरर सवारीसाधनमा राराको यात्रा गर्न सक्छन्।

त्यतिबेला कुइरा मान्ठहरू हरेक वस्तु घोत्लिएर हेर्थे, दायाँबायाँका पाखापखेरा, नदी, जीवजन्तु बालबालिका, बूढाबूढीको फोटो कोण मिलाएर खिच्थे। ठाउँठाउँमा रोकिँदै, खाम भाषाजस्तै बोल्थे। त्यो उनीहरूको भाषा थियो, सम्भवतः फ्रेन्च, स्पेनिस, अंग्रेजी भाषा। सायद ती अम्रिकाने रारा यात्रामा हिँडेका हुनुपर्छ। अहिले भएको भए सोध्थेँ होला, तर ऊबेला मेरो भाषिक क्षमता थिएन। अझ बालबच्चा रुदाँ डर देखाउन भनिन्थ्यो– पर अम्रिकाने छ, त्यसलाई बोलाऊँ !

भर्खर भर्खर मैले कुइरा मान्ठ देख्न थाल्दा अमेरिका भन्ने देश मेरो मानसपटलमा थिएन। काठमाडौं आएपछि अमेरिका संसारको धनी देश हो, शक्तिशाली देश हो भन्ने सुनेँ, पढेँ। भौतिक रुपमा म म अमेरिका पुगेको छैन, तर सञ्चार र प्रविधिको देनले धेरथोर जानकारी पाएको छु।

वास्तवमा कुइरा मान्ठको देश सारा संसारको सपना नगरी हो। कुइरा मान्ठको विकसित देश जान लोभ लाग्नु स्वाभाविक लाग्छ। मैले अमेरिकाप्रति कुनै मोह छैन भने झुट हुन्छ। भलै मातृभूमिको माया र मेरो जुम्ली चस्माले मेरा धारणा र तर्क बेग्लै होलान्।

मैले अमेरिकाको भव्यता नदेखे पनि जुम्लाको विकटता भोगेको छ, तर प्राकृतिक रूपमा जुम्ला पनि आफैँमा अगाडि छ भन्ने मेरो ठम्याइ छ। जुम्लाका जडिबुटी अमेरिकामा उत्पादित कुनै एलोप्याथिक औषधिभन्दा कम नहोला। अमेरिकाको एप्पल ब्रान्डले भन्दा जुम्लाको अर्गानिक स्याउले मानिसको स्वास्थ्यमा हित गर्ला, (यहाँ प्रविधिको विरोध होइन, प्रकृतिको पक्षधरता मात्रै हो)। कर्णालीका नदीनालाबाट ऊर्जा, सिँचाइका सम्भावना कम छैनन्। रारा, सेफोक्सुन्डो, अग्ला हिमाल हाम्रा सम्पत्ति हुन्। तर, आजको मितिसम्म कर्णालीको परिचय अभाव, कठिनाइसँग जोडिएको छ।

कोरोनाको कहरयता कुइरा मान्ठ अर्थात् सेता छाला भएका मान्छेको उपस्थिति देशमा एकदम न्यून छ। राष्ट्रकै सबैभन्दा बलियो मेरुदण्ड मानिएको पर्यटन व्यवसाय ठप्प छ। होटल तथा रेस्टुरेन्टहर बन्द छन्, हजारौँ मजदुर बेरोजगार बन्न पुगेका छन्। लाखौँ विदेशीबाट संकलन हुने राजस्व लगभग बन्द भएको छ। त्यसैले हिजोआज कुइरा मान्ठ सडकमा नदेखिएको धेरै भयो ! जीवनमा पहिलोपल्ट कुइरा मान्ठ देखेको अझै झल्झली याद आउँछ।
 
ऊबेला सेता छाला भएका विदेशी नागरिकलाई अमेरिकी (अम्रिकाने) भन्ने चलन थियो, यसो भन्ने जमात अझै समाजमा भेटिन्छन्। भलै सेतो छाला भएको मानिस युरोपेली, अस्ट्रेलियाली, ल्याटिन अमेरिकी हुन सक्छ, तर कैयौँ नेपालीको नजरमा ती व्यक्ति अमेरिकी हुन्। नेपाली ग्रामीण सन्दर्भमा गोरा मानिस र अमेरिकी एकअर्काका परिपूरक हुन् भन्दा फरक नपर्ला।

सहरमा आएपछि थाहा पाएँ– अमेरिका त धेरैको सपनाको देश रहेछ। अमेरिकाप्रति मान्छेका सपना अथाह रहेछन्। नेपालजस्तो विकासोन्मुख राष्ट्रका नागरिकले धनी देशमा बस्न वा काम–पेसा गर्ने सपना देख्नु अस्वाभाविक होइन।

सहरियाहरू कुराकुरामा अमेरिका जोड्थे। जानेको कुरा छाडौँ, मेरा बाबुनानी वा आफन्त अमेरिकामा छन् भन्न पाउँदा धेरैले गर्व गर्दा रहेछन्। ‘न्यायग्रा फल्स’ हेर्ने, स्टाचु अफ लिबर्टीअगाडि उभिएर तस्बिर खिचाउने धेरैको रहर देखिन्छ। मध्यम तथा उच्च वर्गीय परिवारका प्रायः सदस्यको पहिलो चाहना अमेरिका जाने, नभए बेलायत, अस्ट्रेलिया या स्कान्डिनेभिया राष्ट्र छान्ने।

डिभी भर्नेदेखि सेलेब्रिटीको आवरणमा, विद्यार्थी वा कामदारका रुपमा अमेरिका पस्न खोज्नेहरू थुप्रै देखिन्छन्। अझ कुनै पनि वैध उपाय नलागे अवैध रूपमै पनि अमेरिका जान खोज्नेहरू छन्। अमेरिकाको ‘भिसा ट्राई’मै देशको थुप्रै पैसा बिदेसिएको छ। अर्कोतिर, जान नपाएर दलालबाट ठगिएकाहरू पनि समाजमा भेटिन्छन्। अमेरिका पुग्न मान्छेले कतिसम्म जोखिम मोल्न सक्छ भनेर विभिन्न वृत्तचित्रमा देखाइएका पनि छन्।

अमेरिकी राज्य नेब्रास्काको परिचय हाम्रो कर्णालीको जस्तो छैन। अमेरिकी सरकार नेब्रास्काको अवस्था दिनानुदिन सुधार्न अहोरात्र लागिपरेको छ। अहिलेको मितिमा नेब्रास्काको तुलना कर्णालीसँग गर्न मिल्दैन। आज नेब्रास्काको अवस्था अन्य अमेरिकी राज्यको जस्तै भइसकेको छ। यता भने सरकारले नै कर्णालीलाई पीडादायी परिचय बनाउन अहं भूमिका खेलेको देखिन्छ। नत्र प्राकृतिक सम्पदाको खानी कर्णालीलाई गरिबीसँग तुलना गर्ने थिएनन्। दुःखपीडालाई परिचय बनाउने थिएनन्। कर्णालीको मनग्ये धनलाई वृद्धका चाउरी परेका गालासँग दाँज्ने थिएनन्।

 

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्