Kathmandu Press

गर्भावस्थाका महिलामा कोभिड–१९ को जोखिम उच्च : अध्ययन

कोभिड–१९ महामारी सुरु हुँदा गर्भावस्थाका महिलालाई यसले पार्ने असरबारे हामीलाई धेरै कम ज्ञान थियो । स्थिति परिवर्तन भएको छ, त्यसमा हामीले धेरै ज्ञान...
गर्भावस्थाका महिलामा कोभिड–१९ को जोखिम उच्च : अध्ययन

कोभिड–१९ महामारी सुरु हुँदा गर्भावस्थाका महिलालाई यसले पार्ने असरबारे हामीलाई धेरै कम ज्ञान थियो । स्थिति परिवर्तन भएको छ, त्यसमा हामीले धेरै ज्ञान आर्जन गरिसकेका छौँ । तथापि, चिकित्सकले गरेको अपेक्षाको तुलनामा यस पाटो केही ढिलोगरी अनुसन्धान भयो । ढिलै सही, नयाँ अध्ययन र अनुसन्धानले गर्भावस्थामा कोभिड–१९ को जोखिम यसअघि हामीले सोच्ने गरेकोभन्दा उच्च रहेको पत्ता लगेको छ ।

‘आमा र शिशुमा कोभिड–१९ को जोखिम हामीले आकलन गरेभन्दा उच्च छ भन्ने अहिले हामीलाई जानकारी छ । त्यसैले स्वास्थ्य मापदण्ड आमा र शिशुको हकमा पनि अझ सघन रूपमा अपनाउनुपर्ने देखिएको छ,’ अक्सफोर्ड विश्वविद्यालयका प्रजनन् चिकित्सा अनुसन्धानकर्ता स्टेफन केनेडीले भने, ‘नयाँ खोजबाट परिवारलाई मद्दत पुग्ने अपेक्षा छ । किनकि, संक्रमित हुनबाट जोगिन सबैले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डमा स्पष्टता आएको छ । र, यसले सबै गर्भवतीलाई खोप दिने प्रक्रियालाई सुदृढ बनाउँछ ।’

शोधकर्ताले २०२० मार्चदेखि अक्टोबरसम्म १८ मुलुकका दुई हजार एक सय ३० गर्भवतीमाथि अध्ययन गरेका थिए । तीमध्ये सात सय ६ जनामा कोरोना संक्रमण भएको थियो । कोरोना संक्रमण नभएका बाँकी महिलामा गरिएको अध्ययनलाई शोधकर्ताले ‘इन्टरकोभिड’ नाम दिएका छन् । कोरोना संक्रमित गर्भवतीलाई शोधकर्ताले शिशु नजन्मिउन्जेल निरन्तर फलोअप गर्दै अध्ययन पूरा गरेका थिए ।

यो अध्ययन अवलोकनात्मक थियो, जसबाट गर्भावस्थामा कोभिड–१९ को जोखिमबारे धेरै तथ्य पत्ता लागेका छन् । कोरोना संक्रमित गर्भवतीको अवस्था निरन्तर नाजुक पाइएको थियो ।

‘यो एक महत्त्वपूर्ण अध्ययन हो,’ युनिभर्सिटी अफ मोन्ट्रियल हस्पिटल रिसर्च सेन्टरका इपिडिमियोलोजिस्ट नताली आगरले भनिन्, ‘टोलीले गर्भावस्थादेखि नै महिलाहरूको अध्ययन गरे, त्यसका लागि उत्कृट रूपरेखा अपनाइएको थियो । यसअघि भएका अध्ययनभन्दा यसले फरक नतिजा प्राप्त भएको छ ।’

अनुसन्धानले कोरोना संक्रमित गर्भवतीमा गम्भीर संक्रमण, आईसीयूमा भर्ना गर्नुपर्ने र मृत्युसम्मको उच्च जोखिम रहने पत्ता लगाएको छ । शिशुहरू पनि समयभन्दा अगाडि नै जन्मिने र स्वास्थ्यमा अन्य जटिलता देखिएको थियो ।

‘संक्रमित गर्भवतीमा समयअघि नै शिशु जन्मिने, उच्च रक्तचापलगायत समस्या उत्पन्न गर्ने प्रि–एक्लेम्पसिया, आईसीयूमा भर्ना गर्नुपर्ने र मृत्यु हुनेजस्ता जटिलता देखिएका छन् । त्यस्तो जटिलता सम्भावना ५० प्रतिशतभन्दा बढी हुने देखिएको छ,’ अक्सफोर्डका फेटल मेडिसिन रिसर्चर तथा यस अध्ययनमा सहभागी शोधकर्ता एरिस पापायोर्गिऊले भने, ‘संक्रमित महिलाका नवजात शिशुमा पनि झन्डै तीन गुणा बढी गम्भीर स्वास्थ्य जटिलता थियो ।’ उनका अनुसार समयअघि नै जन्मेका शिशुलाई नियोनेटल आईसीयूमा भर्ना गर्नुपरेको थियो । ‘शुभ समाचार,’ उनले भने, ‘लक्षणविहीन संक्रमित महिला र गैर–संक्रमित महिलामा जोखिम समान थियो ।’

कोरोना भाइरस आमाबाट शिशुमा सर्ने विषय दुर्लभ मानिँदै आएको छ । तर, अध्ययनबाट करिब १३ प्रतिशत शिशुमा जन्मेको केही समयपछि कोरोना संक्रमण पाइएको छ । अध्ययनबाट सिजेरियन डेलिभरी भएका शिशुमा कोरोना संक्रमणको जोखिम उच्च पाइएको छ । तर, स्तनपान गरिरहेका शिशुमा त्यस्तो जोखिम पाइएको छैन ।

- साइन्स अलर्ट डट कम

प्रकाशित मिति: ०६:२६ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्