Kathmandu Press

मंगलग्रहमा अक्सिजन उत्पन्न गर्दै पर्सभिरेन्स यान

नासाको पर्सभिरेन्स यानले इतिहास रच्दैछ । ६ पांग्रे रोबोटले मंगल ग्रहको वायुमण्डलमा उपलब्ध कार्बन डाइअक्साइडलाई अक्सिजनमा परिणत गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी...
मंगलग्रहमा अक्सिजन उत्पन्न गर्दै पर्सभिरेन्स यान

नासाको पर्सभिरेन्स यानले इतिहास रच्दैछ । ६ पांग्रे रोबोटले मंगल ग्रहको वायुमण्डलमा उपलब्ध कार्बन डाइअक्साइडलाई अक्सिजनमा परिणत गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्य ग्रहमा अक्सिजन उत्पादनमा पहिलोपटक सफलता प्राप्त भएको जनाएको छ ।

‘मंगल ग्रहमा कार्बन डाइअक्साइडलाई अक्सिजनमा परिवर्तन गर्ने यो जटिल तर महत्त्वपूर्ण कदम हो,’ नासाको स्पेस टेक्नोलोजी मिसन निर्देशनालयका एसोसिएट प्रशासक जिम रोयटरले भने । गत २० अप्रिलमा यो प्रविधि पहिलोपटक प्रयोग गरिएको थियो । यसमा प्रयोग भएका उपकरण भविष्यमा मानिसले गर्ने अन्वेषणका लागि उपयोगी हुने वैज्ञानिकहरूको आशा छ ।

यो प्रक्रियाले भविष्यमा अन्तरिक्ष यात्रीलाई सास फेर्न आवश्यक अक्सिजन उत्पादनमा मद्दत पु¥याउने उनीहरूको भनाइ छ । यस्तै, अन्तरिक्ष यात्राबाट फर्किँदासम्मका लागि अन्तरिक्ष यानमा पृथ्वीबाटै ठूलो परिमाणमा अक्सिजन लिएर जानुपर्ने बाध्यता पनि हटाउने वैज्ञानिकहरूको विश्वास छ ।

यस प्रयोगलाई ‘द मार्स अक्सिजन इन–सिटु रिसोर्स युटिलाइजेसन एक्सपेरिमेन्ट’ (मोक्सी) नाम दिइएको छ । यो कारको ब्याट्रीको आकारमा रहेको सुनको बक्स हो । र, पर्सभिरेन्स यानको अघिल्लो भागमा दायाँपट्टि जडित छ ।

‘मेकेनिकल ट्री’को आकार दिइएको यसले कार्बन डाइअक्साइड अणुहरूलाई छुट्याउन बिजुली र रसायन प्रयोग गर्छ । र, यो कार्बनको एक र अक्सिजनका दुई कण मिलेर बनेको हुन्छ । ‘बाइ प्रोडक्ट’का रूपमा यसले कार्बन मोनोअक्साइड उत्पादन गर्छ ।

पहिलो चरणमा मोक्सीले पाँच ग्राम अक्सिजन उत्पादन ग¥यो, जुन एक अन्तरिक्ष यात्रीले १० मिनेटबराबर सामान्य गतिविधि गर्दा सास फेर्न प्रयोग गर्ने अक्सिजनको मात्रा हो । इन्जिनियरहरूले अब धेरै परीक्षण गर्नेछन् र यसको उत्पादन बढाउने प्रयास गर्नेछन् । प्रतिघण्टा १० ग्राम अक्सिजन उत्पादन गर्न सक्ने योजनाका साथ यसलाई डिजाइन गरिएको छ ।

यसको डिजाइन म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)मा गरिएको थियो । निकेल धातुजस्ता वस्तुमार्फत मोक्सीलाई ताप प्रतिरोधी बनाइएको छ । र, एक हजार चार सय ७० डिग्री फरेनहाइट (आठ सय सेल्सियस) ताप सहन गर्न सक्नेगरी डिजाइन गरिएको छ । र, यसमा प्रयोग भएको पातलो सुनको लेपनले यानमा ताप प्रसारण हुनबाट रोक्छ ।

एमआईटीका इन्जिनियर माइकल हेचका अनुसार मोक्सीको एक टन संस्करणले मंगल ग्रहमा विष्फोट गर्दा रकेटका लागि आवश्यक करिब ५५ हजार पाउन्ड अक्सिजन उत्पादन गर्न सक्छ ।

मंगलको सतहमुनिबाट बरफ निकाल्ने र अक्सिजन बनाउन ‘इलेक्ट्रोलाइजिङ’ गर्नुभन्दा मंगल ग्रहको ९६ प्रतिशत कार्बन डाइअक्साइडयुक्त वायुमण्डलबाट अक्सिजन उत्पादन गर्ने तरिका अझ व्यावहारिक विकल्प हुनसक्ने वैज्ञानिकहरूको ठम्याइ छ ।

मंगल ग्रहमा सम्भावित सूक्ष्म जीवको खोजीमा नासाले पर्सभिरेन्स यान पठाएको हो, जुन १८ फेब्रुअरीमा त्यहाँ अवतरित भएको थियो । यस यानमा पठाइएको मिनी हेलिकप्टरले पृथ्वीबाहेकको ग्रहमा पहिलो उडान गरेर इतिहास रचेको छ । र, पर्सभिरेन्स आफैँले पहिलोपटक मंगल ग्रहको आवाज पनि रेकर्ड गरेको छ ।

साइन्स अर्लट डट कमबाट

प्रकाशित मिति: ०६:३३ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्