Kathmandu Press

इन्धन बनाउन सकिन्छ प्लास्टिकलाई

प्लास्टिक रिसाइक्लिङ उद्योगले आशातीत सफलता पाएका छैनन् । हालसम्म उत्पादित प्लास्टिकको नौ प्रतिशत मात्र पुनप्र्रयोग (रिसाइकल) मा सफलता मिलेको छ । करिब १२...
इन्धन बनाउन सकिन्छ प्लास्टिकलाई

प्लास्टिक रिसाइक्लिङ उद्योगले आशातीत सफलता पाएका छैनन् । हालसम्म उत्पादित प्लास्टिकको नौ प्रतिशत मात्र पुनप्र्रयोग (रिसाइकल) मा सफलता मिलेको छ । करिब १२ प्रतिशत प्लास्टिक जलाइन्छ । हालसम्म उत्पादित ७९ प्रतिशत प्लास्टिक विश्वभर जथाभावी फालिएको छ ।

जलवायु परिवर्तन र वातावरण विनाशको मुद्दा पेचिलो बन्दै गर्दा वैज्ञानिकहरू प्लास्टिकबाट इन्धन तयार पार्ने अनुसन्धानमा व्यस्त छन् । प्लास्टिकको एक प्रकार पोलिओलेफिनलाई इन्धनमा परिणत गराउन सकिने उनीहरूको ठम्याइ छ ।

‘एकपटक प्रयोग भएको प्लास्टिकले ठूलो वातावरणीय जोखिम उत्पन्न गर्छ । र, त्यसको पुनप्र्रयोग झनै चुनौतीपूर्ण देखिएको छ,’ अमेरिकाको डेलावेयर विश्वविद्यालयका शोधकर्ताले लेखेका छन्, ‘हामीले पोलिओलेफिनबाट तरल इन्धन डिजल, विमानमा प्रयोग हुने इन्धन हाइड्रोकार्बन र पेट्रोलमा रूपान्तरण गर्न प्रत्यक्ष विधि छनोट गर्न सकिने रिपोर्ट दिएका छौँ ।’

प्लास्टिकलाई इन्धन बनाउन सकिनेबारे वैज्ञानिकहरूको अनुसन्धान यो पहिलो होइन । वर्षौँदेखि यसका विभिन्न विधि वैज्ञानिकहरूले सुझाइरहेकै छन् । बढीभन्दा बढी प्लास्टिकलाई इन्धनमा रूपान्तरण गर्न सकिनेबारे अनुसन्धान भइरहेका छन् ।

यो नयाँ प्रविधिले अन्य उस्तै प्रकारका प्रविधिको तुलनामा ५० प्रतिशत कम ऊर्जा खपत गर्छ । साधारण किचेन ओभनको तापमानमा पनि काम गर्न सकिन्छ । वातावरणमा कार्बन डाइअक्साइड फैलाउँदैन । वास्तवमै यो उपयोगी छ ।

‘प्लास्टिकको फोहोर गम्भीर वातावरणीय मुद्दा हो । मलाई यो अनुसन्धानले प्लास्टिकको पुनप्र्रयोगबाट अझ राम्रा विधिहरू अपनाउन मद्दत गर्छ भन्ने लाग्छ,’ अनुसन्धानमा संलग्न केमिकल इन्जिनियर एन्ड्रयु डेनियल्सनले भने ।

शोधकर्ताले प्लास्टिकमा भएको कार्बन बोन्ड तोड्न हाइड्रोक्र्याकिङ भनिने रासायनिक प्रक्रिया प्रयोग गरे । जियोलाइट्स र मिश्रित मेटल अक्साइड भनिने खनिजहरूले बनेको उत्प्रेरकको प्रयोग गर्दै यो रासायनिक प्रक्रिया उत्पन्न गराइयो । धातु मिश्रित अक्साइडहरू ठूला अणुहरू टुक्र्याउन प्रयोग गरिन्छ तर जियोलाइट्सले ब्रान्च अणुको बनावटलाई संरक्षण गर्छ– एक तरिका जसले प्लास्टिकको तरल अवस्थालाई सजिलै इन्धनमा परिणत गर्छ ।

‘यी दुई उत्प्रेरकले भिन्दै राम्ररी काम गर्न सक्दैनन् । तर, सँगै यी दुईको मिश्रणले जादु देखाउन सक्छ । यो मिश्रणले प्लास्टिकलाई पगाल्छ र प्लास्टिकको केही अंश पनि छोड्दैन,’ अनुसन्धानमा संलग्न बायोमोलिक्युलर इन्जिनियर डियोन भ्लाचेसले भने, ‘यी अनौठा सामग्रीहरू होइनन्, त्यसैले हामीले कसरी यो प्रविधि प्रयोग गर्न सक्छौँ भनी छिटो सोच्नुपर्छ ।’

अहिले विश्वमा प्लास्टिक फोहोरको समस्या अन्त्य गर्ने कुरा लगभग असम्भवजस्तो देखिएको छ । तर, एक चक्रीय प्रणाली कायम राख्न प्लास्टिकमा प्रयोग हुने कच्चा पदार्थ जमिनबाट उत्खनन् गर्न बन्द गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ । आगामी १० देखि २० वर्षमा सम्भव हुन सक्ने प्रविधिको विकासका लागि अहिल्यैदेखि सुरुवात गर्नुपर्ने वैज्ञानिकहरूको सुझाव छ ।

- साइन्स अलर्ट डट कमबाट
 

प्रकाशित मिति: ०६:२८ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्