Kathmandu Press

आतंकवादी आक्रमण भर्सेस सीपीईसी

चीन-पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) अन्तर्गत् बलुचिस्तानमा विकासका धेरै परियोजना सञ्चालनमा छन्। त्यसमध्ये ग्वादर बन्दरगाह विश्वभर परिचित छ। यसक्षेत्रमा चिनियाँ व्यवसायी र कर्मचारीलाई लक्षित गर्दै यसअघि पनि आक्रमण भएको थियो।
आतंकवादी आक्रमण भर्सेस सीपीईसी

पाकिस्तान बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा गत बुधबार राति एक होटेलको पार्किङमा भएको बम विस्फोटमा परी चारको मृत्यु र १२ घाइते भए। पाकिस्तान सरकारले यसलाई ‘आतंकवादी हमला’ भनेको छ। र, त्यस होटेलमा पाकिस्तानका लागि चीनका राजदूतसहित चार चिनियाँ कूटनीतिज्ञ बसेका थिए। विष्फोटको समयमा भने चिनियाँ राजदूत बैठकका लागि होटेलबाहिर निस्केका थिए। चिनियाँ प्रतिनिधिमण्डलका सबै सदस्य सुरक्षित छन्।

‘तेहरिक-ए-तालिबान पाकिस्तान’ नामक लडाकु समूहले बम विष्फोटको जिम्मा लिएको छ। तर, आक्रमणको लक्ष्य अज्ञात छ। त्यसैले, यो आक्रमण चिनियाँ राजदूत नोङ रोङ र उनको टोलीका सदस्यलक्षित हो वा होइन भन्ने निष्कर्षमा पुग्न हतारो हुनेछ।

चीन-पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) अन्तर्गत् बलुचिस्तानमा विकासका धेरै परियोजना सञ्चालनमा छन्। त्यसमध्ये ग्वादर बन्दरगाह विश्वभर परिचित छ। यसक्षेत्रमा चिनियाँ व्यवसायी र कर्मचारीलाई लक्षित गर्दै यसअघि पनि आक्रमण भएको थियो। युरोपेली र अमेरिकी सञ्चार माध्यमले त्यस्ता आक्रमणलाई चीनद्वारा प्रस्तावित ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) को विपक्षमा स्थानीय बासिन्दा रहेको ‘न्यारेटिभ’ स्थापित गर्न खोजिरहेका छन्, जुन वास्तविकता होइन।

किनकि, पाकिस्तानमा त्यस्तो कुनै राजनीतिक शक्ति छैन, जसले आफूलाई चीनविरोधी र बीआरआईविरोधीको रूपमा चिनाउँछ। चीनप्रति पाकिस्तानी समाजको समग्र दृष्टिकोण मैत्रीपूर्ण छ। बीआरआईप्रति पाकिस्तानमा व्यापक सर्मथन छ। कारण- यसले आर्थिक विकासलाई अघि बढाएको छ। र, सीपीईसीमार्फत व्यापक रोजगारी सिर्जना भएको छ। तथापि, सुविधा वितरणको सवालमा केही निश्चित विवाद छन्। तर, ती त्यति जटिल छैनन्।

पाकिस्तानमा आतंकवादी आक्रमण मुख्यतया घरेलु राजनीतिक द्वन्द्वका परिणाम हुन्। कहिलेकाहीँ त्यस्ता आक्रमणमा पाकिस्तानमा रहेका चिनियाँ नागरिक पनि पीडित बन्छन्। र, कहिलेकाहीँ चिनियाँ नागरिकमाथि आक्रमण गर्नुको अर्थ पाकिस्तान सरकारलाई उल्झनमा पार्ने उद्देश्यबाट पनि प्रेरित हुन्छ। इस्लामाबादले पछिल्ला वर्षमा आतंकवादविरुद्ध लड्न प्रभावकारी काम गरेको छ, जसले आतंकवादी आक्रमणमा कमी आएको छ। तथापि, सीपीईसी निर्माणमा प्रगतिसँगै पाकिस्तान पुग्ने चिनियाँ नागरिक अझ बढ्ने छन्। र, सम्भावित आतंककारी हमला रोक्न पाकिस्तान सरकारले पनि थप कदम उठाउने आशा छ। र, त्यस्तो कदमले पाकिस्तानमा चिनियाँ नागरिकको सुरक्षा प्रत्याभूति दिनेछ।

पाकिस्तानले त्यहाँ पुगेका चिनियाँ नागरिकलाई बचाउन ठूलो प्रयास गरेको छ। चिनियाँ नागरिकहरूमाथि आक्रमण गरेर आतंककारीहरूले ठूलो हलचल पैदा गर्नु सजिलो काम होइन। यदि बलुचिस्तान प्रान्तमा भएको यो आतंकवादी हमला पाकिस्तानस्थित चिनियाँ राजदूतलाई निशाना बनाई गरिएको हो भने पक्कै पनि त्यो असफल भएको छ। तर, त्यसको उद्देश्य अरू नै केही भने बेग्लै कुरा हो।

सामान्यतया सीपीईसीलाई जोखिम परियोजनाको रूपमा हेर्न हुँदैन। तर, हामीले अझै पनि यसको तर्कसंगत मूल्यांकन गर्न आवश्यक छ। यसले वास्तवमा केही आतंकवादी खतराको सामना गर्न सक्छ तर यो राजनीतिक हिसाबबाट सुरक्षित छ।

बीआरआईमा हस्ताक्षर गरेका सबै मुलुकमा राजनीतिक स्थिरता र राम्रो सुरक्षा व्यवस्था हुन्छ भन्ने पनि होइन। चिनियाँ उद्यमहरूको काम केही हदसम्म जोखिमपूर्ण हुन सक्छ। चिनियाँ कम्पनीहरूले लगानीका लागि सबै मुलुकमा सुरक्षित र सहज वातावरण पाउँछन् भन्ने पनि छैन। किनकि, कतिपय मुलुकका बजारहरू यसअघि नै भरिभराउ छन्। यस्ता बजारमा चिनियाँ लगानीकर्ताले जोखिम उठाउनैपर्छ। अन्यथा अन्य प्रकारका परीक्षणतर्फ ध्यान दिनुपर्नेछ।

चीनका लागि आफ्ना ती बहादुर नागरिकको सुरक्षा महत्त्वपूर्ण कुरा हो, जो यसअघि पश्चिमा मुलुकले दोहन गरेका ठाउँहरूमा पुगेका छन्। आफ्नो क्रिडास्थलमा चीनको उपस्थिति पक्कै पनि पश्चिमा मुलुकका लागि रुचिकर नहुन सक्छ। तथापि, जोखिमपूर्ण स्थानमा पुगेका चिनियाँ नागरिक चीनको विश्वव्यापी कारोबार र लगानीका लागि प्रेरक ताकत हुन्, जसले चिनियाँ अर्थव्यवस्थाको फराकिलो आकारलाई भरथेग गर्छन्।

चीनको उदय यात्रा कठिनाइबाट गुज्रेको छ। कतिपय सफलता सहजै प्राप्त हुँदैनन्। खासगरी, चीनको उदय यात्राका सवालमा यो तथ्य अझ बढी मुखरित हुन्छ। जस्तोसुकै कठिनाइ सामना गर्नु परे पनि हार मान्नु हुँदैन। समस्याहरूको समाधान गर्दै जानु नै चीनको लक्ष्य पनि हो।

(सीपीईसीका सन्दर्भमा ग्लोबल टाइम्स डट कमको सम्पादकीय)
 

प्रकाशित मिति: ०६:०० बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्