Kathmandu Press

कोरोनाकालमा चीनको ‘स्कोर’– २०२१ को पहिलो त्रैमासमा १८.३ प्रतिशत आर्थिक वृद्धि

सन् २०२१ को पहिलो त्रैमास (जनवरी–मार्च)मा चीनको अर्थतन्त्रमा सन् २०२० को सोही अवधिको तुलनामा १८.३ प्रतिशतको वृद्धि देखिएको छ । त्यो भनेको विगत...
कोरोनाकालमा चीनको ‘स्कोर’– २०२१ को पहिलो त्रैमासमा १८.३ प्रतिशत आर्थिक वृद्धि

सन् २०२१ को पहिलो त्रैमास (जनवरी–मार्च)मा चीनको अर्थतन्त्रमा सन् २०२० को सोही अवधिको तुलनामा १८.३ प्रतिशतको वृद्धि देखिएको छ । त्यो भनेको विगत दुई वर्षयताको पहिलो त्रैमासिकको औसत पाँच प्रतिशत वृद्धि हो । कोभिड–१९ महामारीको बावजुद चिनियाँ अर्थतन्त्र त्यति धेरै कम नभएको देखिनुलाई आफैँमा तीव्रतर गतिमा सुधारोन्मुख रहेको विश्लेषण गर्न सकिन्छ । त्यसै पनि यतिबेला पाँच प्रतिशतकोे औसत वृद्धि विश्वका प्रमुख अर्थतन्त्रहरूका लागि सबैभन्दा राम्रो उपलब्धी पनि हो ।

चिनियाँ अर्थतन्त्र सुधारको वेग बलियो देखिन्छ । र, त्यो वेग विश्व अर्थतन्त्रकै अग्रपंक्तिमा छ । सन् २०२० मा चिनियाँ अर्थतन्त्रले घाटा नबेहोरेको होइन, जसलाई अहिले देखिएको वृद्धिदरले पूर्ण ‘कभर’ गर्न भने सकेको छैन । त्यसैले थप वृद्धिदर हासिलका लागि प्रयत्न गर्न सकिने प्रशस्त ठाउँ छ ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा अहिले वैदेशिक व्यापारले महत्त्वपूर्ण योगदान दिएको छ । तर, घरेलु खपत अपेक्षित स्तरमा देखिएको छैन । घरेलु खपत नै यस्तो महत्त्वपूर्ण मानक हो, जसले मानिसको जीवनस्तरमा सुधार भएको संकेत गर्छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा सन् २०२१ को पहिलो त्रैमासमा हासिल भएको १८.३ प्रतिशतको वृद्धिदरले यस वर्ष जीडीपीमा ६ प्रतिशतको वृद्धि प्राप्त गर्ने चीन सरकारको लक्ष्यमा सघाउने निश्चित छ । सबै ठीकठाक चलेमा सन् २०२१ मा चीनको वार्षिक आर्थिक वृद्धि आठ प्रतिशतसम्म हुन सक्छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले त यस वर्ष चीनको आर्थिक वृद्धि ८.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

आईएमएफले सन् २०२१ मा अमेरिकी अर्थतन्त्र ६.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । गत वर्ष अमेरिकाको तुलनामा चीनको वार्षिक आर्थिक वृद्धि ५.८ प्रतिशत बढी थियो । यस वर्ष त्यो अन्तर दुई प्रतिशत हुने अनुमान छ, जसले दुई देशबीचको आर्थिक आकारको अन्तरलाई निरन्तर संकुचित गर्दै लगेको देखाउने छ ।

अमेरिकाले आफ्नो जनसंख्यालाई तीव्र गतिमा कोभिड–१९ विरुद्ध खोप दिइरहेको छ । यसको मतलब महामारी नियन्त्रणमा रहने छ र आर्थिक वृद्धिमा ठूलो नकारात्मक असर पर्ने छैन ।

विश्वका अन्य विकसित अर्थतन्त्रहरूको कथा फरक हुनसक्छ । विश्वव्यापी आर्थिक सुधारमा आफ्नो स्थानबारे चीनलाई जानकारी हुनुपर्छ । त्यसैले अहिलेको आर्थिक वृद्धिमा सन्तुष्ट रहने ठाउँ छैन ।

चीनको प्रतिस्पर्धा आफैँसँग छ । चीनको आफ्नै मिसन छ । र, आफ्नै जनताको जीवनस्तर सुधारमा उसको ध्यान केन्द्रित हुनुपर्छ । कोरोना महामारीबाट पीडित साना र मध्यमस्तरका व्यवसायी अनि आम जनताले चाहेको परिवर्तन हासिलका लागि गर्नुपर्ने धेरै काम छ । त्यसैले यस वर्ष चीनसामु आर्थिक सुधारका लागि गर्नुपर्ने कामको सूची लामो छ ।

कोभिड–१९ महामारीले व्यवसाय क्षेत्रमा नयाँ अवसरहरू पनि भित्र्याएको छ । तर, महामारीले पारेका केही गम्भीर असरलाई तत्काल ‘रिकोभर’ गर्न सकिने छैन । त्यसबाट भएको परिवर्तनले मानिसलाई समयसँगै अगाडि बढ्न कठिन बनाइदिएको छ । नौलो वातावरण र थपिएका चुनौतिबीच अगाडि बढ्न मानिसलाई सहायता पु¥याउने हो भने त्यसले तीव्र आर्थिक वृद्धि हासिल गर्न आधार तयार पार्नेछ ।

कतिपय चिनियाँले रोजगारीमा परिवर्तन महसुस गर्न सकेका छैनन् । उनीहरूको आम्दानी पनि वृद्धि भएको छैन । कतिपय मानिसको कमाइ दुई वर्षयता घट्दो क्रममा छ । चिनियाँ अर्थतन्त्र सुधारलाई बलियो पार्न ध्यान दिनुपर्ने यो एक महत्त्वपूर्ण पाटो हो ।

अमेरिकी अर्थतन्त्रको वृद्धि केही हदसम्म अधिक मुद्रा छापेर हासिल गरिएको छ । यो ठोस आर्थिक वृद्धि होइन र यसले आम अमेरिकी नागरिकको जीवनस्तरमा सीमित सुधार मात्र गर्नेछ । महामारीले अमेरिकी समाजमा धनी र गरिबबीचको खाडल अझ बढाएको छ ।

चीनले आर्थिक विकासमा समावेशीकरणलाई ठूलो महत्त्व दिएको छ । त्यसैले चीन सरकार चिनियाँ जनताको प्रगतिमा केन्द्रित छ भन्ने यसले देखाउँछ ।

सन् २०२१ को पहिलो त्रैमासमा हाई–टेक क्षेत्रमा लगानी ह्वात्तै बढेको छ । हाई–टेकको उत्पादन पनि ४१.६ प्रतिशतले बढेको छ । र, हाई–टेक सर्भिस सेक्टरमा लगानी २८.६ प्रतिशतले वृद्धि भएको छ । पछिल्ला वर्षमा हाई–टेक क्षेत्र लगानीको दृष्टिबाट पिछडिएको थियो ।

सन् २०२१ को पहिलो त्रैमासमा १८.३ प्रतिशतको वृद्धिले चिनियाँ समाज मात्र होइन, विश्वलाई नै उत्साहको सञ्चार गराएको छ । विश्वव्यापी आर्थिक सुधारका लागि यो एक प्रस्थानविन्दु पनि हो । निश्चित छ, विश्वका अर्थतन्त्रहरूबीच को पहिले र छिटो महामारीको प्रभावबाट मुक्त हुने भन्ने प्रतिस्पर्धा हुनेछ ।

चीनले भने यस वर्ष आफ्ना जनताका लागि उत्कृष्ट आर्थिक तथ्यांक मात्र उपलब्ध गराउने छैन, चिनियाँ नागरिकलाई आर्थिक उन्नतीको आनन्द पनि दिलाउने छ । र, त्यसले भविष्यको सुखद् यात्राका लागि मार्गप्रशस्त गर्नेछ ।

- द ग्लोबल टाइम्सबाट
 

प्रकाशित मिति: ०६:३३ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्