Kathmandu Press

‘हटस्पट’ बन्दै गएको नेपालगञ्जबाट स्वास्थ्य मापदण्ड विपरित धमाधम उडान

कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै गएको नेपालगञ्जबाट काठमाडौंका लागि हुने कुनै पनि विमान कम्पनीको उडानमा कोरोना रोकथामका प्रायोग गर्नुपर्ने स्वास्थ्य मापदण्डहरु पुरा गरिएको छैन।
‘हटस्पट’ बन्दै गएको नेपालगञ्जबाट स्वास्थ्य मापदण्ड विपरित धमाधम उडान
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ६ : कोरोनाको ‘हटस्पट’ बन्दै गएको नेपालगञ्जबाट हुने हवाई उडानमा कुनै पनि स्वास्थ्य मापदण्ड पालना नगर्दा त्यहाँबाट उडान हुने काठमाडौं उपत्यका र पहाडी जिल्ला कोरोनाको जोखिममा पर्ने देखिएको छ।

विभिन्न हवाई कम्पनीले नेपालगञ्ज–काठमाडौं दैनिक १० वटा उडान भर्ने गरेका छन्। तर कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै गएको नेपालगञ्जबाट काठमाडौंका लागि हुने कुनै पनि विमान कम्पनीको उडानमा कोरोना रोकथामका प्रायोग गर्नुपर्ने स्वास्थ्य मापदण्डहरु पुरा गरिएको छैन।

कोरोना संक्रमित बढेको सहरबाट उडान गर्दा यात्रुहरुले अनिवार्य फेससिल्ड लगाउनु पर्ने, एक सिट खाली गरेर यात्रु राख्नु पर्ने, यात्रा गर्नुअघि तापक्रम नाप्नु पर्नेलगायतका स्वास्थ्य अपनाउनु पर्छ, तर नेपालगञ्जबाट काठमाडौंतर्फ हुने कुनै पनि उडानमा त्यस्तो मापदण्ड पालना भएको छैन । विज्ञहरुले मापदण्ड पुरा नभई हुने त्यस्ता उडानले काठमाडौं थप जोखिमा पर्ने बताएका छन्।
 
सोमबारसम्ममा बाँकेमा कोरोना संक्रमितको संख्या पाँच हजार आठ सय ७३ रहेको सरकारी तत्थ्यांक छ। नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै शनिबारसम्म दुई हजार आठ सय ९२ जना संक्रमित भइसकेका छन् । तीमध्ये नयाँ भेरियन्टका संक्रमित कति छन् भन्ने रेकर्ड भने सरकारी नियकासँग छैन।  

बुद्ध एयरले नेपालगञ्ज–काठमाडौं दैनिक पाँच उडान गर्दै आएको छ । त्यस्तै यति एयरको तीन र श्री एयरको २ वटा उडान हँुदै आएको छन्।

‘बुद्ध एयरको दैनिक पाँच उडानबाट तीन सय ५० को हाराकाहीमा मानिसहरू नेपालगञ्जबाट काठमाडौं आउने गरेका छन्’, बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले काठमाडौं प्रेससँग भने, ‘हामीले विगतमा यात्रुहरूलाई फेससिल्ड दिने गरेका थियाैँ, तर अहिले त्यो बन्द गरेका छौँ ।’ फेससिल्ड अनिवार्य नगरिएपनि यात्रुलाई मास्क भने अनिवार्य प्रयोग गराइएको कर्णले बताए ।

बुद्ध एयरलगायत अन्य विमान कम्पनीहरूले पनि कोरोनाको स्वास्थ्य मापदण्ड उडानमा पालना गरेका छैनन्। कुनै ‘हटस्पट’ सहरबाट अर्को–अर्को सहरमा उडान भर्दा कतिपय मुलुकमा भने पीसीआर परीक्षण अनिवार्य गरिएको छ।

भारतबाट बाँके तथा अन्य नाका हुँदै नेपाल आउने मानिसको संख्या बढ्दै गएकै कारण नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको जनस्वास्थ्य विद् डा. रविन्द्र पाण्डे बताउँछन्।

‘सरकारले विगतका गल्तीलाई हेरेर अहिलेदेखि नै सीमा नाकामा कडाई गर्नुपर्ने र हवाई उडान तथा यातयातमा स्वास्थ्य मापदण्ड पालना गराउनु पर्छ’, डा. पाण्डेले भने, ‘तर त्यो हुन सकेको छैन । यसले गर्दा सीमा नाकाहरू नै कोरोनाको ‘हटस्पट’को रुपमा देखिने खतरा बढेको छ।’

उनका अनुसार, पहिला भारतको महाराष्ट्र तामिलनाडु, केरला, गुजरात, मध्यप्रदेश तिर संक्रमितहरू बढी देखिएका थिए । तर अहिले त्यो क्रम बढ्दै गएर दिल्ली, पञ्जाब, हरियाणा, उत्तरप्रदेश, हिमाचल, पश्चिम बंगााल अर्थात नेपाल तर्फको सीमा तिर आईरहेको देखिएको छ।

कोरोना संक्रमण तीव्ररुपमा बढेपछि भारतका कतिपय ठाउँमा लकडाउन र कर्फ्यू लगाइएको छ। त्यसले त्यहाँ कार्यरत नेपालीहरू बेरोजगार भएको, कोरोनाको डर र बेरोजगारीका कारण उनीहरू नेपाल फर्कन थालेकाले नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको डा. पाण्डे बताउँछन्।

बाँकेमा कहाँ कति छन् संक्रमित ?

नेपालगंज उपमहानगरपालिका
संक्रमित : २८९२
मृत्यु : ३२

कोहलपुर नगरपालिका
संक्रमित : १०४५
मृत्यु : १२

खजुरा गाउँपालिका
संक्रमित : ४०४
मृत्यु : ६

राप्तीसोनारी गाउँपालिका
संक्रमित : २४२
मृत्यु : २

बैजनाथ गाउँपालिका
संक्रमित : १८८
मृत्युः ३

जानकी गाउँपालिका
संक्रमित : १३६
मृत्यु : २

नरैना गाउँपालिका
संक्रमित : १३१
मृत्यु : २

डुडली गाउँपालिका
संक्रमित : ८०

 

प्रकाशित मिति: १९:५० बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्