Kathmandu Press

शिक्षामन्त्रीको गैरशैक्षिक भाषा : किन आवेगप्रेरित भाषणमा रमाउँछन् नेताहरू?

जनमत पाएर सांसद र मन्त्री बनेका नेताहरूले कुनै निश्‍चित नेताको भक्ति गायनमा आफूलाई निरन्तर प्रस्तुत गर्न र अमर्यादित ढंगले सार्वजनिक समारोहमा प्रस्तुत हुन कति जायज हुन्छ? मञ्‍च पाउनासाथ नेपाली नेताहरू किन उत्तेजक अभिव्यक्ति दिन लालायित देखिन्छन्?
शिक्षामन्त्रीको गैरशैक्षिक भाषा : किन आवेगप्रेरित भाषणमा रमाउँछन् नेताहरू?
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ६ : ‘विद्यालय बन्द गरिहाल् (भन्छन्)। विद्यालयभन्दा बाहिर सबै नर्मल? सबै विद्यालय मात्र बन्द गर्ने? बाउआमा अफिस नजाने? अनि छोराछोरी घरमा? अनि छोराछोरी घरमा बसिरहन्छन्, ऊ बाहिर खेल्न जाँदैन। बाउआमा अफिसमा। स्कुलमै सुरक्षित हुन्छन्।’

गत शनिबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को ३६औँ वार्षिक साधारणसभामा शिक्षामन्त्री कृष्‍णगोपाल श्रेष्‍ठले दिएको अभिव्यक्ति हो यो। सार्वजनिक समारोहमा मर्यादा बिर्सेर अभिव्यक्ति दिएको बताउँदै सामाजिक सञ्‍जालमा मन्त्री श्रेष्‍ठको आलोचना भइरहेको छ।

कोरोना प्रसार रोक्न विद्यालय बन्द गर्न नहुने मन्त्री श्रेष्‍ठको अभिव्यक्ति ७२ घण्टा पनि टिकेन। सोमबार बिहानको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालयहरू वैशाख मसान्तसम्म बन्द राख्‍ने निर्णय गर्‍यो। मन्त्री श्रेष्‍ठको अभिव्यक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग बाझिँदै आएको थियो। मन्त्री त्रिपाठी कोरोना प्रसार रोक्न सहरी क्षेत्रका विद्यालय बन्द गर्नुपर्ने पक्षमा उभिँदै आएका थिए।

यस्तै आवेगप्रेरित अभिव्यक्तिका कारण मन्त्री श्रेष्‍ठ विवादमा पर्दै आएका छन्। ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत मन्त्रीले त्यसप्रति असहमति जनाउँदै राजिनामा दिए। र, त्यतिन्जेल सहरी विकास मन्त्री रहेका श्रेष्‍ठ १० पुसमा शिक्षामन्त्री नियुक्त भए।

त्यसअघि मन्त्रिमण्डल हेरफेर हुँदा प्रधानमन्त्रीले २८ असोज ०७७ मा श्रेष्‍ठलाई सहरी विकास मन्त्री बनाएका थिए।

१७ फागुनमा सीटीईभीटीको ३३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै भनेका थिए, ‘केपी ओली इज द केपी ओली, फुटबलको पेलेजस्तै हो, कोही माइकालाल छ सडकमा ल्याएर पछार्नसक्ने? के राजिनामा दे भन्दा यत्तिकै राजिनामा दिन मिल्छ? ढुक्क हुनूस् हिजोको भन्दा पावरफुल सरकारको एजुकेसन मिनिस्टर तपाईंहरूको अगाडि छ। यो कुनै अदालतको माया पाएर आ’को सरकार हो? अदालतको फैसलाले समाधान निस्किँदैन।’

मन्त्री नियुक्त भएलगत्तै झापा बिर्तामोडको विवादस्पद बी एन्ड सी मेडिकल कलेजलाई विधि र प्रक्रिया मिच्दै काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिलाएर मन्त्री श्रेष्‍ठ आलोचित बनेका थिए।

उनका अभिव्यक्तिले नै मन्त्री श्रेष्‍ठ प्रधानमन्त्री ओलीका कति भक्त हुन् भन्‍ने प्रष्‍ट्याउँछन्। ओली एमाले अध्यक्ष बनेपछि श्रेष्‍ठलाई केन्द्रीय कार्यालय सचिव नियुक्त गरेका थिए। प्रतिनिधिसभामा श्रेष्‍ठले प्रधानमन्त्री ओलीको बचाउ गर्दै अभिव्यक्ति दिने गरेका थिए। त्यसैको गुन तिर्न ओलीले उनलाई सुरुमा सहरी विकास र पछि शिक्षामन्त्री बनाएका हुन्।

तर, जनमत पाएर सांसद र मन्त्री बनेका नेताहरूले कुनै निश्‍चित नेताको भक्ति गायनमा आफूलाई निरन्तर प्रस्तुत गर्न र अमर्यादित ढंगले सार्वजनिक समारोहमा प्रस्तुत हुन कति जायज हुन्छ? मञ्‍च पाउनासाथ नेपाली नेताहरू किन उत्तेजक अभिव्यक्ति दिन लालायित देखिन्छन्? राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर त्यस्तो शैली नेपाली राजनीतिको संस्कृति बनिसकेको टिप्पणी गर्छन्।

‘यो कृष्‍णगोपाल श्रेष्‍ठ या प्रधानमन्त्री केपी ओलीको मात्र समस्या होइन,’ उनी भन्छन्, ‘शक्ति, रूप र धन यति चञ्‍चल हुन्छन्, कसैको वशमा रहँदैनन् यी। तर, नेताहरूले शक्ति सधैँ आफ्नै हातमा रहन्छ र सदा अजम्बरी हुन्छौँ भन्‍ने सोच्छन्। एउटा भ्रमित सत्यले उनीहरूमा मानसिक विकार पैदा गरिरहेको हुन्छ।’

उनको बुझाइमा जति उग्र तरिकाले बोल्यो, आफ्ना राजनीतिक नाइके र राजनीतिक मालिकहरूले त्यति नै बढी अंक दिन्छन् भन्‍ने ‘छोटे भैया’ प्रवृत्ति अंगिकार गर्छन्। तेस्रो– जब तर्क सकिन्छ र तथ्य हुँदैन, मानिस विवेकले भन्दा आवेगबाट परिचालित हुन्छ। र, गैरजिम्मेवार भाषा बोल्न थाल्छन्।

ज्ञान र चेतनाका आधार कमजोर हुँदा पनि मानिसको दिमागमा उरन्ठेउलो प्रवृत्ति देखिने पिटर बताउँछन्। ‘पदको गरिमा उनीहरूले बुझेका हुँदैनन्। पदले विकास गरेको संस्कृति त्यही पदमा रहुन्जेल बुझ्‍न सक्दैनन्,’ उनी भन्छन्, ‘पदबाट बाहिरिएपछि मात्र त्यस्तो संस्कृति बुझ्‍छन्। त्यतिन्जेलमा ढिलो भइसकेको हुन्छ।’

पदमा पुगेपछि आफू सुन्‍निएको कुरालाई मोटाएको अर्थमा लिने प्रवृत्ति नेपाली नेताहरूमा देखिने गरेको पिटरको विश्लेषण छ। ‘त्यही भ्रमित सत्यले आफू शक्तिशाली छु भन्‍ने महसुस गराउँछ। हाम्रा नेताहरूको समस्या यही हो,’ उनी भन्छन्।

पदमा रहँदा देखिने यस्ता प्रवृत्ति आफ्नो हकमा लागू हुन नदिन नेतारूले सधैँ आफूभित्रै आत्मालोचना गरिरहनुपर्ने उनको सुझाव छ। आफ्नो हैसियत थाहा पाएको मानिसले मुखभन्दा कान सक्रिय बनाउने र आफूमाथि भइरहेको आलोचनाबाट सिक्ने प्रयत्न थाल्ने पिटरको बुझाइ छ। ‘हामीकहाँ मुख ज्यादा सक्रिय देखिन्छ, कान निश्क्रिय,’ उनी भन्छन्, ‘अर्काको कुरा नसुन्‍ने प्रवृत्ति नेताहरूमा देखिन्छ। नेताहरू आलोचनात्मक चेत भएका मानिससँग नजिक हुनुपर्छ, दासहरूसँग होइन। हामीकहाँ आलोचनालाई ध्वंस सोच्ने प्रचलन छ, जुन गलत हो। नेपाली नेताहरूले पनि शक्तिमा पुगेपछि आलोचनात्मक चेत भएका मानिसलाई टाढा राख्‍न खोज्छन्।’

पूर्वीय दर्शनले भन्छ- निन्दक रखियो नियरे। अर्थात्, आफ्नो नजिकमा निन्दकलाई राखेपछि उसले कमजोरी औँल्याइरहने र बारम्बार यस्ता उत्तेजक अभिव्यक्ति दिनबाट बच्न सकिने पिटर बताउँछन्। ‘शक्तिमा पुगेपछि चाकर र चाप्लुसीबाजलाई वरिपरि राख्‍ने प्रवृत्ति झांगियो, आलोचकलाई दुश्मन हो भन्‍ने सोचियो,’ पिटर भन्छन्, ‘शक्तिमा पुगेको मानिसले ठूला पर्खाल तयार पार्छ। तर, जो मानिसले आफ्नो वरिपरि जति ठूलो पर्खाल लगाउँछ, त्यति नै समाजबाट टाढा पुग्छ। जति धेरै सुरक्षा गार्ड लिएर नेताहरू हिँड्छन्, त्यति नै आतंकित बन्छन्। समाजसँग डराउँछन् अनि उग्र कुरा गर्न थाल्छन्। दुनियाँले नपत्याउने कुरा गर्छन्।’
 

प्रकाशित मिति: १४:१५ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्