Kathmandu Press

टिकटकमा ‘भाइरल’ सात स्थान

सडकको दायाँबायाँ हुर्किएका सालका रूख छन्, सडक छेउका केही रूपको बीच भागमा सेतो रंग पोतिएको छ । लहरै रूपमा सेतो पोतिएको दृश्यले धेरैलाई लोभ्याउँछ । यहाँ सेल्फी खिचेर सामाजिक सञ्जालमा अपलोड गर्न थालेसँगै यसको नाम सेल्फी रोड रहन गयो ।
टिकटकमा ‘भाइरल’ सात स्थान
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख १ : २१औँ शताब्दीको पूर्वार्द्धलाई सामाजिक सञ्जालको युग भन्दा पनि फरक नपर्ला । फेसबुक, ट्विटर, इन्स्टा, टिकटक आदि प्रयोगकर्ता हामीकहाँ पनि बढिरहेका छन् । सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक दुवै असरबारे चर्चा भइरहेका छन् । तर, यहाँ हामी सामाजिक सञ्जाल, विशेषतः टिकटक (सोसल मिडिया भिडियो ऐप) बाट चर्चामा आएका सात स्थानबारे चर्चा गर्दैछौँ । 

सेल्फी रोड 

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा पर्ने एउटा सडक पछिल्लो समय टिकटकबाट चर्चामा आयो । राजमार्गदेखि दक्षिण करिब १ किलोमिटर कालोपत्रे भएको यो सडक पथरी र उर्लाबारीको सिमानामा पर्छ । बोक्रे चोक जाने यो सडक अचेल ‘सेल्फी रोड’को नामले चिनिन थालेको पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राई बताउँछन् । ‘यो चौतारी सामुदायिक वनभित्र बनाइएको सडक हो । टिकटक प्रयोगकर्ता सेल्फी रोड नामकरण गरिदिए,’ उनले भने ।

सडकको दायाँबायाँ हुर्किएका सालका रूख छन्, सडक छेउका केही रूपको बीच भागमा सेतो रंग पोतिएको छ । लहरै रूपमा सेतो पोतिएको दृश्यले धेरैलाई लोभ्याउँछ । यहाँ सेल्फी खिचेर सामाजिक सञ्जालमा अपलोड गर्न थालेसँगै यसको नाम सेल्फी रोड रहन गयो । क्रमशः आन्तरिक पर्यटक बढ्न थालेका छन् । 

उनीहरूले यहाँ तस्बिर खिच्नेदेखि भिडियो बनाएर सेयर गर्न थालेपछि नगरपालिकाको पनि यसमा ध्यान पुग्यो । ‘पर्यटक बढ्न थालेदेखि शौचालय, पार्किङ स्थान, पिउने पानी, लाइट आदिको व्यवस्था गरेका छौँ,’ प्रमुख राईले भने, ‘स्थानीयको व्यवसाय सञ्चालन गरेका छन् । यहाँ चटपटे पसल, चिया, खाजासँगै जातीय वेशभूषाका कपडा पनि बिक्री हुन थालेका छन् ।’ 

हाल ‘सेल्फी रोड’ सडक भएको चौतारी सामुदायिक वन ६÷७ ठाउँमा गरेर एक हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ । ‘त्यसभित्र खेर गएका पानीका मुहानलाई पोखरीमा जम्मा गरेर माछापालन गर्ने योजना रहेको प्रमुख राईले बताए । ‘पूर्वमा पनि पर्यटकीय स्थल छन् भन्ने सन्देश सबैमा पु¥याउने योजना छ,’ उनले भने । 

तीनधारे झरना 

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–२ काफलडाँडास्थित तीनधारे झरना अहिले युवापुस्ताको मनोरञ्जनको स्थल बनेको छ ।

तीनवटा फरकफरक स्थानबाट पानी झरेकाले उक्त झरनाको नाम तीनधारे झरना रहन गएको गाउँपालिका अध्यक्ष डिबी लामा बताउँछन् । ‘२०२८ सालमा तत्कालीन प्रधान पञ्चायत समारङ सिंह लामा हुँदा तीनधारे झरना पर्यटकीय क्षेत्रको रूपमा सूचीकृत भइसकेको रहेछ,’ उनले भने, ‘सूचीकृत भएर पनि प्रचारप्रसार हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न सकेको थिएन ।’ 

उनका अनुसार दुई वर्षअगाडि गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका पर्यटकीय स्थलहरूको प्रचारप्रसार र प्रवद्र्धनका लागि एक पुस्तक तयार पारेको थियो । सो पुस्तकमा केही पर्यटकीय ठाउँको बारेमा पनि चर्चा छ । ‘धेरै मानिस त्यही पुस्तकबाट जानकारी पाएर आएका थिए । उनीहरूले तस्बिर, भिडियो खिचेर सामाजिकमा राखेपछि  यो ठाउँ चर्चामा आउन थाल्यो,’ उनले भने, ‘अहिले संरक्षणको र सुरक्षाका लागि फलामे डण्डी राख्ने काम भइरहेको छ ।’

मानुहुँकोट 

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुहुँकोट डाँडामा अहिले मानिसको भीड लाग्ने गरेको छ । सिद्धबाबा तपस्या गरेर बसेको भनिने यस ठाउँमा सिद्धबाबाको सानो मन्दिर छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेका अनुसार, मानुहुँकोट २५ वर्षअगाडि नै पर्यटकीय क्षेत्रका रूपमा सूचीकृत भइसकेको थियो । तर, चर्चामा आएको थिएन । ‘लकडाउनको समयमा सामाजिक सञ्जालमार्फत यो ठाउँ चर्चामा आएपछि आन्तरिक पर्यटकको घुइँचो लागेको हो,’ उनले भने । 

मानुहुँकोट डाँडा दमौलीबाट ७ किलोमिटर टाढा छ । यहाँबाट बिहानको सूर्य उदाएको दृश्य र जाडो याममा हुस्सुले दमौली बजार छोपेको दृश्य रमणीय देखिन्छ । 

मलपोखरी 

केही साताअगाडि ललितपुरस्थित मलपोखरीको दलदल टिकटकमार्फत चर्चामा आयो । यहाँ  पुगेर टिकटक बनाउनेहरू बढ्न थाले । 
मलपोखरीमाथि घाँस उम्रिएको छ तर भित्र पानी भएकाले दलदल बनेको छ, जहाँ उफ्रँदा माटो हलहल हुन्छ । यसैलाई रोमाञ्चक मानी धेरै युवाले टिकटक बनाउन थाले । दलदलमा भिडियो बनाउने बढेसँगै सम्भावित दुर्घटना हुन नदिन यस क्षेत्रलाई अहिले निषेधित क्षेत्र घोषणा गरिएको छ ।

पहिला पनि यस पोखरीमा एक युवकको डुबेर मृत्यु भएको स्थानीयले बताउँछन् । 

न्युरोडको छाता 

न्युरोड गेटबाट सुन्धारा हुँदै संकटा जाने बाटोमाथि चार सयभन्दा बढी रंगीचंगी छाता राखियो । लकडाउनपछि (मंसिर २८ मा) ग्राहकलाई आकर्षित गर्न काठमाडौं महानरपालिका–२२ र संकटा क्लबको सहकार्यमा छाता राखिएको वडा अध्यक्ष चिनीकाजी महर्जन बताउँछन् । 

छाताका कारण सडक सुन्दर देखिएपछि यो ठाउँको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै गयो । दैनिक १५ देखि २० हजारसम्म मानिस आउन थाले । मानिसको भीड बढेसँगै व्यवस्थापनमा कठिनाइ भएकाले एक महिनापछि छाताहरू निकालिएको क्लबका सचिव आशीषमान सिंह बताउँछन् ।

‘टिकटकबाट भाइरल भएपछि भीडभाड बढ्यो । भौतिक दूरी कायम गर्न कठिन भयो,’ उनले भने, ‘आन्तरिक पर्यटक बढाउने र व्यवसायमा टेवा पु¥याउने उद्देश्यले राखिएको थियो ।’ 

उनका अनुसार, यहाँ घुम्न आउनेका कारण होटलदेखि लत्ताकपडासम्मको व्यापार बढेको थियो । 

ड्रिम प्यालेस 

टोखा नगरपालिका–४ पालिख्यस्थित ड्रिम प्यालेस अहिले टिकटकमा चर्चित छ । ६ रोपनी क्षेत्रमा फैलिएको ड्रिम प्यालेस ६÷७ महिनाअघि खुलेको हो । एक–दुई महिनाअघि टिकटक प्रयोगकर्ताले भिडियो बनाएर हालेपछि यो ठाउँ भाइरल भएको ड्रिम प्यालेसका कार्मचारी राजु लवट बताउँछन् । ‘टिकटकबाटै चर्चामा आएको हो,’ उनले भने, ‘शान्त वातावरण र साँझपखको झिलिमिलीले आन्तरिक पर्यटक आकर्षित भएका छन् ।’

उनका अनुसार, यो ठाउँ पहिला सुनसानजस्तै थियो । टिकटकबाट भाइरल हुँदै जाँदा आन्तरिक पर्यटकको भीड लाग्न थाल्यो । ‘सुरुमा यहाँ प्रवेश निःशुल्क थियो,’ उनले भने, ‘अहिले एकजना बराबर ५ सय रुपैयाँको कुपन दिने गरिएको छ । पाँच सयभन्दा बढीको खाने कुरा खाएमा ग्राहकले थप रकम तिर्नुपर्छ ।’

दैनिक एक सयभन्दा बढी यात्रु आउँछन् । शनिबार र सार्वजनिक बिदाको दिन दुई सय देखि ३ सयसम्म पुग्ने गरेको उनले बताए ।

सिंगल ट्री

नागार्जुन नगरपालिका–४ हलचोक, भैरव मन्दिरमा १८ फिटका दुईवटा पिङ राखिएको छ । जुन अहिले सामाजिक सञ्जालमा ‘सिंगल ट्री’को नामले निकै भाइरल छ । 

एउटा मात्र खरीको रूख भएका कारण टिकटक प्रयोकर्ताले यस ठाउँलाई ‘सिंगल ट्री’ भन्न थालेका हुन् । 

काठमाडौं स्काई भ्यु प्रालिले ग्राहक आकर्षित गर्न उक्त पिङ राखेको थियो । स्काई भ्यु प्रालिकी सञ्चालिका संगीता पाठक (कँुवर)का अनुसार, पिङ खेल्न आउँदा टिकटक प्रयोगकर्ताले ‘सिंगल ट्री’ नाम राखिदिए । यहाँ पिङ राखेको ६÷७ महिना भइसकेको थियो । ‘एक महिनाअगाडि टिकटकमा भाइरल भएपछि दैनिक एक सयभन्दा बढी पिङ खेल्न आउने गरेका छन्,’ उनले भनिन् । 

यहाँ पाँच मिनेट पिङ खेल्न एक व्यक्तिले एक सय ५० रुपैयाँको टिकट काट्नुपर्छ । पिङ राखेको स्थानबाट स्वयम्भूसहित काठमाडौं सहर देखिन्छ, त्यसैले पर्यटक आकर्षित भएका उनको भनाइ छ । 

प्रकाशित मिति: १४:३६ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्