Kathmandu Press

अनामनगर, पानीपोखरी, बालाजु, महांकाल र खुमलटारमा मात्र मेलम्चीको पानी

१५ चैतदेखि उपत्यकामा भित्रिएको मेलम्चीको पानी अहिले काठमाडौं र ललितपुरका पाँच स्थानबाट मात्र वितरण भइरहेको छ। भक्तपुरमा मेलम्चीको पानी पुगेको छैन।
अनामनगर, पानीपोखरी, बालाजु, महांकाल र खुमलटारमा मात्र मेलम्चीको पानी

काठमाडौं, चैत २३ : १५ चैतदेखि उपत्यकामा भित्रिएको मेलम्चीको पानी अहिले काठमाडौं र ललितपुरका पाँच स्थानबाट मात्र वितरण भइरहेको छ। भक्तपुरमा मेलम्चीको पानी पुगेको छैन।

काठमाडौंका अनामनगर, पानीपोखरी, बालाजु र महांकाल चाैर गरी चार क्षेत्रमा मेलम्चीको पानी वितरण भइरहेको छ। ललितपुरको खुमलटार क्षेत्रमा मात्र मेलम्चीको पानी पुगेको छ। ती पाँच स्थानबाट दैनिक सात करोड ४५ लाख लिटर पानी वितरण भइरहेको छ।

१५ चैतमा उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो। राष्‍ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार भृकुटीमण्डपमा निर्मित ढुंगेधारा खोलेर मेलम्चीको पानी वितरण सुरु गरेकी थिइन्। अहिले दैनिक साढे आठ करोड लिटर पानी आइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ।

पहिलो दिन चार करोड लिटर, दोस्रो दिन साढे ६ करोड लिटर गरी सोमबारसम्ममा दैनिक साढे आठ करोड लिटर पानी ल्याइन थालेको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। ‘ट्यांकीको क्षमताअनुसार वितरण भइरहेको छ,’ उनले भने, ‘क्रमशः पानी बढाउँदै लैजान्छौँ।’

उनका अनुसार हाल अनामनगर क्षेत्रको ट्यांकीमार्फत ३० लाख लिटर वितरण भइरहेको छ, जसमा सात २२ सेवाग्राहीले चौबीसै घण्टा मेलम्चीको पानी उपयोग गर्न पाएका छन्।

यस्तै, ललितपुर खुमलटारस्थित ट्यांकीमार्फत साढे दुई करोड लिटर पानी वितरण भइरहेको छ। महाराजगञ्‍ज पानीपोखरीको ट्यांकीमार्फत ४० लाख, बालाजुको ट्यांकीबाट साढे ७५ लाख र महांकाल चौरको ट्यांकीबाट तीन करोड लिटर दैनिक पानी वितरण भइरहेको राईले जानकारी दिए।

‘महांकाल चौरको ट्यांकीमार्फत सबैभन्दा बढी वितरण भइरहेको छ,’ उनले भने, ‘पानी अभाव र स्थानीय बासिन्दाको आवश्यकताका आधारमा पानी वितरण गरिरहेका छौँ।’

सम्बन्धित ट्यांकीबाट कुन टोलमा कुन बार पानी वितरण गर्ने भन्नेबारे निर्णय गर्ने अधिकार स्थानीय बासिन्दालाई नै दिइएको छ। प्रवक्ता राईले भने, ‘ट्यांकीको क्षमता र आवश्यकता अनि पाइपलाइनको अवस्था मूल्यांकन गरेर पानी वितरण भइरहेको छ।’

वितरण प्रणाली पुरानै भएका कारण पानी खेर गइरहेको छ। ‘त्यसैले तत्काल पाइपलाइन र ट्यांकीको अवस्थाबारे बुझ्न थोरै थोरै पानी वितरण गरिएको हो,’ राईले भने।

थप तीन स्थानमा वितरणको तयारी

२४ चैतदेखि बाँसबारीको ट्यांकीमार्फत पानी वितरणको तयारी छ। ‘बाँसबारी ट्यांकीबाट आइतबारदेखि पानी वितरण गर्ने योजना थियो,’ प्रवक्ता राईले भने, ‘प्राविधिक समस्या उत्पन्न भएका कारण आइतबार ट्यांकीमा पानी राख्न सकिएन।’ त्यसैले मंगलबार ट्यांकी भर्ने तयारी भइरहेको छ।

उनका अनुसार कीर्तिपुर, भक्तपुर र ललितपुरमा पानी वितरण गर्ने योजना तयार भइरहेको छ। पहिलो चरणमा सुन्दरीजलको प्रशोधित पानी उपत्यकाका १० ठाउँमा पुर्‍याउने योजना केयूकेएलको छ।

पहिलो चरणमा सुरुङबाट १७ करोड लिटर पानी उपत्यका ल्याउने योजना छ। अहिले परीक्षणका रूपमा पानी ल्याइएको छ। र, क्रमशः बढाउँदै लैजाने योजना छ।

यांरी र लार्केको डीपीआर तयार

दोस्रो चरणमा यांरी र लार्के खोलाबाट उपत्यकामा पानी ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ।

दुवै खोलाबाट गरी थप ३४ करोड लिटर पानी ल्याइने छ। उक्त पानी आउन थालेपछि उपत्यकामा दैनिक ५१ करोड लिटर राजधानी भित्रिने छ।

कल्पना गरेको २६ वर्षपछि मेलम्चीको पानी

कल्पना गरेको २६ वर्षपछि मेलम्चीको पानी उपत्यका आइपुगेको छ। ०५१ सालको मध्यावधि निर्वाचन क्रममा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री कृष्‍णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने योजना सार्वजनिक गरेका थिए।

केयूकेएल प्रवक्ता राईका अनुसार मेलम्ची आयोजना आर्थिक वर्ष ०५८-५९ देखि सुरु गरिएको हो। त्यतिबेला आव ०६४-६५ भित्र आयोजना सम्पन्‍न गर्ने लक्ष्‍य थियो। तर, १५ चैत ०७७ मा मात्र उक्त लक्ष्‍य हासिल भयो।

आयोजनाको पहिलो चरणमा साढे ३५ करोड डलर खर्च भएको छ। आयोजनामा एसियाली विकास बैंकले साढे १४ करोड डलर ऋण उपलब्ध गराएको छ।
 

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्