सावित्रा ढुंगेल आफ्नो काममा गर्व गर्छिन्

काठमाडाैं, चैत १० : ‘आमा, मकैको कसरी हो ?’ ग्राहकले सोधिन्।

‘३० रुपैयाँ !’

ग्राहकले पुनः प्रश्न गरिन्, ‘मकै गुलियो छ कि खल्लो ?’

‘आजकालको मकै गुलियो हुन्छ नि नानी।’

‘त्यसो भए एउटा (घोँगा) मकै पोलिदिनुस् त।’

उनी मकै पोल्न लागिन्। उनी अर्थात् ४० वर्षीया सावित्रा ढुंगेल। उनले चावहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयको गेटअगाडि मकै पोलेर बेच्न थालेको झन्डै १७ वर्ष भयो।

दिउँसो १ बजेतिर उनी एउटा तगारी (सिमेन्ट मुछ्ने र बोक्न प्रयोग गरिने भाँडो), एउटा चिम्टा, एउटा ओदान, एक भारी दाउरा र केही घोँगा हरियो मकैको व्यवस्था गरेर यहाँ आउँछिन्। तगारीमा आगो सल्काएपछि उनको व्यापार सुरु हुन्छ।

हरियो मकै लिन उनी बिहान ५ बजे उठेर कालीमाटी पुग्छिन्। मकैको भारी यहाँ (पोल्ने ठाउँको कुनामा) त्यत्तिकै राखेर उनी कुमारीगलस्थित डेरामा खाना खान जान्छिन्।

चोरी हुँदैन, बाँदरले खाँदैन ?

सावित्रा भन्छिन्, ‘कसैले चलाउँदैन। पहिले नगरपालिकाले उठाउने डर हुन्थ्यो। अहिले त्यति आउँदैन।’ यस ठाउँमा धेरैले उनलाई चिन्छन्। धेरैलाई उनको सामानका बारेमा  थाहा छ, त्यसैले उनी ढुक्क हुन्छिन्।

चावहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयअगाडि मकै पाेल्दै सावित्रा ढुंगेल। तस्बिर : सुजल बज्राचार्य

गत आइतबार दिउँसो उनको यही दैनिकी चलिरहेको थियो।

‘आमा ! पिल्साएको (खोस्टा ननिकाली बफाएर पोलिएको) मकै छ कि छैन ?’ उनकी एक नियमित ग्राहकले सोधिन्। चावहिल अफिस भएकी २८ वर्षीया प्रमिला श्रेष्ठ अफिसबाट फर्कंदा प्रायः सावित्रासँग मकै किन्ने गर्छिन्। प्रमिला भन्छिन्, ‘म यही बाटो भएर फर्कन्छु। फर्कंदा भोक पनि हुन्छ, आमाले पोलेको मकै खाने गरेकी छु।’  

उमेरले अर्धबैंसे जनाए पनि सावित्रा झट्ट हेर्दा पाकी देखिन्छिन्, त्यसैले धेरैले उनलाई आमा भनेर सम्बोधन गर्छन्। हुन त उनी आमा भएको पनि आजको जमानाको तुलनामा सानै उमेरमा हो। दोलखा, भिमेश्वर नगरपालिकाकी उनको १७ वर्षको उमेरमा विवाह भएको थियो, विवाहको केही वर्षमै उनले छोरीलाई जन्म दिइन्। उनका तीन सन्तान छन्, दुई छोरी र एक छोरा। उनी दुई वर्षकी कान्छी छोरीलाई काख च्यापेर काठमाडौं आएकी थिइन्, ०६० सालतिर।   

उनका श्रीमान् नेपाल प्रहरीमा कार्यरत थिए, तर तलब राम्रो थिएन। सावित्रा भन्छिन्, ‘सुरुमा १५०० रुपैयाँ तलब थियो।’

श्रीमानको सरुवा भइरहन्थ्यो। काठमाडौं आएपछि उनलाई काम नगरी बस्न मन भएन। तर काठमाडौंमा उनको चिनजानको कोही थिएन। माइती गाउँका एक दाइ बूढानीलकण्ठको गल्फुटारमा बस्थे। त्यसैले उनी सुरुसुरुमा गल्फुटार बसिन्। ‘काम नगरी खान–बस्न सक्ने अवस्था थिएन,’ सावित्रा भन्छिन्, ‘कान्छी छोरीलाई बोकेर गाडामा बदाम बेच्न थालेँ।’ बदाम बेच्दै हिँड्दा उनलाई चावहिल क्षेत्र मन प¥यो र कुमारीगलमा कोठा भाडामा लिएर बस्न थालिन्। उनका श्रीमान् भने कार्यालयमै बस्थे।

बदाम बेच्दा हिँड्नुपथ्र्यो। छोरीलाई हेर्दै बसेर गर्न सकिने कामको बारेमा सोच्न थालिन्। अन्ततः उनलाई मकै पोल्ने व्यापार सहज लाग्यो। ‘१६–१७ वर्षअघि, कालीमाटीमा तीन मोहोरमा एउटा घोँगा मकै पाइन्थ्यो,’ सावित्रा भन्छिन्, ‘दाउरा त जताजतै हुन्थ्यो। बिहान कालीमाटी गएर मकै ल्याउँथे। त्यसपछि पशुपतिमा दाउरा खोज्न जान्थेँ। अहिले त दाउरा किन्नुपर्छ। एक किलोको १५ रुपैयाँ।’

अहिले सावित्रलाई मकै पोल्न दैनिक ३० केजीजति दाउरा लाग्छ। पहिले तीन मोहोरमा किनेको काँचो मकै पोलेर बेच्दा दुई रुपैयाँ लिन्थिन्। उनले यही क्षेत्रमा मकै बेच्दाबेच्दै जमाना बदलियो, महँगी बढ्यो।  

‘अहिले दिनमा त्यही एक सय ५० घोँगा मकै बेच्छु होला,’ सावित्रा भन्छिन्, ‘जाडो महिनामा दुई सय घोँगाजति जान्छ।’

उनका अनुसार, पुस–माघको जाडोमा मानिसले पोलेको मकै बढी खान्छन्। त्यतिबेला कालिमाटीमा मकै पाउन पनि मुस्किल हुन्छ। त्यसैले बिहान ३ बजे नै मकै लिन कालिमाटी पुग्नुपर्छ, नत्र पाइँदैन। ‘अहिले एउटा मकैको १३ रुपैयाँ पर्छ। बसभाडा, दाउराको हिसाब गर्ने हो भने एउटा मकैको १८–२० रुपैयाँ पर्न जान्छ,’ उनी भन्छिन्, ‘त्यसमा ५–१० रुपैयाँ नाफा राखेर बेच्छु।’

सावित्राका तीन छोराछोरीले निजी विद्यालयमा पढेका हुन्। श्रीमान् र आफ्नो कमाइले छोराछोरीलाई पढाउन सकेको उनी बताउँछिन्। अहिले उनकी जेठी छोरीले स्नातकोत्तर, छोराले स्नातक र कान्छी छोरीले प्लस टु पढ्दै छन्। अहिले उनकी जेठी छोरी र छोराले पनि जागिर गर्छन्। श्रीमान्ले नेपाल प्रहरीको जागिर छाडेर घरमा रङ लगाउने काम गर्छन्। आफ्नो काम र कामबाट आएको पैसाले छोराछोरीलाई पढाउन सकेकामा सावित्रा गर्व गर्छिन्।

उनी यही काममा रमाएकी छन्, यही कामले उनले ग्राहक पनि कमाएकी छन्। ‘म एक–दुई दिन सञ्चो नभएर आइन भने हिजोअस्ति किन नआएको भनेर सोध्छन्,’ सावित्रा भन्छिन्, ‘आफूले सकुन्जेल काम गर्छु।’

 

 Published Date: Wednesday, 24th March 2021 3:04:00 pm