Kathmandu Press

पृथ्वीमा सृष्टिको स्रोत चट्याङबाट निस्किने ऊर्जा!

पृथ्वीमा जीवन कसरी सुरु भयो भन्ने प्रश्नमाथि लामो समयदेखि वैज्ञानिक खोज, अनुसन्धान भइरहेका छन्। यसमा थप एउटा अनुसन्धान भएको छ। एक अर्ब वर्षअघि...
पृथ्वीमा सृष्टिको स्रोत चट्याङबाट निस्किने ऊर्जा!
Hardik ivfHardik ivf

पृथ्वीमा जीवन कसरी सुरु भयो भन्ने प्रश्नमाथि लामो समयदेखि वैज्ञानिक खोज, अनुसन्धान भइरहेका छन्। यसमा थप एउटा अनुसन्धान भएको छ। एक अर्ब वर्षअघि चट्याङबाट निस्किने विद्युतीय ऊर्जाले पृथ्वीमा सृष्टि र जीवन रचना सम्भव बनाएको हुन सक्ने आकलन यो अध्ययनको छ।

यो नयाँ विचारको केन्द्र भनेको चट्याङबाट उत्पादन भएको ऊर्जा जमिनमा ठोक्किँदा प्राकृतिक धातु पैदा हुन्छ। यस्तो धातुमा फस्फोरस हुन्छ। सृष्टिका लागि मुख्य आधारभूत सामग्रीमध्ये एक हो, त्यस्तो प्राकृतिक धातु। यस्तो धातुका अंश प्रायः अघुलनशील चट्टानभित्र हुन्छ।

पृथ्वीले सृष्टिको सुरुआति चरणमा लामो समय चट्याङको प्रशस्त प्रहार खेपेको हुन सक्ने अनुसन्धानकर्ताहरूको आकलन छ, जसले जीवनका लागि अत्यावश्यक प्रतिक्रियात्मक फस्फोरस उपलब्ध गरायो।

‘यस प्रक्रियाले हामीलाई पृथ्वीमा कसरी जीवन सिर्जना भएको हुन सक्छ र पृथ्वीजस्ता अरू ग्रहमा पनि कसरी जीवन सम्भव हुन्छ भनेर बुझ्न मद्दत गर्छ,’ येल विश्वविद्यालयका भू तथा ग्रह वैज्ञानिक बेन्जामिन हेस भन्छन्, ‘यसले चट्याङबाट निस्कने बिजुलीले जीवनको उत्पत्तिबारे महत्वपूर्ण जानकारी दिन्छ।’

प्रतिक्रियात्मक फस्फोरस घुलनशील खनिज ‘स्राइबरसाइट’मा पाउन सकिन्छ। ‘स्राइबरसाइट’ प्रशस्त भएको उल्कापिण्डले पृथ्वीका लागि आवश्यक फस्फोरस उपलब्ध गराएको हुन सक्ने आकलन अध्ययनमा संलग्न वैज्ञानिकहरूको छ। जब पृथ्वीमा पहिलोपटक जीवन अंकुराउँदै थियो, सायद हाम्रो ग्रहले निरन्तर उल्कापिण्डको प्रहार खेपिरहेको थियो।

विभिन्न ‘स्पेक्ट्रोस्कोपिक इमेजिङ’ प्रविधि प्रयोग गर्दै अनुसन्धानकर्ताले प्रशस्त माटोयुक्त भूमिमा चट्याङ पर्दा उत्पन्न भएको प्राकृतिक धातुभित्र ‘स्राइबरसाइट’को मात्रा पाइने पत्ता लगाएका छन्। कम्प्युटर मोडेलमार्फत अनुसन्धानकर्ताले सुरुको पृथ्वीमा प्रत्येक वर्ष एकदेखि पाँच अर्बपटक चट्याङ परेको अनुमान गरेका छन्। अहिले यो दर वार्षिक करिब ५६ करोडपटकमा सीमित रहेको वैज्ञानिकहरूको भनाइ छ।

एक अर्ब वर्ष वा त्यसभन्दा अगाडि चट्याङ पर्ने गणना गर्दा वैज्ञानिकहरू एक ‘क्विन्ट्रिलियन’ प्रहारसम्म पु¥याउन सक्छन्। त्यसैबाट पृथ्वीमा प्रयोगयोग्य फस्फोरसको पर्याप्त मात्रा उपलब्ध भएको र सोहीमार्फत डीएनए, आरएनए र जैविक कोषिका निर्माण गर्न मद्दत पुगेको हुन सक्ने र त्यसैबाट सृष्टिको आरम्भ भएको आकलन वैज्ञानिकहरूको छ।

वास्तवमा ३.५ अर्ब वर्षअघि नै उल्कापिण्डको प्रहारले दिएको फस्फोरसभन्दा चट्याङबाट प्राप्त फस्फोरस पृथ्वीले बढी पाएको हुन सक्छ। अध्ययन टोलीको निष्कर्ष छ– यही नै सृष्टिको पहिलो जीवन रचना भएको समय हुन सक्छ।

फस्फोरस रसायनको एक सटिक मिश्रणको एक अंश मात्र हो, जुन सृष्टिको आरम्भमा पृथ्वीमा मिसिएको हुनसक्ने वैज्ञानिकहरूको मान्यता छ।

चट्याङको केन्द्रका रूपमा उष्ण तापक्रमको क्षेत्र रहेको हुन सक्ने आकलन पनि अध्ययन टोलीको छ। सृष्टिका लागि अत्यावश्यक पानीलगायत वस्तु उपलब्ध रहेका उष्ण क्षेत्रमा चट्याङबाट प्रशस्त फस्फोरस प्राप्त हुँदा जीवनको उत्पत्ति भएको हुन सक्ने आकलन पनि वैज्ञानिकहरूको छ।

यही विचारमा आधारित रहेर अन्य ग्रहमा पनि जीवनको खोजी गर्न सकिने उनीहरूको ठम्याइ छ। किनकि, यस्तै घटनाक्रम अन्य ग्रहमा पनि हुन सक्छ।
(साइन्सअर्लट डट कमबाट)

 

प्रकाशित मिति: ०६:३७ बजे, शनिबार, चैत ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्