Kathmandu Press

मकै खेतीमा यान्त्रिकीकरणको सकारात्मक नतिजा

मकै खेतीमा यान्त्रिकीकरणको सकारात्मक नतिजा
Hardik ivfHardik ivf

वीरगञ्ज, चैत ५ : जीतपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाएका छन् ।  यसको कारण चौधरीलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले उपलब्ध गराएको मकै रोप्ने नयाँ प्रविधि पाएकाले हो ।

चौधरीले यस वर्ष साढे चार बिघा क्षेत्रफलमा मकै खेती गरेका छन् । उनले अघिल्लो वर्ष मेसिनबाट मकै रोप्दा सबै खर्च कटाएर चार लाख ५० हजार रुपैयाँ मुनाफा कमाएपछि यस वर्ष हौसिएर उनले साढे चार बिघा क्षेत्रफलमा मेसिनबाट खेती गरेका हुन् । परम्परागत विधिभन्दा मेसिनले रोपेको मकैबाली सप्रिने, राम्रो घोगा र दाना लाग्ने भएपछि त्यसभेगका खेस्रौल, खैरवा, कञ्चनपुर, आँमाटारका १० किसानले यस वर्ष करीब ३० बिघा क्षेत्रफलमा व्यावसायिक रुपमा मकैखेती गरेका छन् ।

त्यस भेगका किसानले डिकाल ९०० एम, मायोनिप ३३५५ र शङ्कर २२४४ जातको मकै लगाएर मेजप्लान्ट भन्ने मेसिनबाट तीन बिघा क्षेत्रफलमा मकैखेती गरेको नीरञ्जन चौधरीले भने, ‘चारपाङ्ग्रे ट्र्याक्टरबाट खेतमा चलाउन सकिने यो उपकरणले मानिसले भन्दा व्यवस्थित रुपमा लाइनमा मकै रोप्दा बाली सप्रिन्छ ।’ एक जना ट्र्याक्टर चालकले मेसिन चलाएर मकै रोपी विषादि छर्न लाग्ने मजदूरबाहेक अन्य मजदूर नलाग्ने, खर्च बचत हुने भएकाले मेसिनबाट मकै रोपिएको उनले बताए । 
 
मकैको बीउ रोप्नु अघि कल्टिभेटर र रोटाभेटर मेसिनबाटै खेत जोतिएको र ल्याण्ड लेभलर मेसिन चलाएर सतह मिलाउँदा समय र खर्च कम लागेको भन्दै अर्का किसान सहदेव चौधरीले भने, ‘मेजप्लान्ट मेसिन सिफारीस गरेको कृषि अनुसन्धान केन्द्र वीरगञ्जका प्रमुख एवं वरिष्ठ वैज्ञानिक सचिनकुमार मिश्राले चीनबाट खरीद गरी ल्याएको मेसिनको परीक्षणपछि प्रयोग गर्दा मकै खेती राम्रो हुन थालेको छ ।’

परीक्षणपछि उक्त मेसिन किसानको लागि बरदान र अत्यन्तै उपयोगी सावित भएपछि उक्त मेसिनको अत्यधिक प्रयोग हुन थालेको बताउँदै वरिष्ठ वैज्ञानिक मिश्रा भन्छन्, ‘यो मेसिनको प्रयोगले मकै बाली राम्रो हुन थालेपछि अहिले बारा जिल्लामा करीब ३० बिघा क्षेत्रफलमा किसानले मेसिन प्रयोग गरी व्यावसायिक रुपमा मकै खेती गरिरहेका छन् ।’
 
कृषि मजदूरको बढ्दो अभावका कारण किसानलाई समस्या हुँदै गएको र परम्परागत विधिबाट खेती गर्दा लागत, मेहनेत, झन्झट बढी हुने भएकोले किसानलाई यान्त्रिकीकरणतर्फ अभ्यस्त बनाउने प्रयासमा केन्द्र लागेको छ । किसानले यो उपकरण खरीद गर्दा बजार मूल्य करीब दुई लाख ५० हजार रुपैयाँ पर्न आउने भए पनि बारामा गत वर्षदेखि थुप्रै किसानले यो उपकरण प्रयोग गरी व्यावसायिक रुपमा मकैखेती गरी आर्थिक लाभ लिन थालेका छन् ।
 
जितपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलकै किसान जितु झाले आफ्नो १० बिघा खेतमा मेसिनबाट उखु रोपेका छन् । पछिल्लो समय कृषि मजदूर घट्दै गएको र परम्परागत ढङ्गले खेती गर्दा लागत बढी लाग्ने भएकाले यस वर्ष उनले पहिलो पटक उपकरणको मद्दतले उखु रोपेका हुन्। उनलाई मेसिनबाट उखु रोप्न कृषि औजार अनुसन्धान केन्द्रले अर्धस्वचालित मेसिन उपलब्ध गराएको छ । 
 
कृषि औजार अनुसन्धान केन्द्र रानीघाटले आज हिउँदे बाली प्राविधिको एक दिवसीय स्थलगत अवलोकन तथा मूल्याङ्कन भ्रमण गरी जगरनाथपुर गाउँपालिका–३ बिजबनियाँमा त्यहाँका किसान अभयकुमार यादवले १९ बिघा क्षेत्रफलमा गरेको गँहुखेतीको भ्रमण गरेको थियो । 
 
किसान यादवले टर्वो ह्याप्पी मेशिनबाट गरेको गहुँ खेती राम्रो देखिएको जानकारी दिए । मेशिनबाट गँहु खेती गर्दा कम लागत लाग्ने तथा उत्पादन पनि बढी हुने भएकोले विगत २०५४ सालदेखि मेशिनद्वारा गहुँखेती गर्दै आएको किसान यादवको भनाइ छ । परम्परागत रुपमा खेती गर्दा प्रति कठ्ठा एक मन गँहु उत्पादन हुँदै आएकोमा मेशिनबाट गहुँखेती गर्दा प्रति कठ्ठा चार मनसम्म उत्पादन हुने किसानको भनाइ छ ।  रासस 
 
 

प्रकाशित मिति: १४:२४ बजे, बिहीबार, चैत ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्