Kathmandu Press

हिउँ नपर्दा कृषि र विद्युतमा समस्या

बलेवा, चैत ४ : ढोरपाटन उपत्यकामा अघिल्लो वर्षको तुलनामा यो वर्ष हिउँ थोरै परेकाले कृषि र विद्युत् उत्पादनमा असर परेको छ । हिउँदे बालीका...
हिउँ नपर्दा कृषि र विद्युतमा समस्या

बलेवा, चैत ४ : ढोरपाटन उपत्यकामा अघिल्लो वर्षको तुलनामा यो वर्ष हिउँ थोरै परेकाले कृषि र विद्युत् उत्पादनमा असर परेको छ । हिउँदे बालीका लागि हिउँको महत्व बढी छ तर यो वर्ष थोरै हिउँपर्दा किसानले लगाएको गहुँलगायत फसल थोरै फलेको छ ।

‘अघिल्ला वर्ष प्रसस्त फलेको गहुँ यो वर्ष असाध्यै कम छ’, ढोरपाटन नगरपालिका–९ का गोविन्द पुनले भने, ‘खेतीपाती राम्रो नभएपछि किसानलाई मर्का परेको छ ।’ हिउँ नपरेको वर्ष आलु, स्याउलगायत बाली पनि नराम्रो हुने उनले बताए।

ढोरपाटनका किसानले फाँपर पनि लगाउने गर्छन् । पानी अभावले उत्पादनमा ठूलो क्षति पुग्ने किसानले गुनासो गरेका छन् । हिउँ अभावमा ढोरपाटनकै गार्पाखोला लघुजलविद्युत् आयोजनाबाट बिजुलीसमेत पर्याप्त उत्पादन हुनसकेको छैन । ढोरपाटन नगरपालिका–९ ढोरपाटनमा रहेको यो आयोजना ४० किलोवाट क्षमताको हो । अघिल्लो वर्ष पटकपटक हिउँ परेकोमा गत फागुन पहिलो साता एक दिन मात्र हिउँ परेको थियो ।

उक्त हिउँ पनि दुईचार दिनमै पग्लने खालको भएको स्थानीयवासीले बताएका छन् । उक्त आयोजनाबाट यसवर्ष पानी अभावले उत्पादन घटेको गार्पाखोला लघुजलविद्युत् आयोजना उपभोक्ता समितिका सचिव कमल भण्डारीले बताए। ‘कुलोमा पानी सानो छ, उत्पादन पनि घटेको छ’, भण्डारीले भने, ‘हिउँ परेको वर्ष चैत वैशाखसम्म पनि हिउँ पग्लेर पानीको मात्रा बढी हुन्थ्यो, अहिले छैन ।’ 

पानी अभावले विद्युत् नपुग्दा साँझको समयमा बिजुली जाने समस्या भएको उनले बताए। उनका अनुसार हिउँदमा २० किलोवाट मात्रै उत्पादन भएको छ । यो उत्पादनले ढोरपाटन उपत्यकालाई बिजुली पुग्दैन । जलविद्युत्बाट ढोरपाटन उपत्यकाभित्रका भण्डारी गाउँ, पाखाथर, नौथरलगायत गाउँका ३५० घरधुरी, ढोरपाटन शिकार आरक्ष कार्यालय, नेपाली सेनाको शत्रुमर्दन गुल्म ब्यारेकमा बिजुली बाल्ने गरिएको छ । 

आंशिक रुपमा उत्पादन भएको यस विद्युत्ले सबै घरधुरीमा एक साथ पु¥याउन नसकिएको हो । आयोजनाबाट टोलअनुसार फरकफरक समयमा बिजुली वितरण गर्दा मोबाइल चार्ज गर्ने र अन्य कामका लागि समस्या परेको स्थानीयवासी शिक्षक चकबहादुर अदैले बताए । ‘बिजुली अभावले फोन नलाग्ने र साँझमा उज्यालो बनाउन समस्या परेको छ’, अदैले भने, ‘यसको ठूलो असर विद्यार्थीलाई परेको छ ।’ साँझ बिहान पढ्न नपाएर विद्यार्थीले सास्ती खेप्नु परेको उनले बताए । रासस

प्रकाशित मिति: १५:२३ बजे, बुधबार, चैत ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्