Kathmandu Press

‘डोरवे इफेक्ट’ अर्थात् शून्य स्मरण शक्ति

यदि कहिलेकाहीँ तपाईं झट्ट कोठामा पस्नुभयो र त्यसपछि त्यहाँ तपाईं किन जानुभएको थियो भन्ने पूर्ण रूपले बिर्सनुभयो । के तपाईंले यो अवस्था महसुस...
‘डोरवे इफेक्ट’ अर्थात् शून्य स्मरण शक्ति

यदि कहिलेकाहीँ तपाईं झट्ट कोठामा पस्नुभयो र त्यसपछि त्यहाँ तपाईं किन जानुभएको थियो भन्ने पूर्ण रूपले बिर्सनुभयो । के तपाईंले यो अवस्था महसुस गर्नुभएको छ ? यदि छ भने यसलाई ‘डोरवे इफेक्ट’ भनिन्छ । यो भनेको लगभग तपाईंले केही पनि सोच्न नसक्ने अवस्था हो र यस्तो बेला तपाईंको मस्तिष्क शून्य हुन्छ । जब तपाईंले स्थान परिवर्तन गर्नुहुन्छ वा केही नयाँ कुराका लागि तयार हुनु हुन्छ, यस्तो अवस्था उत्पन्न हुने गर्छ ।

एक नयाँ अध्ययनमा वैज्ञानिकले डोरवे इफेक्ट (स्थान परिवर्तनको प्रभाव) मस्तिष्क व्यस्त रहँदा देखापर्ने निष्कर्ष दिएका छन् । भर्चुअल रियालिटीको माध्यमबाट कुल ७४ स्वयंसेवकलाई कम्प्युटरले सिर्जना गरेको थ्रिडी कोठा हुँदै अगाडि बढ्न भनिएको थियो । उनीहरू अगाडि बढ्दा अघिल्लो कोठामा राखिएको निश्चित वस्तु जस्तै– नीलो कोन वा पहेंलो क्रस सम्झिन कोशिस गर्दै थिए ।

‘सुरुमा हामीले डोरवे इफेक्ट खासै फेला पार्न सकेनौँ । त्यसैले हामीले सोच्यौँ– मानिसहरूको स्मरण शक्ति साह्रै राम्रो छ । कारण– उनीहरूले सबै कुरा सम्झिरहेका थिए,’ अस्ट्रेलियाको बोन्ड युनिभर्सिटीका मनोवैज्ञानिक ओलिभर बाउमन भन्छन्, ‘त्यसपछि हामीले यसलाई अझ गाह्रो बनायौँ । जब उनीहरू यताउता घुमिरहेका थिए, उनीहरूलाई गन्ती गर्न लगायौँ ।’

उनका अनुसार त्यति गर्दा पनि बिर्सिने अवस्था देखा परेन । ‘यसले हामीलाई सहभागीहरूको स्मरण शक्तिमा अधिक चाप बढाउँदा डोरवे इफेक्टप्रति उनीहरू बढी संवेदनशील भएको बतायो । अर्को शब्दमा भन्ने हो भने डोरवे इफेक्ट हामी संवेदनशील रूपमा कमजोर भएको अवस्थामा मात्र देखापर्छ,’ उनी भन्छन् ।

त्यसपछि फलोअप प्रयोगहरू गरिए, जहाँ स्वयंसेवकहरूलाई विभाजित गल्लीमा हिँड्न भनिएको थियो वा ‘टास्क’ पूरा गर्ने क्रममा काम गरिरहेका अन्य व्यक्तिहरूलाई निरन्तर नियालिरहन भनिएको थियो । यसले डोरवे इफेक्टको अवस्थामा प्रवेश गरेको कुनै प्रमाण नदेखिएको अनुसन्धानकर्ताले बताए ।

त्यसो भए किन यो र पहिलेका अध्ययनहरूबीच भिन्नता छ, जसले स्थान परिवर्तनको कारणले स्मरण शक्ति कमजोर बनाउने देखाएको छ ? नयाँ अनुसन्धान टोलीले दुवै थ्रिडी भीआर र विभिन्न कोठाको गल्ली समान भएका कारण यसले अन्तिम परिणाममा परिवर्तन गर्न भूमिका खेलेको हुनसक्ने बताए ।

अनुसन्धानकर्ताका अनुसार एक स्थानबाट अर्कोमा सर्दा स्मरण शक्ति डोरवे इफेक्ट देखापर्छ । यो दृष्टिमा देखापरेको अचानक परिवर्तन हो, जसले हाम्रो दिमागलाई केही नयाँ कुरा प्राप्त गर्न प्रेरित गर्छ ।

‘यसमा राम्रो उदाहरण भनेको डिपार्टमेन्ट स्टोरमा घुम्दै गरेको अवस्था हो,’ बाउमन भन्छन्, ‘एक पसलबाट अर्कोमा जान प्रयोग गरिने एलिभेटरले हाम्रो स्मरण शक्ति अथवा हामीले केही भुल्ने कुरामा केही पनि असर पार्न नसक्ला । तर, जसै हामी खुद्रा पसलबाट कार पार्किङमा जान्छौँ, सायद हामीले केही किन्नैपर्ने सामान किन्न भुल्न सक्छौँ ।’

अध्ययनका सहभागीले मानसिक काम गर्नुपर्दा पनि केही बिर्सने सम्भावना अघिल्लो अनुसन्धानमा जस्तो उच्च देखिएन । यद्यपि, एक व्यस्त र सायद अत्यधिक चापको सामना गर्नुपर्ने दिमागले यस घटनामा केही भूमिका खेलेकोजस्तो देखिन्छ ।

वातावरणमा ठूलो परिवर्तनले कसरी स्मरण शक्ति मेट्न सक्छ भन्ने जान्नु आवश्यक छ । यसले हामीलाई भविष्यमा डोरवे व्यवस्थापन वा कम गर्ने तरिका सिकाउन सक्ने अनुसन्धानकर्ताको भनाइ छ । यदि तपाईं बिर्सिने समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने तपाईं कोठाभित्र कुन कामले आउनुभएको थियो भन्ने कुरालाई तबसम्म याद राख्नुहोस्, जबसम्म तपाईं त्यो काम गरेर सिध्याउनु हुन्न ।

साइन्स अलर्ट डट कमबाट

प्रकाशित मिति: ०६:२१ बजे, आइतबार, चैत १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्