Kathmandu Press

धनी मुलुकमा खोप सञ्चितिले महामारी थप लम्ब्याउने जोखिम

अहिले विश्वकै तीव्र इच्छा हो, कोभिड–१९ महामारीको अन्त्य । तर यदि विकसित मुलुकले आफूसँग भएको बाँकी खोप विश्वका अन्य राष्ट्रलाई बाँडेनन् भने यो...
धनी मुलुकमा खोप सञ्चितिले महामारी थप लम्ब्याउने जोखिम

अहिले विश्वकै तीव्र इच्छा हो, कोभिड–१९ महामारीको अन्त्य । तर यदि विकसित मुलुकले आफूसँग भएको बाँकी खोप विश्वका अन्य राष्ट्रलाई बाँडेनन् भने यो धेरै वर्षसम्म पनि निर्मुल नहुने स्वास्थ्य विज्ञको तर्क छ ।

संयुक्त राष्ट्रसंघका अनुसार फेब्रुअरी २०२१ को मध्यसम्ममा एक सय ९१ करोड खोप लगाइएको थियो । त्यसमध्ये तीन चौथाइभन्दा बढी खोप मात्र १० देशले प्राप्त गरेका थिए । त्यसविपरीत यस अवधिमा करिब दुई अर्ब ५० करोड जनसंख्या बसोबास गर्ने एक सय ३० मुलुकमा खोप उपलब्ध गराइएको छैन ।

जनस्वास्थ्य विज्ञ ग्याभिन यामी अन्य धनी राष्ट्रलाई कोभिड–१९ को सञ्चय रोक्न आग्रह गर्छन् । हालै नेचर डट कममा प्रकाशित टिप्पणीमा ड्युक विश्वविद्यालयका यी प्राध्यापकले ‘खोप राष्ट्रवाद’ स्वार्थी र आत्मघाति किन छ भन्ने व्याख्या गर्न गेम थ्योरीको प्रयोग गरेका थिए । ‘यदि विश्वमा सबैभन्दा धनी राष्ट्रले खोपको सञ्चिती जारी राखेमा विश्वव्यापी महामारी अझ सात वर्षसम्म लम्बिन सक्छ,’ उनको तर्क छ ।

‘विश्वव्यापी स्वास्थ्यमा एउटा मन्त्र छ । यसअनुसार प्रकोप जहाँ उत्पत्ति भए पनि त्यो जताततै फैलिन सक्छ र यही कारणले गर्दा अन्तर्राष्ट्रिय समुदायको हैसियतले सामूहिक रूपमा हामीसँग भएको खोप बाँड्नुपर्छ । र, यो सुनिश्चित गर्न हामीले विश्वव्यापी खोप आपूर्ति विस्तारमा चासो दिनुपर्छ,’ जनस्वास्थ्य विज्ञ यामीले नेचरमा लेखेका छन् ।

उनको उक्त टिप्पणी प्रकाशित भएको केही दिनभित्रै युरोपेली मुलुकमा खोप अभाव भइरहँदा एस्ट्राजेनेका कम्पनीले खोपको ढुवानी रोकिरहेकामा अस्ट्रेलियाले आपत्ति जनाएको थियो ।

यामी र उनको टोलीले विश्वभर खोपको समान पहुँच विस्तारका लागि केही तरिका सुझाएका छन् । उत्पादक र विकसित मुलुकहरू बीच हुने सम्झौतामार्फत विश्वभर खोप पुर्‍याउन मद्दत पुग्न सक्छ । ‘राष्ट्रहरू भएको नाताले हामी समुद्रका जहाजजस्ता छौँ, जो एकसाथ उठ्न र लड्न सक्छौँ,’ यामीले भने ।

नयाँ कोभिड–१९ खोप वितरणमा कोभ्याक्स योजनालाई उनले उदाहरण दिए । त्यस्ता योजनाबाट विश्वका सबै मुलुक हातेमालो गरेर अगाडि बढ्न सकिने प्रचुरता उनले औँल्याए । यस्तै, गाभीले नेतृत्व गरेको भ्याक्सिन एलायन्स ‘द कोलिसन फर प्रिपेयर्डनेस इनोभेसन्स’ र विश्व स्वास्थ्य संगठनले ‘खरिदकर्ता’को पुल बनाएको उनले उदाहरण दिए । त्यसमार्फत धनी मुलुकले खोप खरिद गरेर गरीब ठाउँहरूमा आपूर्ति गर्न सक्ने उनको सुझाव छ ।

कोभ्याक्स योजनामा करिक एक सय ९० मुलुक सामेल भइसकेका छन् । तीमध्ये करिब तीन दर्जन धनी मुलुकले उत्पादकबाट खोप सीधा खरिद गर्छन् । उनीहरू ‘खरिदकर्ता’ पुलमा सहभागी छैनन् । यसको मतलब संसारको जनसंख्याको १६ प्रतिशतले सबै उपलब्ध डोजको आधाभन्दा बढी खरिद गरेको छ ।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभाग (एचएचएस) र फाइजर–बायोएन्टेकबीचको सम्झौता अमेरिका र फाइजरलाई फाइदाका लागि डिजाइन गरिएको हो । अरू कसैका लागि होइन ।

विशेषज्ञहरूको भनाइमा ‘पहिले म’ भन्ने दृष्टिकोणले विश्वव्यापी रूपमा हर्ड इम्युनिटी हासिल गर्न अवरोध सिर्जना गर्छ । ‘धनी देशहरूलाई अहिलेको कार्यशैलीबाट रोक्ने कुनै उपाय छैन । तर, कोभ्यासले यसमा हस्तक्षेप गर्न सक्छ,’ यामी भन्छन्, ‘ता कि विश्वको अधिक जनसंख्या लाभन्वित हुन सकोस् ।’

उनको टिप्पणी विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदानम गेब्रियससको भनाइसँग मिल्दोजुल्दो छ । महानिर्देशक गेब्रियससले गत जनवरीमा विश्व नै ‘विनासकारी नैतिक असफलताको किनारमा’ रहेको चेतावनी दिएका थिए । धनी मानिस छोटो समयका लागि मात्र कोभिड–१९ बाट सुरक्षित देखिएको उनको भनाइ थियो ।

दार्शनिक निकोल हसुलजस्ता विज्ञहरूले पनि खोप राष्ट्रवादलाई घातक भनेका छन् । उनीहरूको तर्क छ, ‘खोप राष्ट्रवाद न त नैतिक हिसाबले न्यायसंगत छ, न धनी मुलुकहरूकै दीर्घकालीन हितमा ।’

त्यसोभए उत्तम विकल्प के हो ? आफ्नो नयाँ टिप्पणीमा जनस्वास्थ्यविज्ञ यामीले धनी मुलुकले आफूसँग सञ्चित खोप जतिसक्दो चाँडो विश्वभर पु¥याउनुपर्नेमा जोड दिए । धनी मुलुकसँग उपलब्ध हरेक नौमध्ये एक डोज खोज कोभ्याक्स योजनालाई उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । भविष्यमा उत्पन्न हुने प्रकोप र त्यसको कारकलाई रोक्न यो रणनीति निकै प्रभावकारी हुने उनले बताए ।

एक अध्ययनको निष्कर्ष छ– गरिब मुलुकलाई जति ढिलो खोप उपलब्ध गरायो, त्यति नै विश्वव्यापी अर्थतन्त्रको आपूर्ति शृंखला अवरुद्ध हुन्छ ।

आधारभूत स्वास्थ्य प्रणालीलाई एक ठाउँमा राख्दा त्यसले विश्वव्यापी आपूर्तिमा सुधार ल्याउँछ । र, यसले आपूर्ति शृंखलालाई समान वृद्धि र दिशानिर्देश गर्न सक्छ । त्यो नैतिक वा आर्थिक रूपमा मात्र सही काम हुँदैन, विश्वव्यापी महामारी अन्त्य गर्ने उत्तम तरिका पनि हुनेछ ।

- साइन्स अलर्ट डट कमबाट
 

प्रकाशित मिति: ०७:०३ बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्