Kathmandu Press

भालुपहाडको जामले स्थानीयलाई सास्ती 

स्याङ्जा, फागुन २३ : सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भालुपहाडमा घुम्ती कटानमा भएको ढिला सुस्तीले स्थानीयहरुले दैनिक रुपमा सास्ती खेप्नुपरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका...
भालुपहाडको जामले स्थानीयलाई सास्ती 
Hardik ivfHardik ivf

स्याङ्जा, फागुन २३ : सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भालुपहाडमा घुम्ती कटानमा भएको ढिला सुस्तीले स्थानीयहरुले दैनिक रुपमा सास्ती खेप्नुपरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाको सिमानामा पर्ने भालुपहाडको घुम्ती कटानमा भएको ढिला सुस्तीले उक्त राजमार्ग भएर आवतजावत गर्ने स्थानीयहरुले सास्ती दैनिक सास्ती खेप्नु परेको हो । 

प्रशासनले अहिले दिनहुँ बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ४ देखि ५ सम्म अफिस समयमा खुला गर्न र प्रत्येक एक÷एक घण्टामा सडक खुलाउने गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं सुचना अधिकारी हरि प्रसाद शर्माले जानकारी दिए । अन्य समयमा पनि गाडीको चाप र कामको प्रकृती हेरेर बाटो खुलाउने गरी व्यवस्था मिलाईएको शर्माले बताए । 

तर सडक बन्द गरिने समयमा एकरुपता नहुँदा स्थानीयहरु घण्टौं लामो जाम कुरेर बस्न बाध्य छन् । अझ सडक रोक्ने र खोल्ने जिम्मेवारी पाएका फिल्डमा खटिने व्यक्तिहरुले अत्यावश्यक कार्यको लागि आवतजावत गर्नुपर्ने स्थानीय र बिरामीहरुको समेत समस्या पनि सुन्न त परै जाओस्, सडक बन्द भएको भन्दै उल्टै हप्किदप्कि समेत गर्ने गरेका छन् । 

निर्माणका क्रममा हुने जामको समेत व्यबस्थापनका लागि ट्राफिक प्रहरी खटाएको भएतापनि उचित व्यबस्थापन हुन नसक्दा बिरामी बोकेर हिडेका एम्बुलेन्स र अन्य अत्यावश्यक सवारी साधनहरुसमेत लामो समय जाममा कुरेर बस्न बाध्य हुने गरेका छन् । त्यसो त सोही राजमार्ग भएर कुनै भिआईपीको सवारीको खबर पाउँदा बित्तिकै भने छिटो बाटो खुल्ने स्थानीयहरुको गुनासो छ । 

यसरी निर्माणको लागि भन्दै मनपरी तरिकाले राजमार्ग बन्द गरिदा पोखराबाट स्याङ्जा, पाल्पा, बुटबल हुँदै सुनौली जाने र आउने हजारौं यात्रुहरु यात्राका लागि २/४ घण्टा वढी समय छुट्याउने गरेका छन् । 

सडक डिभिजन पोखराको टेण्डर मार्फत प्रदीप—जुम्ली—साइन (जे.भी) रुपन्देहीले घुम्ती कटानको जिम्मेवारी गत कात्तिक ३० गतेसम्मका लागि सक्ने गरी सम्झौता गरेर कार्य अगाडी बढाईएको थियो । तर कोरोना महामारीका कारण भएको लकडाउनले घुम्ती कटानको काममा अवरोध सिर्जना भएको निर्माण व्यबसायी ठाकुर भण्डारीले जानकारी दिए । हालसम्म घुम्ती कटानको कार्य करिब ८० प्रतिशत सम्पन्न भईसकेको भण्डारीको दाबी छ । कोरोना महामारीका कारण निर्माणको समय बैशाख सम्मको थप हुने बताएपनि बैशाखसम्म पनि निर्माण पुरा हुनेमा स्थानीयहरु भने ढुक्क देखिन्नन् ।   

यसरी निर्माण कार्य ढिला हुनुमा ठेकेदारको ढिलासुस्ती, प्रविधिको प्रयोग नहुनु लगायतका समस्या रहेका छन् । राजमार्गमा गरिने निर्माणमा ठूला–ठूला प्रविधिको प्रयोग गरेर घुम्ती काट्ने गरिए पनि यस स्थानमा ३/४ वटा डोजर स्काभेटर सहित ढुंगा फुटाउने ब्रेकरले निकै सुस्त गतिमा कार्य गरिरहेका छन् । 

यसरी महिनौंसम्म मुख्य राजमार्गमा नै बन्द गरेर निर्माण कार्य गर्दा हजारौ स्थानीयले हैरानी खेप्नुपरेको पर्यटन व्यबसायी अनन्तकुमार श्रेष्ठ बताउँछन् । महिनौसम्म सडक निर्माणको कार्य जारी रहँदा कोरोना महामारीपछि भर्खरै जुर्मुराएको पर्यटन प्रवद्र्धनमा समेत असर पारेको उनले बताए । 

मुख्य राजमार्ग बन्द हुँदा अत्यावश्यक पर्ने स्थानीयहरुले नागडाँडा–सेतीदोभान हुँदै बडाचौर निस्कने सडकको प्रयोग गर्ने गरेतापनि अहिले उक्त सडकपनि मर्मतको क्रममा रहँदा थप सास्ती खेप्नुपरेको स्थानीयहरु बताउँछन् । मुख्य राजमार्गमा निर्माण गर्दा बैकल्पिक बाटोको व्यवस्था, रातीको समयमा बत्तीको व्यवस्था गरेर निर्माण गर्नुपर्ने, निर्माणका लागि चाहिने साम्रागी र अत्याधुनिक प्रविधिको प्रयोगबाट यथ्राशिघ्र निर्माण सम्पन्न गर्नुपर्ने स्थानीयहरुको सुझाव छ । 
 

प्रकाशित मिति: १६:५६ बजे, आइतबार, फागुन २३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्