Kathmandu Press

सेना दिवसमा ‘हाफ म्याराथन’

दुल्लू, फागुन १९ : सेना दिवसका अवसरमा जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा...
सेना दिवसमा ‘हाफ म्याराथन’

दुल्लू, फागुन १९ : सेना दिवसका अवसरमा जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा जिल्लास्थित इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको हो ।  यही फागुन २५ गते प्रतियोगिता सञ्चालन हुने इन्द्रदल गुल्मले जनाएको छ । जिल्लाको नारायण नगरपालिका–६ काँडाचौरमा शुभारम्भ भई नारायण नगरपालिका–१ स्थित ऐतिहासिक कोतगढीमा सम्पन्न हुने प्रतियोगिता जिल्लाका विभिन्न निकाय र स्थानीयवासीको समन्वयमा सञ्चालन गर्न लागिएको इन्द्रदल गुल्म दैलेखका सेनानी बिके सिंह विश्वकर्माले जानकारी दिए ।  

खुलातर्फ हाफ म्याराथप ९२१ किलोमिटर० र पाँच किलोमिटर दौड गरी प्रतियोगितामा दुईवटा विधा समावेश गरिएको छ । पाँच किलोमिटर दौडमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाहेक राष्ट्रसेवक कर्मचारी र जिल्लावासी सहभागी हुन पाउनेछन् । खुलातर्फको हाफ म्याराथन प्रतियोगितामा नारायण नगरपालिकास्थित काँडाचौर, खुर्सानीबारी, भैँसेखोर हुँदै रातापानीसम्म पुगी फर्केर भैँसेखोर, खुर्सानीबारी, दैलेख बजार हुँदै स्थानीय ऐतिहासिक कोतगढीमा पुग्नुपर्ने रुट तय गरिएको सेनानी विश्वकर्माले जानकारी दिए । 

पाँच किलोमिटर दौडतर्फ काँडाचौर हुँदै खुर्सानीबारीसम्म पुगी फर्केर काँडाचौर दैलेख बजार हुँदै स्थानीय ऐतिहासिक कोतगढीमा पुग्नुपर्ने रुट तय गरिएको छ । हाफ म्याराथन हुने रुट एक हजार ३७५ मिटरदेखि एक हजार ६२५ मिटर उचाइ र पाँच किलोमिटर दौडको रुट एक हजार ३७५ मिटरदेखि एक हजार ५२० मिटर उचाइबीच रहने र कच्ची तथा पक्की मोटरबाटो रहने सेनाले जनाएको छ । 

हाफ म्याराथन प्रतियोगितामा खुलातर्फका विजेताले रु ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । हाफ म्याराथन प्रतियोगितामा जिल्लावासीतर्फ विजेताले रु चार हजार, उपविजेताले तीन हजार र तेस्रो हुनेले दुई हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै पाँच किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ विजेताले रु १० हजार, उपविजेताले सात हजार ५००, तेस्रो हुनेले पाँच हजार, चौथो हुनेले तीन हजार र पाँचौँ हुनेले दुई हजार  पुरस्कार प्राप्त गर्नेछन् । 

यस्तै पुरुषतर्फ विजेताले १० हजार, उपविजेताले सात हजार ५००, तेस्रो हुनेले पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय नियमानुसार सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन चाहनेहरूले यही फागुन २४ गतेभित्र फोन, इमेल तथा सेनाको काँडाचौर ब्यारेक र सुरक्षा बेस दुल्लूमा नाम दर्ता गराउन सकिने सेनाले जनाएको छ । 
 

प्रकाशित मिति: १५:३१ बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्