Kathmandu Press

आगलागीबाट पीडित परिवारका लागि अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने

ताप्लेजुङ, फागुन १९ : मेरिङन गाउँपालिका, दोभान बजारका आगलागीपीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध...
आगलागीबाट पीडित परिवारका लागि अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने

ताप्लेजुङ, फागुन १९ : मेरिङन गाउँपालिका, दोभान बजारका आगलागीपीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

आगलागीबाट पीडित पाँचजना परिवार भएका परिवारलाई विपद् व्यवस्थापन कोषबाट नगद १५ हजार र पाँचजना भन्दा बढी परिवार भएकालाई २० हजारका दरले आर्थिक सहायता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश पाण्डेले जानकारी दिए । उनका अनुसार पूर्ण घर क्षति भएका ३३ र कोठा भाडामा बस्ने २७ परिवारलाई उक्त बराबरको आर्थिक सहायता प्रदान गरिने छ । 
 
यस्तै राहत वितरण गर्दा एकद्वार प्रणाली अपनाइने निर्णय भएको छ । राहत उपलब्ध गराउने व्यक्ति तथा सङ्घसंस्थाले मेरिङदेन गाउँपालिकामार्फत राहत उपलब्ध गराउनुपर्ने निर्णय भएको हो । यसैबीच आज नै प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली राहत लिएर आगलागी क्षेत्रमा आउने बताइएको छ । अहिले दिउँसो केही रातका प्याकेज लिएर मुख्यमन्त्री शेरधन राईसहितको टोली आउने प्रजिअ पाण्डेले जानकारी दिए । यता पीडित परिवारको दीर्घकालीन व्यवस्थापनका सम्बन्धमा समेत योजना बनाएर अघि बढ्ने तयारी भएको छ । 
 
मङ्गलबार बिहान ९ बजेदेखि भएको आगलागीबाट मेरिङदेन गाउँपालिका–३ मा पर्ने दोभान बजारका ४९ घर जलेर नष्ट भएका थिए । आगलागी भएका घरमा डेरा बस्नेसमेत गरी ५५ परिवार विस्थापित बनेको प्रारम्भिक तथ्याङ्क बाहिर आएको छ । क्षतिको थप विस्तृत विवरण सङ्कलन भइरहेको मेरिङदेन गाउँपालिकाले जनाएको छ । पीडित परिवारलाई तत्कालका लागि आवास र खाद्यान्नको व्यवस्थापन मेरिङदेन गाउँपालिका, उद्योग वाणिज्य सङ्घ र रेडक्रसले मिलाएका छन् । 

आगलागीको क्षति विवरण सङ्कलन शुरु

आगलागीको क्षति विवरण सङ्कलन शुरु भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्नका लागि गाउँपालिकाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेको संयोजकत्वमा पाँच सदस्सीय समिति गठन गरिएको छ ।  

११ बजेबाट विवरण सङ्कलन कार्य भइरहेको विवरण सङ्कलन समिति संयोजक तथा मेरिङदेन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए । उनले भने, ‘हामी क्षति विवरण सङ्कलन समिति सङ्कलनमा लागिपरेका छौँ । बेलुकीको ५ बजेसम्ममा सम्पूर्ण क्षतिको विवरण सर्वजनिक गर्छौं’, आगलागी विस्थापित परिवारलाई मेरिङदेन गाउँपालिकाले प्रतिपरिवार १५ हजारका दरले नगद राहत मङ्गलबार बेलुका नै वितरण गरेकाे वडाध्यक्ष गणेशप्रसाद भण्डारीले बताए । 

अहिले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको ताप्लेजुङ प्रहरी कार्यालय प्रमुख बालरनसिंह राणाले जानकारी दिए । आगलागीबाट ५० घर जलेर नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्