ताप्लेजुङको दोभान बजारमा आगलागी, ७९ घरपरिवार विस्थापित

फुङलिङ, फागुन १८ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएको छ । 

‘अहिलेसम्म पूर्ण रुपमा आगो नियन्त्रणमा आउन सकेको छैन्’, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालरनसिंह राणाले भने, ‘आगलागीबाट ४७ घर जलेर नष्ट भएको छ भने ७९ परिवार विस्थापित भएको छ ।’ आगलागीमा परेर लक्ष्मी बैंक शाखा कार्यालय, ग्लोबल आइएमी बैंकको शाखा कार्यालय र आइएमीको एउटा शाखा कार्यालय जलेर पूरै नष्ट भएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिए । 

जिल्लाको दोस्रो ठूलो बजार दोभान हो । यस बजारमा १०० व्यापारिक घर भएको उनले बताए। ४७ घरमा रहेका किराना पसलदेखि खाद्य स्टोर, हाडवेयरलगायत सबै पसल जलेर नष्ट भएको प्रहरी प्रमुख राणाको भनाइ छ । उनले भने, ‘आगलागीबाट भएको क्षतिको विवरण अब सङ्कलन गर्छौं ।’ फुङ्लिङ नगरपालिका र पाँचथर जिल्लाको दमकलको माध्यमबाट आगो नियन्त्रण गर्ने कार्य भइरहेको उनको भनाइ छ ।

 Published Date: Tuesday, 2nd March 2021 4:04:00 pm