Kathmandu Press

प्रधानमन्त्री ओलीलाई कोबाट खतरा?

इतिहासतिर फर्केर हेर्दा प्रधानमन्त्रीमाथि नै भौतिक आक्रमण भएका उदाहरण छैनन्। प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा कालोझण्डा देखाउने, नाराबाजी गर्नेजस्ता गतिविधि भने विगतमा पनि हुने गरेका थिए। तर, प्रधानमन्त्रीमाथि नै भौतिक आक्रमण भएका उदाहरण छैनन्।
प्रधानमन्त्री ओलीलाई कोबाट खतरा?
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १७ : प्रधानमन्त्री केपी ओलीले सोमबार पोखरामा आयोजित सभामा आफूमाथि भौतिक आक्रमण हुन सक्ने बताएका छन्। प्रधानमन्त्रीलाई कताबाट सुरक्षा खतरा छ त ? उनले आफ्नो सम्बोधनमा खुलाएनन्।

उनीनिकट स्रोतहरू र सुरक्षा निकायका अधिकारीहरू कसैले पनि उनलाई कताबाट सुरक्षा खतरा छ भन्ने खुलाएनन्। गृह मन्त्रालयका अधिकारीहरू पनि त्यस्तो कुनै सुरक्षा खतराबारे अनभिज्ञ देखिन्छन्।

‘विशिष्‍ट व्यक्तिको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्थापन मिलाइएको हुन्छ,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘प्रधानमन्त्रीका गतिविधि, कार्यक्रम स्थललगायत सबैतिर पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको हुन्छ।’

प्रहरीका एक उच्च अधिकारी पनि देशका कार्यकारी प्रमुखको सुरक्षा चुनौति पटक-पटक ‘एसेस्मेन्ट’ गरेर सुरक्षा व्यवस्था मिलाइएको बताउँछन्। यस्तो ‘एसेस्मेन्ट’ बारम्बार गर्ने गरिएको उनको भनाइ छ। ‘सबै सुरक्षा फौजले उहाँको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएका छन्,’ प्रहरीका ती अधिकारी भन्छन्।

प्रधानमन्त्रीको भित्री सुरक्षा घेरामा सेनाको टोली रहन्छ। सेनाका प्रमुख सेनानी नै प्रधानमन्त्रीका एडीसीका रूपमा तैनाथ छन्। ‘विशिष्‍ट व्यक्तिको सुरक्षा व्यवस्थापन निर्देशिका २०७७ (संशोधित)’ अनुसार प्रधानमन्त्री ओलीको सुरक्षामा चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी तैनाथ छन्।

सेना, सशस्त्र प्रहरी, प्रहरी र राष्‍ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको बाक्लो सुरक्षा घेरामा रहन्छन्, प्रधानमन्त्री ओली। प्रधानमन्त्रीको सुरक्षामा मात्र करिब एक सय सुरक्षाकर्मी परिचालित छन्। भीभीआईपीको सुरक्षा व्यवस्थासम्बन्धी कार्यविधि कार्यान्वयनको नेतृत्व गृह मन्त्रालयले गर्छ।

निवास, सवारी र व्यक्तिगत सुरक्षामा सेना, प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेरा रहन्छ। प्रधानमन्त्री उपस्थित रहने सार्वजनिक कार्यक्रममा पनि सुरक्षाकर्मीको बाक्लो घेरा रहन्छ।

त्यसो भए प्रधानमन्त्रीले कताबाट सुरक्षा खतरा महशुस गरे त ? सशस्त्र विद्रोहको वकालत गर्दै आएको नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह पनि अहिले सरकारसँग वार्तामा आउने प्रक्रियामा रहेको प्रधानमन्त्री ओली स्वयं, मन्त्रीहरू र सत्तारुढ नेकपाका नेताहरूले बताउँदै आएका छन्।

नेकपाको विभाजित पुष्‍पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको समूह पनि ओली समूहमाथि भौतिक आक्रमणकै तहमा उत्रिएको छैन। दुई समूहबीच पछिल्ला दिनमा शीतयुद्ध भने चर्को छ।

इतिहासतिर फर्केर हेर्दा प्रधानमन्त्रीमाथि नै भौतिक आक्रमण भएका उदाहरण छैनन्। प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा कालोझण्डा देखाउने, नाराबाजी गर्नेजस्ता गतिविधि भने विगतमा पनि हुने गरेका थिए। तर, प्रधानमन्त्रीमाथि नै भौतिक आक्रमण भएका उदाहरण छैनन्।

त्यसैले आफूलाई कताबाट सुरक्षा खतरा छ भन्ने प्रधानमन्त्री ओली आफैँले नबताएसम्म सतहमा आउने देखिँदैन।
 

प्रकाशित मिति: १८:३२ बजे, सोमबार, फागुन १७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्