Kathmandu Press

संवैधानिक आयोगका नियुक्ति खारेज गर्न माग

काठमाडौं, फागुन १७ : संवैधानिक आयोगमा गरिएको नियुक्तिलाई लिएर चौतर्फी बहस चलिरहेका बेला ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले...
संवैधानिक आयोगका नियुक्ति खारेज गर्न माग

काठमाडौं, फागुन १७ : संवैधानिक आयोगमा गरिएको नियुक्तिलाई लिएर चौतर्फी बहस चलिरहेका बेला ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले संसदीय सुनुवाइबिना गरिएका नियुक्ति तत्काल खारेजी गर्न माग गरेका छन्।

संवैधानिक अधिकारसँग सम्बन्धित ती संस्थाले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर माघ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत ११ वटा आयोगमा गरिएका ३२ जनाको नियुक्ति खारेज गर्नुपर्ने माग राखेका हुन्।

संवैधानिक आयोगहरूको स्वतन्त्रतालाई कमजोर पार्नेगरी ल्याइएको अध्यादेशलाई सरकारले तत्काल फिर्ता गरी कुनै पनि परामर्श र संसदीय सुनुवाइ प्रक्रियासमेत अवलम्बन नगरी यी आयोगहरूमा गरिएका नियुक्तिलाई रद्द गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार मंसिर ३० गते बसेको बैठकको सिफारिसअनुसार गरिएका नियुक्ति अवैधानिक भएको र यसले संवैधानिक आयोगहरूको निष्ठाप्रतिको जनआस्था र विश्वासलाई कमजोर बनाएको निष्कर्ष ती संस्थाहरूले निकालेका हुन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र नियुक्ति खारेजीको माग राखेर दर्ता गरिएका चारवटा रिट सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छन् ।

शनिबार नेपाल बार एसोसिएसनले पनि संवैधानिक आयोगमा गरिएका नियुक्तिलाई संविधानको मर्म र भावनाविपरीत रहेको भन्दै त्यसलाई खारेज गर्न सरकारलाई सुझाएको थियो।

प्रकाशित मिति: १६:१८ बजे, सोमबार, फागुन १७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्