Kathmandu Press

शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउँछु, ओलीको पत्तासाफ गर्छु : प्रचण्ड

काठमाडौं, फागुन १५ : नेकपा (प्रचण्ड नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नहुने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताएका...
शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउँछु, ओलीको पत्तासाफ गर्छु : प्रचण्ड

काठमाडौं, फागुन १५ : नेकपा (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नहुने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताएका छन्।

अध्यक्ष प्रचण्डले प्राइम टाईम्स टेलिभिजनका लागि ऋषि धमलालाई दिएको अन्तर्वार्तामा आफू प्रधानमन्त्री नहुने बताएका हुन्। उनले केही दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गरिने बताए।

अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन माग गरिरहेका छन्। उनले राजीनामा नदिए संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी छ।

कांग्रेस र जसपासँग मिलेर अविश्वासको प्रस्तावमार्फत ओलीलाई हटाउने प्रचण्डले बताए। यसका लागि कांग्रेस र जसपासँग सहाकार्य हुने उनको भनाइ थियो।

कांग्रेस सभापति देउवासँग सहकार्य गरेर अघि बढ्ने उनले बताए। अहिले आफू प्रधानमन्त्री नभएर देउवालाई बनाउने उनको भनाइ थियो। प्रचण्डले भने, ‘मेरो प्रधानमन्त्रीको दाबी गर्दिनँ। दुई चार दिनभित्रै अन्तिम चरणमा पुग्छौं।’
उनले ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउने बताउँदै भने, ‘शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउँछु। ओलीको पत्तासाफ गर्छु, म प्रधानमन्त्री बन्दिनँ।’

सत्ताका लागि कसैसँग सम्झौता नगरेको उनको भनाइ थियो। अहिलेको राजनीतिक अवस्थालाई हेरे कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर जान लागेको उनले बताए।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए। त्यसविरुद्ध नेकपासँगै कांग्रेस र जसपा पनि आन्दोलनमा उत्रिएको थियो। त्यसलाई स्मरण गराउँदै प्रचण्डले भने, 'एउटै मुद्दामा समर्थन रहेकाले कांग्रेस र समाजवादीसँग सहाकार्य गर्न लागेका हौं।'

अब ओलीसँग एकता नहुने उनको भनाइ थियो। अ‍ोलीमा सर्वोच्चले यत्रो फैसला गर्दा पनि नैतिकताको ‘न’ समेत नभएको उनको टिप्पणी थियो।

अध्यक्ष प्रचण्डले भने, ‘ओलीजी मलाई ध्वस्त बनाउँछु भन्दै हिँड्नुभएको छ। अब उनीसँग कसरी एकता हुन्छ? अब उहाँ प्रतिगमनकारी चारधाराको मानिस हुनुभयो।’

प्रधानमन्त्री ओलीले संसद् विघटन गराएपछि नेकपामा विभाजन आएको हो। प्रधानमन्त्री अ‍ोलीको संसद् विघटन गराउने निर्णय सर्वोच्च अदालतले बदर गरिसकेको छ।

यससँगै संसद् पुनःस्थापना भएको छ। सर्वोच्चको आदेशमा सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको छ।

प्रकाशित मिति: ०८:५९ बजे, शनिबार, फागुन १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्