Kathmandu Press

चीन–अमेरिका व्यापार प्रतिस्पर्धा : टेस्ला भर्सेस ‘हङ गुआङ’

काठमाडौं, फागुन १४ : विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाबीच आर्थिक प्रतिस्पर्धाका क्षेत्र अनगिन्ति छन् । पछिल्ला दिनमा त्यस्तो प्रतिस्पर्धा कार निर्माणमा देखिएको...
चीन–अमेरिका व्यापार प्रतिस्पर्धा : टेस्ला भर्सेस ‘हङ गुआङ’

काठमाडौं, फागुन १४ : विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाबीच आर्थिक प्रतिस्पर्धाका क्षेत्र अनगिन्ति छन् । पछिल्ला दिनमा त्यस्तो प्रतिस्पर्धा कार निर्माणमा देखिएको छ ।

चीनले निर्माण गरेको सस्तो विद्युतीय कार ‘हङ गुआङ मिनी ईभी’ले अमेरिकाको टेस्ला कारलाई टक्कर दिइरहेको छ ।

विद्युतीय कार ‘हङ गुआङ’ विश्वकै ठूलो जनसंख्या चीनमा लोकप्रिय बनेको छ । टेस्ला कारमा पनि विद्युतीय इन्जिन छ । तर, यो ‘हङ गुआङ मिनी ईभी’को तुलनामा महँगो छ ।

चीनमा निर्मित टेस्ला कारको मोडेल–३ सेडानको मूल्य करिब ३६ हजार आठ सय पाँच डलर पर्छ । तर, चार हजार पाँच सय डलरमै चिनियाँ उपभोक्ताले ‘हङ गुआङ मिनी ईभी’ खरिद गरिरहेका छन् ।

‘हङ गुआङ मिनी ईभी’को निर्माण चीनको सरकारी कम्पनी ‘एसएआईसी’ले गर्छ, जुन चीनको सबैभन्दा ठूलो कार कम्पनी हो । अमेरिकाकै ठूलो कार निर्माता कम्पनी जनरल मोटर्ससँग मिलेर ‘एसएआईसी’ले ‘हङ गुआङ मिनी ईभी’ बनाउँछ ।

गत जनवरीमा चीनमा ‘हङ गुआङ मिनी ईभी’को बिक्री टेस्लाको विद्युतीय कारको तुलनामा करिब दुई गुणा बढी थियो । कम मूल्य पनि ‘हङ गुआङ मिनी ईभी’को बिक्री अत्यधिक हुनुको मुख्य कारण हो ।

एयर कन्डिसन जडित अपग्रेड मोडेल पनि करिब पाँच हजार डलरमै बजारमा उपलब्ध छ । सोही कारण चीनका आम नागरिकले पनि यो कार निजी बाहनको रूपमा खरिद गर्ने हैसियत राख्छन् । महँगो भएकैले टेस्ला कार सम्भ्रान्त वर्गको मात्र पहुँचमा छ ।

कार विशेषज्ञहरूका अनुसार ‘हङ गुआङ मिनी ईभी’ ब्याट्री, रेन्ज र परफर्मेन्समा टेस्लाभन्दा धेरै तल छ । तर, कम मूल्यमा उपलब्ध भएकाले यो कार चीनकै सबैभन्दा ज्यादा बिक्री हुने कार बन्दैछ ।

‘हङ गुआङ मिनी ईभी’ गत वर्षदेखि बजारमा आएको हो । यसको राम्रो मोडेलको गति प्रतिघण्टा एक सय किलोमिटरसम्म छ । यो कार तीन मिटरभन्दा कम लम्बाइ र डेढ मिटर चौडा छ । र, एकसाथ चारजना यसमा यात्रा गर्न सक्छन् ।

सन् २०२० भरिमा चीनमा मात्र एक लाख ३५ हजार वटा टेस्लाको विद्युतीय कार बिक्री भएका थिए । कोरोना कहरबीच सन् २०२० जुलाईदेखि डिसेम्बरसम्म ‘हङ गुआङ मिनी ईभी’ कार एक लाख १२ हजारवटा बिक्री भएका थिए । यो तथ्यांकले  दुई कारबीच बिक्रीमा प्रतिस्पर्धा देखाउँछ ।

प्रकाशित मिति: ०७:२२ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्