Kathmandu Press

धम्पुस चुचुरोका आरोहीको अनुभवः उचाइसँगै बढ्यो आत्मविश्वास

धम्पुस चुचुरोका आरोहीको अनुभवः उचाइसँगै बढ्यो आत्मविश्वास
Hardik ivfHardik ivf

पोखरा, फागुन १२ : ‘मानिसको जीवनमा धेरै रहर हुने गर्छन्, कुनै पूरा हुन्छन् कुनै हँुदैनन् । मलाइ पनि हिउँसँगको चुचुरोमा पुग्ने रहर निकै थियो पूरा भयो’ माघको ३ गते धम्पुस पिक (६०१२ मिटर) आरोहण गर्न सफल ४३ वर्षीय हीराकुमारी मल्लले एउटा सपना पूरा भएको अनुभव सुनाउँदै भनिन् । ‘म सन् २००७ बाट टे«किङ गाइडका रुपमा काम गर्दै आएकी छु, विदेशी पर्यटकलाई नेपालको भूगोल, रहनसहन र संस्कृतिका बारेमा बुझाउँदै र हिमालका चुचुरो देखाउँदै जाँदा मलाई पनि त्यहाँ पुग्ने रहर जाग्यो, चुचुरोमा पुग्न आँट चाहिने रहेछ, अन्ततः सफल भएँ ।’ उनले सफल हुन चुनौतीको पहाड त चढ्नै पर्ने रहेछ त्यो पार गरेपछि सफलता मिल्छ भन्ने शिक्षा र आत्मविश्वास आरोहण पछि पाएको बताइन् । 

मनाङ कि ३३ वर्षीय मनु गुरुङ पनि झण्डै आधा दर्जनभन्दा बढी चुुचुरोमा पुगेकी छन् । अझै अग्ला हिमाल चढ्ने रहर पनि साँचिरहेकी छिन् । ‘म ट्रेकिङ क्षेत्रबाट माउन्टेन क्लाइम्बिङको अनुभव बटुल्दै छु, टेन पिक, चुलो वेष्ट, अन्नपूर्णलगायत झण्डै आधा दर्जन पिकको सफल आरोहण गरेकी छु, पछिल्लो पटक धम्पुस पिकको अनुभव केही फरक रह्यो ।’ 

गुरुङले अत्याधिक हावाको वेग र चिसोले गर्दा केही कठिनाइ भएको सुनाइन । हिमाल आरोहणप्रतिको रुचिका बारेमा गुरुङले भनिन्, ‘म नेपालकी छोरी, डाँडापाखा कन्दरा कति गरेकी छु, चुचुराको फेदमा कैयाैँ पटक पुगेकी छु तर चुचुरो उक्लने कुरामा हामीलाई विश्वास नगरिँदो रहेछ ।’ उनले २०१३ मा एउटा पिक चढ्न जाँदाको अनुभव सुनाउँदै भनिन्, ‘म केही समय अघि हिमाल आरोहणको तयारी गरेकी थिएँ तर त्यहाँका केही मानिसहरुले मलाई विदेशीसँग विहे गरेर आएको हो ? नत्र एक्लै महिलाले कहाँ हिमाल चढ्न सक्छन्  भनियो, मलाई यो कुराले निकै चोट पुग्यो । आफ्नै भू–भागका चुचुरोमा पुग्न विदेशीसँग विहे गर्नुपर्ने वा अरुको साहारामा मात्र उक्लनुपर्ने हो र ? किन विश्वास नगरेका आफ्नै चेलीहरुलाई’, गुरुङले भनिन्, ‘मलाई यस्तै यस्तै कुराले पनि थप प्रेरणा मिल्यो र म चुचुरोमा उक्लन थालेँ र सफल पनि भएँ ।’ 

उनले कठिनाइसँग जुधेर आत्मविश्वास जगाउन सके असम्भव भन्ने केही नहुने बताइन । आफूमा विश्वास गर्न सक्यो भने ९० प्रतिशत सफलता आफ्नो पक्षमा हुने उनको दाबी छ । 

म्याग्दीका ३४ वर्षीय ¥याफ्टिङ गाइड सनकुमार जुग्जाली खोलामा पौडिरहेको मानिस चुचुरोमा पुग्दाको अनुभव बटुल्ने आरोहरण गरेको बताउँछन् । ‘समुद्री सतहबाट उच्च तहसम्मको अनुभव बटुल्न मन लाग्यो । केही दिनको तालिमले ऊर्जा मिल्यो अनि छ हजार मिटरको चुली उक्लन सफल भइयो ।’ 

जुग्जालीले धम्पुस पिकको आरोहरणको सफलताले अन्य चुचुरोमा पनि पुग्न ऊर्जा मिलेको बताए । ट्रेकिङ्ग गाइड समेत रहेका जुग्जाली पर्यटन क्षेत्रमा यस्ता गतिविधिका बारेमा अनुभव हुन जरुरी ठान्छन् । उनले आफ्नो अनुभवलाई पर्वतीय पर्यटन प्रवद्र्धनका लागि प्रयोग गर्ने बताए । 

गएको कम्तीमा १५ वर्ष अघिदेखि मर्दी हिमालको बेसक्याम्पमा ट्रेकर्स प्याराडाइज रेष्टुरेण्ट सञ्चालन गर्नुभएका होटल व्यवसायी सुदिप गौतम पनि हिमालको फेदमा बस्नु र चुचोरामा पुग्नु फरक भएको अनुभव सुनाउँछन् । ‘म सानै उमेरदेखि मर्दी हिमालको फेदमा होटल व्यवसायमा आवद्ध छु, तर आँखा अगाडि देखिरहने हिमालहरुको चुचुरोमा पुग्न सहज रहेनछ । जब कठिनाइहरु चिर्दै अगाडि बढियो जीवनमा सफलता पाउन पनि सहज रहेनछ भन्ने शिक्षा हासिल गरियोे ।’ 

गौतमले हिउँ हुँदा र हिउँ नहुँदा दुबै समयमा कठिन भएको अनुभव सुनाए । ‘प्रतिघण्टा ७५ किलोमिटरको हावाको वेगले धानिन नसक्दाको अनुभव अविस्मरणीय रह्यो । छ हजार १२ मिटरको उचाइमा पुगेपछि खुशीका आँशु झरे, आनन्द लाग्यो ।’ गौतमले जीवनको मिठो अनुभवलाई व्यावहारिक जीवनमा पनि प्रयोग गरेर अघि बढ्ने बताए ।

नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकी प्रदेशका सचिव गौतम नेपालको पदयात्रा पर्यटन मोटर गुड्न मिल्ने बाटोले गर्दा नासिदै गएको अवस्थामा अब पर्वतीय पर्यटनबाट पर्यटन बजारलाई विस्तार गर्नुपर्ने धारणा राख्छन् । ‘विश्वमा १४, नेपालमा आठ र गण्डकी प्रदेशमा मात्र तीनवटा आठहजार मिटर अग्ला हिमाल छन् । योसँगै अनगिन्ति पिकहरु यस क्षेत्रमा छन् यसको प्रवद्र्धन गर्न सके अब विश्व जगतमा पर्वतारोहण पर्यटनलाई विकाउन सकिन्छ’, गौतमले भने ।  

कास्की मादी गाउँपालिकाका दिपेशबाबु सुवेदी सन् २००४ बाट ट्रेकिङ क्षेत्रमा प्रवेश गरेर पदयात्रा पर्यटनको अनुभव लिएपनि पिकको आरोहण पहिलो पल्ट गरेको बताउँछन् । ‘पदप्रदर्शक भएर काम गर्दा धेरै पटक पाँच हजार पाँच सयको उचाइमा टल्केका हिमालहरुसँग आँखा जुधाउँदै हिँडियो तर धेरैपछि मात्र ती चुचुरोमा पुग्ने अवसर मिल्यो ।’ सुवेदीले सोचेको कुरा पुगेपछि निकै खुशी लागेको बताए । उनले पर्यटन क्षेत्रमा कुनै कुराको अनुभव आवश्यक रहेको जनाउँदै अब ‘माउण्टेन क्लाइमिङ’ को अनुभवले यस क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 
 

प्रकाशित मिति: १५:२४ बजे, बुधबार, फागुन १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्