Kathmandu Press

हिन्द महासागरको मौसमी क्षेत्रमा किन घट्दैछ सिमसार ?

अनुसन्धानकर्ताहरू हिन्द महासागरको तापक्रममा आएको परिवर्तनलाई नजिकबाट नियालिरहेका छन् । खासगरी, हिन्द महासागरको जलवायुसँग जोडिएको विश्वको सबैभन्दा बढी वर्षात् हुने मेघालयको चेरापुन्जीमा घट्दो...
हिन्द महासागरको मौसमी क्षेत्रमा किन घट्दैछ सिमसार ?
Hardik ivfHardik ivf

नुसन्धानकर्ताहरू हिन्द महासागरको तापक्रममा आएको परिवर्तनलाई नजिकबाट नियालिरहेका छन् । खासगरी, हिन्द महासागरको जलवायुसँग जोडिएको विश्वको सबैभन्दा बढी वर्षात् हुने मेघालयको चेरापुन्जीमा घट्दो सीमसारबाट उनीहरूको चिन्ता बढेको छ । मौन, शान्त र हराभरा– चेरापुन्जीको मौसिनरम गाउँको सदाबहार परिचय हो यो । यही गाउँमा विश्वमै सबैभन्दा बढी वर्षात् हुने मानिन्छ, जहाँ बर्सेनि १० हजार मिलिमिटर वर्षा हुन्छ । र, यही गाउँको विविधतामा जलवायु परिवर्तनको व्यापक असर देखिन थालेको छ ।

घट्दो वर्षात्

हालै एक सय १९ वर्ष लामो वर्षाको ढाँचा अध्ययन गर्दा चेरापुञ्जी र वरपरका क्षेत्रमा वर्षाको मात्रा घट्दो क्रममा रहेको देखिएको छ । अध्ययन टोलीले सन् १९०१ देखि २०१९ सम्मको दैनिक वर्षा मापन गरिएको अभिलेख विश्लेषण गरेको छ । र, हिन्द महासागरको तापक्रममा आएको परिवर्तनले यस क्षेत्रको वर्षामा ठूलो असर पारेको अध्ययनको निष्कर्ष छ ।

टोलीले भूउपग्रहवाट प्राप्त आँकडा पनि विश्लेषण गरेको छ । र, दुई दशकयता भारतको पूर्वोत्तर भेगमा वनस्पति विनाश भएको तथ्य अध्ययनले सार्वजनिक गरेको छ । बढ्दो मानवीय हस्तक्षेप पनि यसको कारक रहेको अध्ययनको निष्कर्ष छ ।

‘परम्परागत खेतीमा ह्रास आएको छ र अन्य विधिले त्यसलाई विस्थापित गर्दै छन्,’ इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्येता जयनारायण कुट्टिपुरातले भने, ‘यसक्षेत्रमा ठूलो परिमाणमा वन फँडानी भएको देखिएको छ । हाम्रो अध्ययनले खासगरी सन् २००६ देखि वनस्पतिक्षेत्र घट्दो देखाएको छ । र, अनाज उब्जिने क्षेत्र वृद्धि भएको देखिएको छ ।

उब्जनी योग्य भूमि भने बढ्दै

बर्सेनि १०४.५ वर्ग किलोमिटर क्षेत्रबाट बोटबिरुवा विनाश हुने गरेको तथ्यांक विश्लेषणबाट देखिएको छ । सन् २००१ देखि २०१८ सम्म उब्जाउ जमिनमा (१८२.१ वर्गमिटर प्रतिवर्ष) तथा सहरी जग्गामा (०.३ वर्गमिटर प्रतिवर्ष) वृद्धि भएको देखिएको कुट्टिपुरातले बताए ।

सन् १९७३ देखि २०१९ को अवधिमा वार्षिक औसत वर्षामा प्रतिदशक ०.४२ मिलिमिटर गिरावट भएको अनुसन्धान टोलीको निष्कर्ष छ । अगरतला, चेरापुञ्जी, गुवाहाटी, कैलाशहर, पासीघाट, शिलोङ र सिलचरको पछिल्लो अवस्था यसमा समेटिएको छ ।

भारतको पूर्वोत्तरलाई नै अध्ययनमा किन समेटियो त ? टोलीको भनाइ छ– भारतको पूर्वोत्तर क्षेत्रमा पहाडी इलाका बढी छ । र, त्यो गंगा नदीको विशाल समतल भूभागबाट नजिक पनि पर्छ । हिन्द महासागर र त्यसको पूर्वोत्तर भाग बंगालको खाडीको मौसमसँग निर्भर छ, गंगाको समथर भूभाग र भारतको पूर्वोत्तर क्षेत्र । 

यही मौसमी चक्रमा भारतको पूर्वोत्तर क्षेत्रमा आठ राज्य मात्र होइन, नेपाल र तिब्बत पनि जोडिन्छन् । यस क्षेत्रमा हुने जलवायु परिवर्तनको असरलाई अत्यन्तै संवेदनशील रूपमा लिइनुको कारण पनि यही हो ।

‘त्यसैले मौसम परिवर्तनको प्रभावका संकेतहरू चेरापुञ्जीमा हुने वर्षात्बाट प्राप्त गर्न सकिन्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘त्यसमाथि भारतको पूर्वोत्तरमा सबैभन्दा ठूलो वनस्पति क्षेत्र छ र यही क्षेत्रमा विश्वका १८ वटा जैविक विविधता हटस्पट छन् । त्यसबाट पनि यस क्षेत्रको हरियाली र जलवायु परिवर्तन संवेदनशीलताको महत्त्व झल्किन्छ ।’

उक्त अनुसन्धान टोली भारतका सबै क्षेत्रको वर्षात्को ढाँचामा आइरहेको परिवर्तन अध्ययनमा जुटेको छ । ‘हामीले पूर्वोत्तरका वनस्पति र वन क्षेत्र, जैविक विविधतायुक्त क्षेत्र, पहाड र उपत्यकाहरू संरक्षण गर्नुपर्छ । साथै, जल व्यवस्थापनका दीर्घकालीन ठोस रणनीति आवश्यक देखिएको छ । र, जमिनमाथिको जलस्रोत र भूमिगत पानी व्यवस्थापनका लागि पनि ठोस रणनीति आवश्यक देखिएको छ,’ कुट्टिपुरात भन्छन् ।

- द हिन्दुबाट

प्रकाशित मिति: ०७:२९ बजे, मंगलबार, फागुन ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्