Kathmandu Press

‘सगरमाथा चढ्न मुद्दा जितेँ, अहिले सहयोग जुटाउँदै छु’

अमिटले अमेरिकन नागरिक क्लेफसँग गफैगफमा सोधे, ‘मैले सगरमाथा चढ्न सक्छु ?’ क्लेफले अमेरिकन दृष्टिविहीन एरिक वेहेनमेयरले सन् २००१ मा सगरमाथा चढिसकेको बताए । ‘तिमी नेपाली भएर नसक्ने कुरै छैन’ भनेर उत्प्रेरित पनि गरे । अमिट भन्छन्, ‘त्यही दिनदेखि मैले सगरमाथा चढ्ने सपना देखेको हुँ।’
‘सगरमाथा चढ्न मुद्दा जितेँ, अहिले सहयोग जुटाउँदै छु’
Hardik ivfHardik ivf

काठमाडाैं, फागुन ३ : दृष्टिविहीन अमिट केसी यसपालि सगरमाथा चढ्ने तयारीमा छन् । उनले केही दिनअघि रिपोर्टर्स क्लबमा आफू यही वर्षको चैत २८ गते सगरमाथा आरोहण गर्न लागेको सुनाए । आफू आर्थिक अभावमा भएकाले सहयोग गरिदिन पनि उनको आग्रह थियो । उनी सगरमाथा चढ्न किन चाहन्छन् ? यसका लागि उनको तयारी कस्तो छ ? सगरमाथा आरोहणलाई उनले जीवनकै उद्देश्य किन र कसरी बनाए ? यसबारे कुरा गर्न उनले हामीलाई गत साता समय दिएका थिए। 

हामीलाई भेट्दा उनको हातमा सानो प्रतिलिपि फाइल थियो, जुन फाइल उनले सगरमाथा आरोहण गर्ने सम्बन्धमा तयार भएका कागजातको रहेछ । उनले त्यो फाइल हामीलाई नै दिन ल्याएका रहेछन्, लेख्न सजिलो होस् भनेर। 
फाइलको पहिलो पानाका रूपमा ‘बाग्लुङ पर्यटन विकास समिति’को सिफारिस पत्र थियो– 
मिति : १५ मंसिर २०७७ । 
विषय : विषय आर्थिक सहयोग गरिदिनेबारे । 
पत्रको व्यहोरामा उनले हिमाल आरोहण गरेकोबारे उल्लेख थियो । 

अमिटले ८ वैशाख ०७२ मा ६,१८६ मिटर उचाइको सोलुखम्बुस्थित आइसल्यान्ड पिक, त्यही वर्ष चैतमा ६,६५४ मिटर उचाइको मेरा–पिकको आरोहण गरिसकेका छन्।  
२०७३ मा लायन्स क्लब अफ इन्टरनेसनल स्थापनाको एक सय वर्ष पुगेको अवसरमा नेपाल र क्लबको झन्डा लिएर उनी सगरमाथा आरोहणमा निस्किए । ८००० मिटर उचाइ (साउथ पोल)सम्म पुगेपछि उनले फर्कनुपर्यो, आफूले बोकेर गएको अक्सिजन सकिएर। 

मौसममा आएको खराबीका कारण साउथ पोलमा उनले ३६ घन्टा बिताउनुपर्यो, लामो समय बस्नुपर्दा उनले लगेको अक्सिजन सकियो। सपनाको शिखर नजिक पुगेर पनि उनी फर्के, अर्थात् उनका लागि ‘बाह्र हात उफ्रेर बित्तामा हार्नु’जस्तै भयो। 

अमिट भन्छन्, ‘अन्तिम शिविरमा महँगो शुल्कमा अक्सिजन सिलिन्डर किन्न पाइन्थ्यो, पैसा नहुँदा किन्न सकिनँ र फर्कनुपर्‍याे । त्यहाँदेखि ८–१० घन्टामा सगरमाथाको चुचुरोमा पुगिन्थ्यो । आफ्नो सपनालाई त्यहीँ छाडेर म फर्किएँ।’ 

अब उनले ८००० मिटर उचाइमा छाडेर आएको सपनालाई चुचुरोमा पुर्‍याउनु छ। 

अमिट भन्छन्, ‘हाम्रा दुई छोराछोरी छन् । म सगरमाथा आरोहण गर्छु भन्दा के हुने हो भनेर श्रीमती निकै डराएकी छन्।’ 

०७४ मा सरकारले कानुन संशोधन गरेर अपांगता भएका व्यक्तिलाई हिमाल आरोहणमा रोक लगायो । उनको सपनामा कानुन बाधक बन्यो । त्यसपछि उनले अदालतमा रिट निवेदन दायर गरे । उनको मुद्दामा कानुन व्यवसायी तथा अधिवक्ता अनन्तराज लुइँटेलले निःशुल्क सहयोग गरे । अमिट हँसिलो अनुहारमा बोल्छन्, ‘दुई वर्षमा मुद्दा जितेँ । अपांगता भएको व्यक्ति पर्वतारोहण गर्न मिल्ने व्यवस्था भयो।’

अधिवक्ता अनन्तराज लुइँटेलका अनुसार एउटा खुट्टा नभएको, आँखा देख्न नसक्ने व्यक्तिलाई जोखिम बढी हुने भन्दै प्रतिबन्ध लगाइएको थियो । उनी भन्छन्, ‘अमिटले अपांगता भएको व्यक्तिलाई समान हक नदिएको भन्दै मुद्दा हाले।’ 

अमिट मुद्दा जितेर गत वर्ष पुनः सगरमाथा चढ्ने तयारीमा थिए, उनको सपनालाई कोभिडले बिथोल्यो । यसपालि उनी सगरमाथाको सर्वोच्च शिखर चुम्ने सपनासहित तयारीमा छन्। 

सपनाको वीजारोपण 

२०४५ मा जन्मिएका अमिट जन्मजात दृष्टिविहीन हुन् कि पछि कुनै दुर्घटनाबाट हुन पुगे ? यसमा उनको जवाफ केही भाग्यवादी र भावुक प्रकृतिको छ, ‘भगवानले मलाई हेला गरे । म भगवानको नजरमा परिनँ । यो उज्यालो संसारलाई हेर्न पाइनँ।’ 

दृष्टिविहीन व्यक्तिलाई परिवार, समाज र आफन्तले महत्त्व नदिने, मानवीय व्यवहार समेत नगर्ने उनी गुनासो गर्छन् । उनी भन्छन्, ‘त्यो सब नकारात्मक पाटोलाई चिरेर अगाडि बढ्ने साहसले नै मलाई सधैँ जीवित राख्यो।’

उनी सानैदेखि अगाडि बढ्न चाहिरहन्थे । स्थानीय जनता माविबाट एसएलसी गरेका उनले स्नातकसम्म अध्ययन गरे, नेपाली र इतिहास विषयमा । स्नातकपछि उनले र गृहजिल्लाको रामरेखा प्राइमरी विद्यालयमा शिक्षकको जागिर पाए। 

शिक्षण पेसामा आबद्ध भइरहँदा उनका साथी खोमराज शर्माको फोन आयो, आजभन्दा आठ वर्षअगाडि । खोमराजले उनलाई ‘दृष्टिविहीनका लागि अमेरिकन नागरिक क्लेफले तालिम दिने योजना छ, सहभागी हुन्छौ’ भनी सोधे। 

यसरी उनले पोखरा आएर रक क्लाइम्बिङ लगायत अन्य जोखिमपूर्ण तालिम दिने अवसर पाए । त्यतिबेला उनीसँगै ४०–४५ दृष्टिविहीनले तालिम लिएका थिए। 

यही क्रममा उनले अमेरिकन नागरिक क्लेफसँग गफैगफमा सोधे, ‘मैले सगरमाथा चढ्न सक्छु ?’ क्लेफले अमेरिकन दृष्टिविहीन एरिक वेहेनमेयरले सन् २००१ मे २५ मा सगरमाथा चढेर गएको बताए । तिमी नेपाली भएर नसक्ने कुरै छैन भनेर क्लेफले उनलाई उत्प्रेरित पनि गरे । उनी भन्छन्, ‘त्यही दिनदेखि मैले सगरमाथा चढ्ने सपना देखेको हुँ।’

अझ अमेरिकी दृष्टिविहीन नागरिकले सगरमाथा चढेर गइसकेको कुराले उनलाई ऊर्जा पनि मिल्यो, मन पनि पोल्यो, किनभने उनलाई लाग्यो– आफूभन्दा अगाडि विदेशीले सगरमाथा चढिसकेछ। 

अमिटले अमेरिकन नागरिक क्लेफसँग गफैगफमा सोधे, ‘मैले सगरमाथा चढ्न सक्छु ?’ क्लेफले अमेरिकन दृष्टिविहीन एरिक वेहेनमेयरले सन् २००१ मा सगरमाथा चढिसकेको बताए । ‘तिमी नेपाली भएर नसक्ने कुरै छैन’ भनेर उत्प्रेरित पनि गरे । 

अमेरिकी नागरिक एरिकले सगरमाथा चढ्ने पहिलो दृष्टिविहीनका रुपमा रेकर्ड राखे । अमिटले सगरमाथा चढ्ने विश्वको दोस्रो र नेपालको पहिलो दृष्टिविहीन नागरिक बनेर रेकर्ड राख्ने सपना पालेका छन्।

त्यसपछि उनी शिक्षकको जागिर छाडेर सगरमाथा आरोहणको यात्रामा निस्किएका हुन् । सुरुमा उनले मनाङ, मुस्ताङतिर हिँड्न थाले, चिसो र पहाडमा हिँड्ने बानी पार्न।

सगरमाथा आरोहणका लागि मोटै रकम खर्च हुन्छ । त्यसका लागि उनले विभिन्न संघ–संस्था धाए । पछिल्लो समय भने आफूलाई ‘बन्दी सहायता नेपाल’ले आर्थिक सहयोग संकलनमा सहयोग गरिरहेको अमिट बताउँछन् । उनी भन्छन्, ‘विभिन्न कार्यालयमा गएर सहयोग अपिल गर्दा बन्दी सहायता नेपाल संस्थाले सहयोग गर्छु भनेको छ।’ 

बन्दी सहायता नेपालकी सञ्चालिका इन्दिरा राना मगर दृष्टविहीन अमिटमा सगरमाथा आरोहण गर्ने दृढ संकल्प र प्रयास देखेरै आफूले सहयोग गर्न लागेको बताउँछिन् । उनी भन्छिन्, ‘जो कोहीले सगरमाथा आरोहण गर्ने हिम्मत गर्दैन । उनको प्रयास र हिम्मत देखेर सहयोग गर्ने मन भयो।’ 

बन्दी सहायता नेपालले आमाबुवा जेलमा रहेका बालबालिका तथा आमाबुबाको अभिभावकत्व पाउन नसकेका बालबालिकालाई संरक्षण गर्छ । इन्दिरा भन्छिन्, ‘देशभर १७ वटा बालगृह बनाएर दुई सय बालबालिका र आफन्तकहाँ बसेका तीन सय बालबालिकालाई हामीले सहयोग गर्दै आइरहेका छौँ।’ 

आफ्नो सम्पर्कमा भएका व्यक्ति, संघ–संस्था तथा साथीहरूसँग सहयोगको अपिल गरिरहेको उनले बताइन् । उनले भनिन्, ‘सहयोग मागेरै अमिटलाई सहयोग गर्ने योजना बनाएकी छु।’

अमिटका अनुसार, हालसम्म सनराइज बैंकबाट दुई लाख रुपैयाँ र जैमिनी नगरपालिकाबाट पनि दुई लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। 

अमिटको पारिवारिक अवस्था सामान्य छ । स्नातक अध्ययन गरिरहँदा २०६३ सालमा उनले प्रेम विवाह गरे– पर्वत, शंकर पोखरीकी विद्या केसीसँग। 

विद्या बाग्लुङ बसेर पढ्ने क्रममा उनीहरुको प्रेम बसेको थियो । आफू दृष्टिविहीन भएका कारण विद्याको परिवारले लामो समयसम्म स्वीकार नगरेको दुखेसो पनि गर्छन्, अमिट । अहिले विद्याले बाग्लुङ बजारमा कस्मेटिक पसल सञ्चालन गरेर बसेकी छन् । अमिट भन्छन्, ‘हाम्रा दुई छोराछोरी छन् । म सगरमाथा आरोहण गर्छु भन्दा के हुने हो भनेर श्रीमती निकै डराएकी छन्।’ 

प्रकाशित मिति: १६:५६ बजे, सोमबार, फागुन ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्