Kathmandu Press

नेपालमा पर्यटनको जग बसाएका बोरिस लिसानेभिच र उनको विरासत

रुसी होटेल व्यवसायी बोरिस लिसानेभिचलाई नेपालको पर्यटन व्यवसायका जनक पनि भन्ने गरिन्छ । उनैले पहिलोपटक नेपालमा पर्यटक भित्र्याएका थिए । काठमाडौंमा पहिलो होटेल...
नेपालमा पर्यटनको जग बसाएका बोरिस लिसानेभिच र उनको विरासत

रुसी होटेल व्यवसायी बोरिस लिसानेभिचलाई नेपालको पर्यटन व्यवसायका जनक पनि भन्ने गरिन्छ । उनैले पहिलोपटक नेपालमा पर्यटक भित्र्याएका थिए । काठमाडौंमा पहिलो होटेल खोलेर युक्रेनमा लोकप्रिय बोस्र्ट सुपलाई मेनुमा राख्ने उनै थिए ।

पानीजहाजमा बम्बई आइपुगेका पर्यटकको भिसा व्यवस्थापन गरी बोरिसले सन् १९५५ मा हवाई जहाजमार्फत पहिलोपटक काठमाडौं ल्याएका थिए । त्यसबखत विमानस्थलमा चरिरहेका घरपालुवा जनावर धपाएर जहाज उडान र अवतरण हुन्थे । तेस्रो मुलुकका पर्यटक त्यति मिहिनेतसाथ भित्र्याउनु त्यतिबेला अनौठो थियो ।

नेपालमा पर्यटन उद्योगलाई जन्म दिने बोरिसको जन्म भने रुसमा भएको हो । उनी सन् १९१७ को रुसी क्रान्तिपछि चीनतर्फ भागेका थिए । सन् १९५० पछि मात्र नेपालसँग आकर्षित भए । काठमाडौं आएपछि उनी पर्यटन विकासमै लागिपरे । मध्ययुगदेखि नै नेपालको विकास संकुचित थियो । पर्यटन क्षेत्रमार्फत यहाँको विकासलाई मार्गदर्शन गरे ।

उनी सफल व्यवसायीभन्दा ज्यादा उत्साहित उद्यमी मानिन्छन् । सन् १९८५ मा ८० वर्षको उमेरमा उनको निधन भयो । तर, पुराना मित्र, सहकर्मी तथा नेपाली र प्रवासी सबैको मिठो सम्झनामा जीवित छन्, उनी ।

‘बोरिसले नेपालमा पहिलोपटक स्तरीय होटेल खोली पहिलो ब्याचका पर्यटक भित्र्याएर नेपाललाई गुन लगाएका थिए,’ नेपाल पर्यटन बोर्डकी मार्केटिङ निर्देशक नन्दिनी लाहे थापा भन्छिन् । उनले सुरु गरेको नेपाली पर्यटन उद्योग अहिले कोभिड–१९ महामारीका कारण जटिल अवस्थामा छ ।

बोरिसको जीवनबारे स्विस एथ्नोग्राफर मिसेल पिसलले १९६६ मा पुस्तक प्रकाशित गरेका थिए, ‘टाइगर फर ब्रेकफास्ट’ । पुस्तकमा उनका बारेमा सच्चरित्र वर्णन गरिएको छ । पुस्तकमा बोरिस कसरी सन् १९२४ मा युक्रेनी सहर ओडेसाबाट पेरिस अनि पत्नी किराका साथ चीनको सांघाई पुगे भन्ने विस्तृत वर्णन छ । सांघाईमा ‘बर्लेक्स’ डान्स सो ‘द गे १९००’ मञ्चन गरे ।

एसियामा उपलब्ध प्रशस्त अवसरमा मोहित बन्दै उनी भारतको कोलकाता आए । र, कोलकातामा ‘३०० क्लब’ खोले । सोही क्लबमा उनको धनाढ्य व्यक्तिहरूसँग उठबस बाक्लियो । र, सोही क्रममा नेपालका राजा त्रिभुवनसँग जम्काभेट भयो । त्रिभुवनले उनलाई मित्र बनाएर काठमाडौं बोलाए । निकै सम्पन्न रुसी प्रवासी बोरिस र उनकी दोस्री पत्नी इंगर दुवैले शाही परिवारका एक सदस्यसँग मिलेर सन् १९५१ मा पुरानो दरबारमा ‘रोयल होटेल’ खोल्ने सम्झौता गरे । ‘रोयल होटेल’ छिट्टै काठमाडौंको शान मात्र बनेन, सामाजिक केन्द्रका रूपमा पनि स्थापित भयो ।

त्यस होटेलमा प्रारम्भिक पाहुना भइजाने बोनी एलिसन त्यसबखत केवल नौ वर्षकी थिइन् । एक विदेशी सहायताको परियोजनामा कार्यरत बोनीका कृषि इन्जिनियर बाबुको पोस्टिङ काठमाडौंमा थियो । बोनी अहिले काठमाडौंमा जोखिममा परेका बालबालिकाका लागि आश्रय गृह सञ्चालन गर्छिन् ।

उनी त्यसबखत बोरिसका बच्चाहरूसँग खेलेको, माछा मार्न गएको, तिब्बती खच्चरमा चढेको सम्झिन्छिन् । ‘मेरो बुवा राति सधैँ होटेलको बारमा भेला भएकाहरूसँग सीआईए, केजीबी र एमआई–सिक्सजस्ता गुप्तचर संस्थाबारे गफगाफ गर्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘शीतयुद्ध उचाइमा रहेको त्यो समय विदेशी जासुसी संस्थाका लागि हिमाली क्षेत्र उच्च चासोमा थियो ।’

काठमाडौंमा बसिरहेको प्रवासी समुदायकी एक सदस्य हुन्, ९१ वर्षीय लोट्टी वेस । उनी  स्विस वास्तुकार पति रोबर्टसँग सन् १९५६ मा काठमाडौं आएकी हुन् । र, उनीहरू होटेल रोयलमै बसेका थिए । ‘बोरिस केवल होटेलका व्यवसायी मात्र थिएनन्, एक असल मित्र पनि थिए,’ उनी भन्छिन्, ‘उनकी पत्नी इंगर मेरी बेस्ट साथी बनिन् ।’

वेसका अनुसार सन् १९६१ मा बेलायतकी महारानी एलिजाबेथ र राजकुमार फिलिप भ्रमणमा काठमाडौं आउँदा दिइएको राजकीय भोजको व्यवस्थापन बोरिसले नै गरेका थिए । इंग्रिड बर्गम्यानजस्ता फिल्मी कलाकार नेपाल घुम्न आउँदा पनि उनकै होटेल बस्थे ।

बोरिसको मिजासिलोपनसँग छिट्टै आकर्षित हुने अर्का पाहुना थिए, सुसन हेगन पनि एक हुन् । उनी सन् १९६८ मा काठमाडौं आएकी उनले चौथो दिन बोरिससँग ककटेल पार्टीमा भेटेकी थिइन् । उनी ब्रिटिस काउन्सिलमा स्वयंसेवी शिक्षक थिइन् । ‘उनका छोरा मिसासँग बढेको प्रेमका कारण अर्को वसन्तमा हामीले विवाह ग¥यौँ,’ उनी भन्छिन् ।

होटेल व्यवसायबाहेक बोरिसले नेपाली रक्सीको विकल्पमा आफ्नै डिस्टिलरी पनि खोलेका थिए । उनले उत्तरी इङ्ल्यान्डको योर्कसायरबाट ल्याएका सुँगुर हेर्न मानिसको भीड लाग्थ्यो । किनकि, ती नेपालमा पाइने सुँगुरभन्दा धेरै ठूला हुन्थे ।

बोरिस उपल्लो दर्जाका मानिसलाई सेवा दिँदा निकै उदात्तभाव प्रस्तुत गर्थे । यो उनको एक खुबी थियो । काठमाडौंका प्रख्यात लेखक सागरसमशेर राणाका अनुसार युक्रेनी चुकन्दरबाट बनेको बोस्र्ट सुप उनको मुख्य परिकार थियो । ‘उनी एक कचौरा सुपलाई १० रुपैयाँमा बिक्री गर्थे तर कुनै गरिब व्यक्तिलाई उनी रोटी र सुप भरपेट थपीथपी ख्वाउँथे,’ राणा भन्छन् ।

बोरिस दिमाग नभई हृदयबाट शासित व्यक्ति थिए । व्यापार रणनीतिका रूपमा उनीसँग कुनै ठोस आधार थिएन । तर, उनीसँग मित्र र प्रशंसकहरूको विशाल दायरा थियो । सन् १९६९ मा बोरिसले रोयल होटेल बन्द गरी याक एन्ड यतीलगायत केही रेस्टुराँ खोले । लाल दरबारमा खोलिएको याक एन्ड यती रेस्टुराँमा उनले रुसी परिकार ‘स्ट्रोग्यानोफ’ र कबाबजस्तै ‘सास्लिक’ पस्किन थाले ।

बोरिस नियमित रूपमा हङकङ भ्रमण गर्थे। तर, जुन १९७० मा उनी १० सातासम्म काठमाडौंमा जेल चलान भए । उनीमाथि पुरातन वस्तुहरू गैरकानूनी रूपमा संकलन गरी राखेको झुटो आरोप लागेको थियो । उनले नेपालको पर्यटन उद्योगका लागि आफ्ना दृष्टिकोणहरू राख्दै साउथ चाइना मर्निङ पोस्टका संवाददातासँगको कुराकानीमा केही सुझाव दिएका थिए । सहरका केही ठाउँलाई राष्ट्रिय स्मारक घोषणा गर्नुपर्ने र नयाँ भवन बनाउँदा वरपर क्षेत्रकै शैलीमा निर्माण गरिनुपर्ने उनको सुझाव थियो ।

आफ्नो स्वास्थ्य र आर्थिक जटिलताबीच जीवनको अन्तिम क्षणमा बोरिस लाल दरबार र याक एन्ड यती रेस्टुराँलाई समाहित गरी होटेल याक एन्ड यती स्थापना गर्न चाहन्थे । तर, उनी व्यापारिक साझेदारहरूबाट बाहिरिन पुगे। होटेल याक एन्ड यतीमा आफ्नो परिवार र साथीहरूका लागि उनी व्यवस्थापकीय पदहरू सुरक्षित राख्न चाहन्थे। तर, साझेदारहरू अव्यावसायिक र अप्रशिक्षित भएका कारण बोरिसले बदल्न चाहेको काठमाडौंका कलाकर्मी तथा सेवानिवृत्त टुर अपरेटर ब्रायन ह्वाइट सिंह बताउँछन् । उनका अनुसार साझेदारहरूबाट बाहिरिएपछि बोरिसले बत्तीसपुतलीमा ‘थर्टी टु बटरफ्लाइज’ नामक रेस्टुराँ खोले । त्यसमा असफलता बेहोरेपछि बोरिसले आफ्नो कारोबारलाई सधैँका लागि विश्राम दिए ।

बोरिसले ३५ वर्षअघि अन्तिम सास फेरे । उनको पार्थिव शरीर लाजिम्पाट क्षेत्रमा बेलायती दूतावासनजिक समाधिस्थ गरियो । तर, उनको विरासत अहिलेसम्म पनि उत्तिकै मजबुत छ । होटेल याक एन्ड यती अहिले काठमाडौंको प्रमुख ‘सम्पदा होटेल’ हो । र, यसको अन्तराष्ट्रियस्तरको रेस्टुराँ ‘चिम्नी’ले बोस्र्ट सुपका नाम दिएको छ, बोरिस सुप ।

सन् १९६२ मा केवल ६ हजार पर्यटक नेपाल आउँथे । सन् २०१९ मा १२ लाख पर्यटकले नेपाल भ्रमण गरे । ‘बोरिस हाम्रो मन मस्तिष्कमा अझै ताजा छन् । सन् १९५० मा नेपालका लागि पर्यटनको ढोका खोलेका उनले नेपाली पर्यटनको जग बसालेका हुन्,’ पर्यटन बोर्डकी मार्केटिङ निर्देशक नन्दिनी लाहे थापा भन्छिन्, ‘उनी नेपाली पर्यटन उद्योगका लागि प्रेरणा हुन् र यस कठिन समयमा उनलाई अझै बढी सम्झिरहेका छौँ ।’

साउथ चाइना मर्निङ पोस्टबाट 

प्रकाशित मिति: ०७:३६ बजे, बिहीबार, माघ १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्