Kathmandu Press

नृपध्वजसहित उच्चमा तीन मुख्य न्यायाधीश सिफारिस, मुख्य रजिस्ट्रार पद रिक्त

उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेल, उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षित र सर्वोच्च अदालतका मूख्य रजिस्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिसको निर्णय भएको हो । 
नृपध्वजसहित उच्चमा तीन मुख्य न्यायाधीश सिफारिस, मुख्य रजिस्ट्रार पद रिक्त
Hardik ivfHardik ivf

काठमाडौं, माघ १३ : न्यायपरिषद्को आइतबार साँझ बसेको बैठकले उच्च अदालतका लागि तीन जना मुख्य न्यायाधीश सिफारिसको निर्णय गरेको छ । 

परिषद् उच्च स्रोतका अनुसार उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेल, उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षित र सर्वोच्च अदालतका मूख्य रजिस्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिसको निर्णय भएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा आइतबार साँझ परिषद् बैठक बसेको थियो । परिषद्ले गजुरेल र दीक्षितलाई कार्यरत उच्च अदालत र निरौलालाई उच्च अदालत दिपायलका लागि सिफारिस गरेको छ । 

लामो समयदेखि उच्चमा तीन मुख्य न्यायाधीश पद रिक्त थियो । गजुरेल र दीक्षित न्यायाधीशबाटै मुख्य भएका हुन् भने निरौला प्रशासनिक तबरबाट मुख्य न्यायाधीश बन्ने पहिलो व्यक्ति बनेका छन् । स्रोतका अनुसार प्रधानन्यायाधीश राणाकै प्रस्तावमा निरौलाको सिफारिस भएको थियो । गजुरेल जिल्ला न्यायाधीश हुँदै उच्चको मुख्य न्यायाधीश बनेका हुन् । दीक्षित नेपाल बार एसोसिएसनमा डेमोक्रेटिक समूहबाट पूर्वकेन्दी्रय सदस्य थिइन् । निरौला न्यायपरिषदमा रहेका बेला तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर हद तोकेर चिठी थमाएका कारण चर्चामा आएका थिए । 

उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस भएपछि सर्वोच्चमा मुख्य रजिस्ट्रार पदसमेत रिक्त भएको छ । यसैगरी राष्ट्रिय न्यायिक प्रतिष्ठानको रिक्त कार्यकारी निर्देसकमा वैद्यनाथ उपाध्यायलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । उपाध्याय सर्वोच्च अदालतका पूर्ववरिष्ठ न्यायाधीश हुन् । प्रतिष्ठानको कार्यकारी निर्देशक रहेका तपबहादुर मगर राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा सिफारिस भएपछि उक्त स्थान रिक्त थियो ।   

प्रकाशित मिति: १५:१२ बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्