८७ वर्षीया सीता अझै जागिर गर्छिन्
उनको दैनिकी र उमेर हेर्दा बेग्लै संसारको आभास हुन्छ । हरेक बिहान उनी ४ बजे उठेर तातोपानीले नुहाएर नक्सालस्थित साई केन्द्र पुग्छिन् । ७–८ बजेपछि तरकारी तथा आवश्यक सामान किन्न नक्साल वरिपरि घुम्छिन् ।काठमाडौं, माघ १२ : नक्साल नागपोखरीकी ८६ वर्षीया सीता पन्त बुधबार नक्सालस्थित आफ्नो कार्यस्थलमा थिइन् । उनी हाल शशि–शंकर निवासमा कार्यालय सहयोगीका रूपमा कार्यरत छिन् । शशि–शंकर निवास अर्थात् नेपाल कला परिषद्का महासचिव तथा राष्ट्रिय झन्डाका डिजाइनर शंकरनाथ रिमाल र शिक्षासेवी शशि रिमालको घर । शंकरनाथले घरमै आफ्नो कार्यालय चलाएका छन् । सीता शंकरनाथको परिवारसँग २०४० सालदेखि जोडिएकी हुन् ।
८० वर्ष उमेर हाराहारीका वृद्धवृद्धाको बाल्यकालको भोगाइसँगै समग्र जीवनबारे कुराकानी गर्ने ‘उहिलेको नेपाल’ शृंखलाका लागि यसपालि हामी सीता पन्तसम्म पुगेका थियौँ । काठमाडौंको नक्साल नागपोखरीमा १९९१ चैत ३ गते जन्मेकी सीतासँग थुप्रै तीतामीठा अनुभव रहेछन् ।
८ पढ्दापढ्दै विवाह
सीताका बुवा दीर्घराज जोशी नेपाल सरकारका सुब्बा थिए । पहिलो विवाहबाट सन्तान नभएपछि दीर्घराजले योगेश्वरीलक्ष्मीसँग दोस्रो विवाह गरे ।
योगेश्वरीलक्ष्मीका चार छोरा र एक छोरीमध्ये सीता कान्छी हुन् । सीता भन्छिन्, ‘छोरा धेरै छोरी एउटी मात्रै भएकाले म घरमा सबैको माया पाएर हुर्किएँ । बाल्यकालमा कुनै गुनासो गर्ने ठाउँ रहेन ।’
दाइहरू पाठशालामा पढ्न जाँदा आफू पनि जिद्दी गरेर जान थालेको उनी बताउँछिन् ।
'आफ्नै जिद्दीले ६–७ वर्ष पाठशाला पढेँ,’ सीता भन्छिन्, ‘पाँच वर्षको उमेरदेखि म पाठशाला पढ्न जान थालेकी हुँ । बुवाले पत्र पढ्न सक्ने भए हुन्छ, धेरै पढ्नुपर्दैन भन्नुहुन्थ्यो । त्यतिबेला नक्साल वरिपरि विद्यालय खुलिसकेका थिएनन् ।’
उनका अनुसार उतिबेला छोरीले घर सम्हाल्ने र छोरा भारतमा काम गर्न जाने गर्थे । लामो समयसम्म घर नफर्किने भएकाले पत्र लेखेर पठाउने चलन थियो । त्यसैले पत्र पढ्न जान्ने भए पुग्छ भन्ने उनका बुवाको भनाइ थियो ।
केटा पक्षले देउसी भैलोमा दक्षिणा मागेजस्तै छोरी माग्न जान्थे– ‘हजुरको छोरी लिन आएका छौँ, हामीलाई दिनू’ भन्दै आवाज लगाउँथे । पण्डितले विवाहको एउटा सिंगै पुस्तक पढ्थे । त्यसपछि ‘पाले पुण्य मरे पाप छोरी तपाईंकै जिम्मा’ भन्दै कन्यादान दिन्थे । यिनै विधि पूरा गरेर सीताको बिहे भयो ।
सीताको बाल्यकालमा नक्सालको नागपोखरी, ढुंगेधारा वरिपरि पातलो बस्ती थियो । ढुंगेधारामा पानी लिन मानिसहरूको आवतजावत भइरहन्थ्यो । अहिले सत्य साई केन्द्र भएको ठाउँमा पढाइन्थ्यो ।
नक्सालमा समाजसेवीका रूपमा सक्रिय रामजीप्रसाद अर्यालले मानिसलाई भेला गरेर शिक्षालाई प्राथमिकता दिनुपर्छ भनिरहन्थे । सीता भन्छिन्, ‘हाम्रो पुस्ताले पढेनन् भने देश अंग्रेजले खान्छ भनेर उहाँले सधैँ भनिरहनुहुन्थ्यो । उहाँले नै पाठशालालाई अलि व्यवस्थित गरेर २००४ सालमा नन्दी माध्यमिक विद्यालय स्थापना गर्नुभएको हो ।’
हाल रात्रिकालीन कक्षा र दिवा कक्षा पढाइ हुने नन्दी मावि सुरुमा पाठशालालाई नै पहिलो, दोस्रो, तेस्रो श्रेणी हुँदै कक्षा थपेर स्थापना गरिएको सीता बताउँछिन् ।
उहिलेको काठमाडौं १: ‘पाँच मोहोरमा एक भारी दाउरा बेच्थें’
उहिलेको काठमाडौं २ : ‘मान्छेले गाडी बोकेर ल्याएको हेर्न जान्थेँ’
उहिलेकाे नेपाल - ३ : ‘डोकोमा चढेर काठमाडौं आएको हुँ’
‘लामो समय पाठशालामा पढेको भएर म १३ वर्षको उमेरमा नन्दी माविमा ८ कक्षामा भर्ना भएँ, तर बिहे भएकाले पढाइ छुट्यो,’ सीता भन्छिन्, ‘त्यतिबेला गुरुले सुनाएको कुरा सुनेर कण्ठ पार्न सक्नुुपर्थ्याे । लेख्नका लागि सेतो नरम कपडा जस्तो कागज र कालो मसी हुन्थ्यो । अहिलेको जस्तो कपी–कलम थिएन ।’
त्यतिबेला महिनावारी हुनुअघि नै कन्यादान गरे पुण्य मिल्छ भन्ने सामाजिक मान्यता थियो । सीताको पनि महिनावारी हुनुअघि नै १२ वर्षको उमेरमा विवाह छिनिएको थियो, छिमेककै भुवन वल्लभ पन्तसँग । तर, भुवनलाई जन्डिस लागेकाले विवाह पाँच–सात महिना पछाडि धकेलियो ।
आफ्नो बुवा सुब्बा भएकाले छिमेकका गन्यमान्य टीका वल्लभ पन्तका छोरासँग आफ्नो विवाह भएको उनी बताउँछिन् ।
उतिबेला उनको समाजमा बिहेको विधि र परम्परा बेग्लै थियो । काठमाडौंमा उतिबेला माटोका घर हुन्थे । बिहे छिनिएपछि केटी (माइती)को घर हरियो वा रातो माटोले पोतिन्थ्यो । घरमा पूजा लगाइन्थ्यो । आफन्तहरू एक महिना अघिदेखि जाँतो–ढिँकी चलाउन सहयोग गर्न आउँथे । उहिलेको काठमाडौंमा गाउँले साथ र सहयोग थियो । ‘पहिला घरहरू पातला थिए, तर मानिसहरू मनका निकै नजिक हुन्थे,’ सीता भन्छिन्, ‘तर, अहिले घरहरू नजिक छन्, व्यवहार र आफ्नोपन टाढा भइसकेको छ ।’
विवाहको पहिलो दिन पण्डितले जुराएको समयमा केटा पक्षबाट माग्न आउने चलन हुन्थ्यो । अनि केटा पक्षले देउसी भैलोमा दक्षिणा मागेजस्तै छोरी माग्न जान्थे– ‘हजुरको छोरी लिन आएका छौँ, हामीलाई दिनू’ भन्दै आवाज लगाउँथे । दोस्रो दिन स्वयंवर हुन्थ्यो । पण्डितले विवाहको एउटा सिंगै पुस्तक पढ्थे । पुस्तकमा भएको कुरा सुन्दै सबै विधि पूरा गरिन्थ्यो । सीता भन्छिन्, ‘त्यसपछि पाले पुण्य मरे पाप छोरी तपाईंकै जिम्मा भन्दै कन्यादान दिन्थे ।’
उतिबेला दाइजोको चलन थियो । दाइजोमा तामाको गाग्री, तामाको खड्कुला, तामाको जग, लगायत खाना पकाउने भाँडा, सुत्नका लागि सुकुुल, ओढ्नी ओछ्याउनी लगायत धान–मकै समेत दिने चलन थियो । यिनै विधि पूरा गरेर सीताको बिहे भयो ।
श्रीमानसँग बोल्न नहुने
सीताको जमानामा विवाह भएको एक दुई वर्षसम्म बुहारी सानै भएकाले श्रीमानसँग सुत्न दिइँदैनथ्यो । घरका महिलाहरू (सासु, नन्द, अमाजू जो छन्)ले नयाँ बुहारीलाई आफूसँग सुताउँथे । सीता भन्छिन्, ‘बिहेको तीन वर्ष जति म पनि श्रीमानसँग सुतिनँ । श्रीमान्सँग सुते पनि दिउँसो बोल्नुहुन्न भन्थे । अरुको अगाडि श्रीमान्सँग बोलिँदैनथ्यो ।’
बोल्नै नहुने भन्ने कडा नियम त थिएन होला ? सीता थप्छिन्, ‘त्यस्तो त होइन, तर बोल्नु हुँदैन भनेकाले बोलिँदैनथ्यो । घरको कसैले बोलाएदेखि हजुर भनेर बोल्न हुँदैनथ्यो । बोलाएको सुनेपछि उनीहरूको अगाडि गएर उभिनुपर्थ्याे ।’
उहिलेको काठमाडौंमा गाउँले साथ र सहयोग थियो । ‘पहिला घरहरू पातला थिए, तर मानिसहरू मनका निकै नजिक हुन्थे,’ सीता भन्छिन्, ‘तर, अहिले घरहरू नजिक छन्, व्यवहार र आफ्नोपन टाढा भइसकेको छ ।’
उतिबेला छोरी मान्छेले ठूलो स्वरमा बोल्नुहुन्न भन्थे । त्यस्तै, जेठाजुलाई छुन र बोल्न नहुने मान्यता थियो । अनि, छोरी मान्छेले चप्पल पड्काउँदै हिँडेको पनि राम्रो मानिँदैनथ्यो । उनी भन्छिन्, ‘चप्पल पड्किन्छ भनेर घर–आँगनतिर म चप्पल नलगाई हिँड्थेँ ।’
भान्सामा छुट्टै नियम हुन्थ्यो । भान्सामा हुँदा चोलो लगाएर पकाउन र खान हुँदैनथ्यो । धोती–फरियाले छाती छोप्ने गरी बाँधेर बस्नुपर्थ्याे । सीता भन्छिन्, ‘गर्मी महिना त ठीकै हो, जाडो महिनामा गाह्रो हुन्थ्यो ।’
परिवारका अन्य सदस्यले खाना खाउन्जेलसम्म बुहारीहरूले उभिएर बस्नुपर्थ्याे । बुहारीहरूले अन्तिममा खाना खाने चलन थियो ।
‘पहिला महिलाहरूलाई छोरी–बुहारी हुन निकै मुस्किल थियो,’ उनी भन्छिन्, ‘निकै कडा अनुशासनमा राखिन्थ्यो ।’
बिहेको पाँच वर्षपछि पहिलो महिनावारी
२००४ माघमा सीताको बिहे भएको थियो, त्यसको पाँच वर्षपछि सीता पहिलो महिनावारी भइन् । महिनावारी भएको खबर सुनाउनेबित्तिकै उनलाई एउटा कोठामा लगेर ओढ्नीले छोपेर राखियो ।
‘पहिलोपल्ट महिनावारी हुँदा माइतीघर र दाजुभाइलाई हेर्न हुन्न भनिन्थ्यो,’ उनी भन्छिन्, ‘म ११ दिनसम्म कोठाभित्र बसेँ । बन्द कोठामा थुनिएर बस्दा चार दिनसम्म नुन खानु हुँदैनथ्यो । दही, रोटी, चिउरा खान दिन्थे । ११ दिनपछि माइतीले दिएको नयाँ लुगा लगाएर घाम हेर्ने चलन थियो ।’
पहिलो महिनावारीका बेला एक महिनासम्म मन्दिर जान नहुने, घरबाट बाहिर निस्किन नहुने र परिवारका सदस्यलाई मात्रै नभई खानेकुरा समेत छुन नहुुने चलन थियो । दोस्रो महिनावारीमा २२ दिन, त्यसपछि सात–सात दिन बारेको उनी बताउँछिन् ।
१० सन्तान जन्माउँदा
सीताले ५० वर्षको उमेरसम्म सन्तानलाई जन्म दिइन् । पहिलो सन्तानलाई घरको एउटा कोठाभित्र एक्लै बसेर जन्म दिएकी थिइन् । ‘सुत्केरी व्यथा लागेपछि एउटा कोठाभित्र गएर चुक्कुल लगाएर बस्थेँ,’ उनी भन्छिन्, ‘बच्चा जन्मिसकेपछि चुकुल खोलेर अरुलाई भित्र आउन दिन्थेँ । सुत्केरी हुँदा अरुले देखे भने लाज हुन्छ भनेर महिलाहरू त्यसै गर्थे ।’
उनले दश सन्तानलाई जन्म दिइन् । आफ्नो जीवनकालमा ६–७ पल्ट त सुँडिनीको औषधि खाएर गर्भपतन गराएको पनि उनी सुनाउँछिन् ।
‘०४२ सालमा दशौँ सन्तान जन्माउने क्रममा रगत धेरै बग्यो । सासू र आफन्त मिलेर वीर अस्पताल ल्याएर छाडे,’ सीता भन्छिन्, ‘रगत धेरै बगे पनि सामान्य अवस्थामा सुत्केरी भएँ । वीर अस्पतालका नर्स, डाक्टरहरूले धेरै बच्चा पाउनु भइसकेछ, त्यसैले कमजोर भएर रगत बगेको भनेका थिए । मलाई अस्पतालमा छाडेर गएपछि कोही आएन । भोलिपल्ट बच्चालाई बेडमै छाडेर खाना खान निस्केँ । खाना खाएपछि शरीरमा केही तागत मिल्यो । अनि, बच्चा च्याँपेर बस चढेर घर आएँ ।’
बच्चा जन्मिएपछि न्वारन नहुँदासम्म कसैलाई नछोई एउटा कोठामा बस्नुपर्थ्याे, उनले त्यसै गरिन् । अहिले उनका पाँच छोरा र दुई छोरी छन् । दुई छोरा सानैमा खसेको र एक छोरा युवक अवस्थामा आत्महत्या गरेको दुखेसो पोख्छिन् ।
हाल उनका ५ छोरामध्ये दुई व्यवसायी, दुई जागिरे र एक बेरोजगार छन् । उनका दुई छोरी विवाह नगरी बसेका छन् ।
८७ वर्षको उमेरमा जागिर
सीताका सासू–ससुराको पुर्ख्याैली सम्पत्ति प्रशस्तै थियो । उनका श्रीमानका दुई भाइ र एक दिदी थिइन् । ८–९ कक्षासम्म अध्ययन गरेका सीताका श्रीमान् सडक विभागमा कर्मचारी थिए । २०२४ सालमा सीताका ससुरा र ३० सालमा सासुको निधन भयो ।
‘सासू–ससुराको निधनपछि माइलो र कान्छो देवर मिलेर मेरो श्रीमानलाई थाहै नदिई तराईको जग्गा बेचिदिनुभएछ,’ सीता भन्छिन्, ‘त्यसपछि हाम्रो घरमा विवाद सुरु भयो । र, मेरो श्रीमानले पुर्ख्याैली सम्पत्ति लिनुभएन । श्रीमानको मात्रै कमाइले नपुग्ने भएपछि म पनि काम गर्न थालेँ ।’
सुरुमा सीताले अमला, आँप, लस्सीको अचार बनाउने काम गरिन् । २० पाथी लस्सी तथा आँप काटेको १२ रुपैयाँ आउँथ्यो ।
सीताको जमानामा विवाह भएको एक दुई वर्षसम्म बुहारी सानै भएकाले श्रीमानसँग सुत्न दिइँदैनथ्यो । घरका महिलाहरू (सासु, नन्द, अमाजू जो छन्) ले नयाँ बुहारीलाई आफूसँग सुताउँथे । सीता भन्छिन्, ‘बिहेको तीन वर्ष जति म पनि श्रीमानसँग सुतिनँ । श्रीमान्सँग सुते पनि दिउँसो बोल्नुहुन्न भन्थे । अरुको अगाडि श्रीमान्सँग बोलिँदैनथ्यो ।’
पछि उनले नक्सालकै दूध डेरीमा ७–८ वर्ष काम गरिन् । ०४० सालतिर पुनः काम खोज्ने सिलसिलामा शंकरनाथ रिमालको बागबजारस्थित होटलमा पुगिन् । उनलाई शंकरनाथले जागिर दिए, होटलको स्टोर इन्चाजका रूपमा ।
उनी काम गर्दै थिइन्, १० वर्षपछि (०५० सालतिर) रिमाल परिवारले होटल बेच्यो । त्यही बेला सीताको श्रीमानको मृत्यु भयो । होटल बेचेपछि शंकरनाथले आफ्नो निवासमै कार्यालय खोलेका थिए । सोही कार्यालयमा सहयोगीको रूपमा सीताले काम गर्न थालिन् । जतिबेला उनको मासिक तलब चार हजार रुपैयाँ थियो । उनी पछिल्लो २७ वर्षदेखि शशि–शंकर निवासमा काम गरिरहेकी छन् । अहिले उनको तलब दोब्बर वृद्धि भएर आठ हजार रुपैयाँ पुगेको छ ।
उनको काम फोन उठाउने, कार्यकक्ष सफा गर्ने, खाजाहरू ल्याइदिने हो । उनी १२–१ बजेतिर आफ्नो काममा गएर साँझ ५ बजेतिर घर फर्किन्छन् । हाल कोभिड–१९ का कारण कार्यालय बन्द भएकाले घरायसी काममा समेत सहयोग गर्दै आएकी छन् ।
अहिले उनी अविवाहित दुई छोरी र कान्छो छोरासँग बस्छिन् । उनको दैनिकी र उमेर हेर्दा बेग्लै संसारको आभास हुन्छ । हरेक बिहान उनी ४ बजे उठेर तातोपानीले नुहाएर नक्सालस्थित साई केन्द्र पुग्छिन् । ७–८ बजेपछि तरकारी तथा आवश्यक सामान किन्न नक्साल वरिपरि घुम्छिन् । बिहानको खाना छोरीले पकाउँछिन्, बेलुकाको उनले ।
पछिल्ला ३० वर्ष काम गरेर सात लाख रुपैयाँ जम्मा गरेको उनी सुनाउँछिन् । एक दशकअगाडि उनका छोराहरूले काकाहरूसँग मुद्दा लडेर केही जग्गा फिर्ता गरेका छन् । त्यसैले अहिले उनको परिवारलाई त्यति दुःख छैन ।
‘तर, पहिलादेखि काम गर्ने बानी परेकाले काम नगरी बस्न मनले मान्दैन र काम गरिरहेकी छु,’ उनी भन्छिन्, ‘छोराछोरीले काम गर्न नजानु भन्छन् तर आफूलाई काम नगरी बस्नै मन लाग्दैन ।’
यी पढ्नुहोस् :
‘राजा त्रिभुवनका लागि राणाशासकले दुई सय जति केटी राखिदिएका थिए’
‘उतिबेला प्रेम–विवाह गरी भागेको उजुरी धेरै आउँथ्यो’
उहिलेकाे नेपाल ७ : आँखा अगाडि झुन्डिएको शुक्रराज शास्त्रीको शव...
‘स्कुलबाट साँझ घर फर्कंदा बिहे छिनिएको थाहा पाएँ’