प्रतिनिधिसभा विघटनका मुद्दा 'हेर्दाहेर्दैमा’ आइतबार
काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा भएको छैटौँ दिन सुनुवाइ हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा आइतबार लागि तय भएको छ ।...काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा भएको छैटौँ दिन सुनुवाइ हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा आइतबार लागि तय भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस गरिएको छैटौँ दिन आज १० जना कानुन व्यवसायीले बहस गरे ।
रिट निवेदक ज्ञानेन्द्रराज आरणतर्फबाट अधिवक्ता वरिष्ठ अधिवक्ता नरहरि आचार्य, शैलेन्द्र दाहाल र अधिवक्ता कोकिलप्रसाद अधिकारी, जनकसिंह साउद, सुचोचना धिताल, राजुप्रसाद चापागाईंले बहस गरे । त्यस्तै रिट निवेदक अधिवक्ता शालिकराम सापकोटाका तर्फबाट उमेशप्रसाद साह, गुणराज घिमिरे र ताराप्रसाद तिमिल्सिनाले बहस गर्दै संसद् विघटन गर्ने व्यवस्था संविधानमा नभएको तर्क राखे ।
आजसम्म रिट निवेदकका तर्फबाट ३५ कानुन व्यवसायीले बहस गरे । इजलासले समयमा निकै कडाइ गरेको छ । आज वरिष्ठ अधिवक्तालाई आधा घण्टा र अधिवक्तालाई १५ वा १० मिनेटको समय निर्धारण गरिएको थियो । गत पुस ११ गतेदेखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।